June 22nd, 2018

निरन्तर गिरावटमा सेयर बजार, सातामा २८.८४ अंकले घट्यो

बैंकिङ खबर । यो साता सेयर बजार २८.८४ अंकले घटेको छ । साताको सुरुवात नै दोहोरो अंकको गिरावटबाट गरेको बजारले सोमबार र विहीबार मात्रै हरियो रङ देखायो । जसअनुसार, गत साता १२४७.३० अंकमा बन्द भएको बजार यो साताको अन्तिम दिन १२१८.४६ अंकमा झर्यो । गत साता सेयर बजार ९.७७ अंकले मात्रै घटेको थियो ।

निरन्तर गिरावटका कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण पनि बढ्न सकेको छैन । आइतबार साढे २४ करोड, सोमबार १९ करोड, मंगलबार २० करोड ८४ लाख, बुधबार २७ करोड ३८ लाख र विहीबार १९ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । साताभरमा एक अर्ब ११ करोड ९२ लाख २१ हजार एक सय ९५ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । गत साता एक अर्ब ४२ करोड सात लाख ४८ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको थियो ।

नेपाल बैंक, ओम डेभलपमेन्ट बैंक, ग्रामीण विकास लघुवित्त, एनएमबि बैंक लगायतको धेरै कारोबार भएको छ । समता माइक्रोफाइनान्सका सेयरधनीले कमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]