July 3rd, 2018

‘लघुवित्तको संख्या धेरै हुँदा अस्वस्थ प्रतिष्पर्धा बढ्यो’

प्रकाशराज शर्मा, उपाध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन । सामान्यतयाः माइक्रोफाइनान्सले दुई तरिकाबाट गरिबी न्युनीकरणमा सहयोग पुर्याउँछ ।
(१) रोजगारी सिर्जना : माइक्रोफाइनान्सहरुले तीव्र रुपमा शाखा विस्तार गरिरहेका छन् । त्यसमाथि माइक्रोफाइन्सहरु नै थपिँदै छन् । ती संस्था र तीनीहरुका शाखामा कर्मचारी राख्नुपर्ने हुन्छ । ठाउँठाउँमा शाखा विस्तार गर्नका लागि माइक्रोफाइनान्सहरुलाई ठूलो संख्यामा जनशक्तिको आवश्यकता पर्दछ । शाखा विस्तार भएपछि पनि त्यस शाखाबाट कारोबार सुचारु गर्नका लागि पनि जनशक्तिकै खाँचो हुन्छ । त्यसकारण माइक्रोफाइनान्सको विकास बढ्दो रुपमा हुनु नै रोजगारी सिर्जनाको एउटा दरिलो माध्यम बनेको छ ।  
(२) स्वरोजगार सिर्जना : माइक्रोफाइनान्सहरुले विभिन्न व्यवसाय गर्नका लागि कर्जा उपलब्ध गराउँदछन् । त्यो कर्जालाई व्यवसायीले उत्पादनमुलक, आयआर्जन हुने क्षेत्रमा लगानी गर्दछन् । त्यसबाट उनीहरुले मुनाफा आर्जन गर्छन् र गरीबी न्युनिकरणमा सहयोग पुग्छ । 

कतिपय गरिबी पैसाले मात्र हुँदैनन् । पैसा भनेको आर्जन गर्ने कुरा हो । आफूसँग भएको सम्पत्तिको सदुपयोग गरेर आम्दानी गर्न सकिन्छ । उदाहरणका लागि कसैसँग एउटा भैँसि छ, भैँसिले दुध दिन्छ र त्यसबाट आम्दानी भएन भने अर्को भैँसी किनेर पाल्यो भने आम्दानी हुन्छ र सम्पत्ति सृजना हुन्छ । भैँसी वा गोठ भनेका सम्पत्ति हुन्, जसलाई आम्दानीका लागि प्रयोग गर्न सकिन्छ । यस्ता खाले सोचको विकास गर्न र यस्तो सोच भएकाहरुका लागि कर्जाको रुपमा वित्तीय स्रोत उपलब्ध गराउने काममा लघुवित्तहरुको योगदान रहेको हुन्छ ।

त्यस्तै, गरीबीबाट पिडित भएका मानिसहरु जोखिमा परेका हुन्छन् । विरामी, प्राकृतिक प्रकोप जस्ता अप्रत्यासित घटनाहरु भएको अवस्थामा लघुवित्तले सहयोग गर्दछ । ती जोखिममा परेका मानिसहरुले लघुबिमा गरेका छन् भने त्यस्तो बेलामा लघुबिमाले सहयोग गर्दछ ।

लघुवित्तहरुको सबैभन्दा महत्वपुर्ण कार्य गरिबहरुमा सामाजिक पुँजी निर्माण गर्नुुुु हो । उदाहरणका लागि, म पनि केही हुँ, मैले पनि कर्जा पाउँछु, मैले पनि केही गर्छु भन्ने मानिसलाई व्यवसायको लागि प्रोत्साहन गरी व्यवसायीलाई कर्जा उपलब्ध गराएर लघुवित्तहरुले सामाजिक पुँजी निर्माण गरेको हुन्छ । यसबाहेक, महिला सशक्तिकरणमा पनि लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लघुवित्तको ग्राहक भनेको नै महिलाहरु हुन् । यसरी महिलाहरु सक्षम हुनु भनेको नै उनिहरुको जिवनस्तर माथि उठ्नु हो । 

माइक्रोफाइनान्स र सहकारी बीच फरक
सहकारी र माइक्रोफाइनान्सबारे सर्वसाधरणको बुझाई एउटै रहेको पाइन्छ । तर, वास्तवमा यी दुई विल्कुलै फरक कुरा हुन् । माइक्रोफाइनान्स नेपालको बैंक तथा वित्तीय क्षेत्रको एउटा भाग हो । माइक्रोफाइनान्सलाई नेपाल राष्ट्र बैंकले घ वर्गको इजाजत दिनुका साथै नियमन र निर्देशन पनि गर्दछ । माइक्रोफाइनान्समा सर्वसाधरण र संस्थापक गरी दुई थरीका लगानीकर्ताहरु हुन्छन् । माइक्रोफाइनान्समा सर्वसाधारणका लागि सेयर जारी गरेर पुँजी निर्माण गरिएको हुन्छ । तर, सहकारीलाई नेपाल राष्ट्र बैंकले नियमन तथा निर्देशन गर्दैन । सहकारी संस्थाहरु सहकारी ऐन अनुसार सञ्चालन हुन्छन् । सहकारीले सेयर जारी पनि गर्दैन । सहकारीको पुँजी सानो हुन्छ । कतिपय सहकारीलाई सदस्यहरुले मात्र पनि सञ्चालन गरेका हुन्छन् ।  

