July 1st, 2018

दोहोरो अंकले नेप्से घट्दा १९ कम्पनीका सेयरधनीले कमाए, कारोबार २० करोड पनि पुगेन

बैंकिङ खबर । आइतबार सेयर बजार १४.०१ अंकले घटेको छ । कारोबार खुलेदेखि नै निरन्तर ओरालो झरेको नेप्से परिसूचक ११८४.५३ अंकमा कायम भएको छ । कारोबार भएका सबै उपसूचक  घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः  १२.१४, १८.६४, २०.१४, १५.७, ६.१६, ८९.०३, ६.९९, ३.४६ र २५.७४ अंकले घटेका छन् ।

दिनभरिमा १५८ वटा कम्पनीको छ  लाख १९ हजार सात सय ४१ कित्ता सेयर तीन हजार छ सय ८३ पटक खरिदविक्री हुँदा १९ करोड ७२ लाख ६२ हजार छ सय ११ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ७५ लाख र नविल बैंक प्रोमोटरको ७२ लाखमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल टेलिकमको ६० लाख तथा कुमारी बैंक र नेपाल एसबीआई बैंकको ५० लाखमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, कामना सेवा विकास बैंक लगायतको ४० लाखमाथिको सेयर कारोबार भएको छ ।

जम्मा १९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले ५.८८ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावर, नयाँ नेपाल लघुवित्त, सिन्धु विकास बैंक, स्वरोजगार लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, बैंक अफ काठमाण्डू, एनआईसी एशिया ग्रोथ फण्ड लगायतका सेयरधनीले पनि कमाएका  छन् ।

यता, तिनाउ विकास बैंक, हाथवे फाइनान्स र रैराङ  हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेशनल हाइड्रो, शिखर इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, सिभिल लघुवित्त, समता माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, सानिमा इक्विटी फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]