July 5th, 2018

बैंकिङ क्षेत्र तत्काल ‘बिग मर्जर’मा नजाने

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा बिग मर्जरको विषय तत्काल नआउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले नै बिग मर्जरमा जाने विषयमा केन्द्रीय बैंकले निर्णय नगरेको बताए । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, 'अहिले नै मेगा मर्जरको समय आइसकेको छैन ।’

दुई वर्षअघि नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सबलीकरणका लागि भन्दै पुँजीवृद्धि योजना ल्याएको थियो । उक्त योजनाअनुसार, वणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई चार गुणा पुँजी बढाउन निर्देशन दिइएको थियो । सोही योजनाका कारण अहिले ८० को हाराहारीमा रहेका विकास बैंकहरु ३५ मा झरेका छन् भने सोही हाराहारीमा रहेका वित्त कम्पनीहरु २५ कायम भएका छन् । वाणिज्य बैंक भने ३२ बाट २८ मा मात्रै झरेका छन् । विकास बैंक र वित्त कम्पनीको संख्या घटेपनि वाणिज्य बैंकहरुको संख्या सोचअनुरुप कम नभएपछि बिग मर्जरमार्फत बाध्यात्मक अवस्था नै सिर्जना गरेर संख्या घटाउने विषय उठिरहेको छ । यो विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन एवम् अनुगमन गरिरहेको भए तापनि अहिले नै बिग मर्जर गरिहाल्ने समय नभएको थापाको भनाई छ । 

वाणिज्य बैंकहरुको संख्या धेरै भएको हुँदा अस्वस्थ प्रतिष्पर्धा बढिरहेको अवस्थामा बिग मर्जरको नीति अबलम्बन गर्नु राम्रो भए तापनि अहिले यसका लागि सही समय नभएको उनले बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धिकै योजनालाई व्यवस्थित ढंगले समापन गर्नेतर्फ रहेको थापाले जानकारी दिए । ‘चुक्तापुँजी वृद्धिकै विषयलाई टुंगोमा नपुर्याएसम्म अन्य कुनै नीति अपनाएर पुनः वित्तीय क्षेत्रलाई अस्थिर बनाउने पक्षमा राष्ट्र बैंक छैन,’ उनले भने । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]