माइक्रोफाइनान्स : अरुभन्दा फरक
बैंकहरु स्थानीय तहमा जाँदा माइक्रोफाइनान्सको व्यवसायमा प्रभाव पर्छ कि भन्ने विषय पनि उठेको छ । तर, माइक्रोफाइनान्स, बैंक तथा सहकारीहरुको कल्चर र उद्देश्यहरु फरक फरक भएका कारण  ठूला बैंकहरुले माइक्रोफाइनान्सको व्यवसायमा असर पार्ने अवस्था नै रहँदैन । किनभने ती बैंकहरुले ठुलो कर्जा प्रवाह गर्छन् । तर माइक्रोफाइनान्सहरुले विनाधितो थोरै थोरै कर्जा पनि उपलब्ध गराउँछन् । अहिले पनि कतिपय बाणिज्य बैंकहरुले छुट्टै लघुवित्त सम्वन्धि विभिन्न विभागहरु खेलेर काम गरिरहेका छन् । तर यी संस्थाहरु सफल भएका छैनन् । बैंकहरुले उद्देश्य लिनु तथा सोच्नु एउटा पक्ष हो भने कार्यन्वयन गर्नु अर्को पक्ष हो । सामान्य अर्थमा भन्नुपर्दा, माइक्रोफाइनान्सको र बैंकहरुको कुनै प्रतिष्पर्धा हुँदैन ।
 
गाउँ गाउँमा सहकारीहरु पनि छन् । कतिपय अवस्थामा माइक्रोफाइनान्सले सहकारीहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । यद्यपि, सहकारीको सिमितता छ । सहकारीले सदस्यहरुसँग मात्र कारोबार गर्नुपर्ने हुन्छ र उनीहरुको पुँजी पनि सिमित हुन्छ । तर माइक्रोफाइनान्सको पुँजी सहकारीको तुलनामा ठुलो हुन्छ । त्यसकारण साधन र स्रोतको आधारमा पनि सहकारीले माइक्रोफाइनान्सलाई असर पार्न सक्दैन । 

जनमानसमा माइक्रोफाइनान्सको आवश्यकता
जनमानसमा माइक्रोफाइनान्सको आवश्यकता निरन्तर रहेको छ र रहि नै रहनेछ । किनभने माइक्रोफाइनान्सले गर्ने काम र अरु वित्तीय संस्थाहरुले गर्ने काम फरक फरक हुन्छ । बाणिज्य बैंकहरुको तुलनामा माइक्रोफाइनान्सको शाखाहरु केहि मात्रामा मात्र कम छन् । माघ महिनाको तथ्याङकअनुसार, माइक्रोफाइनान्सहरुको २१७५ वटा शाखाहरु रहेका छन् । बैंकहरुको विस्तार स्थानीय तहमा भएको कारण माइक्रोफाइनान्सहरुलाई बैंकिङ कारोबार गर्न झन् सहज भएको छ । बैंकहरुसँग पैसा हुनु र शाखा विस्तार गर्नु, भवन बनाउनु र कर्जा उपलब्ध गराउनु र कर्जाबाट ऋण असुल गर्नु विपन्न वर्गको लागि एउटा गाह्रो काम हो । किनकी बैंकहरुसँग त्यो अनुभव हुँदैन । माइक्रोफाइनान्सहरुले लामो समयमा जसरी काम गरेका छन् र जति यो क्षेत्रमा अनुभव हासिल गरेका छन्, त्यति अनुभव र क्षमता बैंकहरुसँग छैन । माइक्रोफाइनान्सले सानो सानो कर्जा दिन्छ भने बैंकहरुले सानो कर्जा उपलब्ध गराउँदैनन् । त्यसकारण माइक्रोफाइनान्सको ग्राहक भनेको माइक्रोफाइनान्सको नै हो । अहिले माइक्रोफाइनान्सको २६ लाख ग्राहकहरु रहेका छन् । 

लघुवित्त क्षेत्रमा प्रविधि
लघुवित्त क्षेत्र प्रविधिको हिसाबले तुलनात्मक रुपमा पछाडी नै रहेको छ । अहिले लघुवित्त क्षेत्रमा ट्याबलेट बैंकिङ, डिजिटल महिला र कार बैंकिङ सिस्टमको प्रयोग भइरहेको छ । यी प्रविधिहरुको प्रयोगबाट लघुवित्तहरुलाई काम गर्न र ग्राहकहरुलाई सेवा लिन दुवै कार्यका लागि सहज भएको छ । समग्रमा हेर्दा, माइक्रोफाइनान्समा प्रविधिको प्रयोग न्युन नै रहेको छ । यसको विकासलाई अगाडी बढाउनका लागि भरपूर प्रयास भइरहेको छ ।

रेमिट्यान्स र माइक्रोफाइनान्स
रेमिट्यान्स क्षेत्रमा माइक्रोफाइनान्सहरुको ठूलो योगदान रहेको छ । माइक्रोफाइनान्सहरु ग्रामीण भेगसम्म फैलिएर रहेका कारण पहुँच ठूलो छ । माइक्रोफाइनान्सहरुसाग सहकार्य गर्दा रेमिट्यान्स कम्पनीहरुलाई पनि आफ्नो सेवा देशको कुनाकाप्चासम्म पुर्याउन सहन भएको छ । माइक्रोफाइनान्सहरुले पेआउट एजेन्टको रुपमा रेमिट्यान्सलाई सघाइरहेका छन् ।  

माइक्रोफाइनान्स क्षेत्रका चुनौतिहरु 
माइक्राफाइनान्स क्षेत्रमा धेरै चुनौतिहरु रहेका छन् । त्यसमध्ये केहि चुनौतिहरु यसप्रकार छन् :

स्रोत : लघुवित्त क्षेत्रमा स्रोतको समस्या छ । वाणिज्य बैंक विकास र लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधारणबाट बचत जम्मा गर्छन् र त्यही बचतबाट लगानी गर्दछन् । तर, लघुवित्तले सर्वसाधारणबाट बचत गर्न पाउँदैनन् । त्यसैले, स्रोतहरु जुटाउनु नै लघुवित्तका लागि चुनौतीपूर्ण छ । 

व्याजदर : अर्को चुनौति भने व्याजदरमा पनि छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कुल कर्जाको पाँछ प्रतिशत विपन्न वर्गमा लगानी गर्ने निर्देशन दिएको छ, जुन वाणिज्य बैंकहरुले लघुवित्तको माध्यमबाट गर्छन् । अहिले लघुवित्तले नै वाणिज्य बैंकहरुबाट १३।१४ प्रतिशतमा कर्जा लिइरहेका छन् । त्यसमाथि लघुवित्तलाई १८ प्रतिशतभन्दा बढी व्याज नलिनु भन्ने निर्देशन छ । १३/१४ प्रतिशत व्याजदरमा कर्जा लिएर १८ प्रतिशतमा लगानी गर्ने र त्यसबाट आएको नाफाले सञ्चालन खर्च, व्याज खर्च लगायत सबै खर्च जुटाउनुपर्दा समस्या भएको छ । १८ प्रतिशत व्याजदरमा का मगर्न लघुवित्तहरुलाई गाह्रो भइरहेको छ । 

आधार दर : राष्ट्र बैंकबाट ल्याउने व्याजदर किन १३/१४ प्रतिशत भयो भने राष्ट्र बैंकहरुले बाणिज्य बैंकहरुलाई बेस दर भन्दा कममा लगानि गर्न नपाउने भनिएको छ । बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सहरुलाई यो बेस दर लागु भएको छ भने माइक्रोफाइनान्सहरुमा यो बेस दर लागु भएको छैन । 

आवश्यकता भन्दा बढी संख्या : लघुवित्तहरुको शाखा तथा उपशाखा मात्र नभएर संस्थाहरु नै धेरै रहेका छन् । यो संख्या अझै बढ्दैछ । धेरै संस्थाहहरुको विकासका लागि अस्वस्थ प्रतिष्पर्धा बढिरहेको छ । दोहोरो कर्जा प्रणालीको विकास भएको छ । कर्जा प्रवाह गर्ने होडमा क्षमता नभएका व्यक्तिहरुले पनि कर्जा पाइरहेका छन् भने एउटै व्यक्तिले धेरै संस्थाबाट पनि कर्जा पाइरहेको छ । यसले गर्दा ऋणको भार बढ्न गई आत्महत्याको अवस्था समेत आएको छ । यो विषय पनि अहिले लघुवित्त क्षेत्रमा एक चुनौती बनेको छ । 

समस्याको समाधान
माइक्रोफाइनान्स क्षेत्रमा रहेका विभिन्न समस्या तथा चुनौतिहरुको समाधानका लागि स्रोत व्यवस्थापनको समस्या समाधानका लागि माइक्रोफाइनान्सहरुमा पनि सर्वसाधरण बचतको व्यवस्था गर्नुपर्छ । त्यस्तै, बेस रेट लागू नगरेर कष्ट अफ फण्डको आधारमा व्याजदर निर्धारण गर्नुपर्छ । अस्वस्थ प्रतिस्पर्धा कम गर्नका लागि शाखाहरु खोल्ने नीति पनि कम गर्नु आवश्यक रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]