June 22nd, 2018

वित्तीय पहुँच नहुँदा १० प्रतिशतको वरिपरी हाइटीका बैंकहरु

रुपा कोइराला/बैंकिङ खबर । हाइटीको बैंकिङ क्षेत्र व्यापारमा लगानी वृद्धि एवम् निक्षेप र रेमिट्यान्सको विस्तारका लागि शाखा विस्तारको योजनामा केन्द्रित रहेको छ । बैंकमा खाता भएका ग्राहकहरुले टेलिबैंकिङ मार्फत पनि सेवा पाइरहेका छन् । हाइटीमा सेवा विस्तारका लागि विदेशी बैंकहरुलाई स्वतन्त्र छोडिएको छ । 

कर्जा जोखिमको अवस्था
युनि बैंक, सोग बैंक र बिएनसी हाइटीका प्रमुख तीन वित्तीय संस्थाहरु हुन् । यी संस्थाहरुसँग मात्रै हाइटीको कुल बैंकिङ सम्पत्तिको ८० प्रतिशत रहेको छ । यी तीन कमर्सियल बैंकहरुले कर्जा प्रवाहको ७५ प्रतिशत हिस्सा ओगटेका छन् । जसको ७० प्रतिशत कर्जा १० प्रतिशत ऋणीहरुमा प्रवाह गरिएको छ । यसले कर्जा हाइटीमा कर्जा जोखिम एवम् पुँजी अभावको अवस्था सिर्जना गरेको छ । 

खराब कर्जा घट्दै
नियमन तथा अनुगमनको संरचना परिवर्तन गरेपछि केही वर्षयता हाइटीमा खराब कर्जाको समस्यामा भने सुधार आउन थालेको छ । केन्द्रीय बैंकले बैंकहरुको न्युनतम पुँजी, सम्पत्तिको स्तर, मुद्रा, जोखिम व्यवस्थापन लगायतलाई नियमित रुपमा अनुगमन गरिरहेका कारण खराब कर्जा न्युनिकरण सम्भव भएको  हो । 

कर्जा बजारमा विदेशीको पहुँच
हाईटीको स्थानीय कर्जा बजारमा विदेशीको पहुँचमा विषयमा कुनै नियम तथा ऐन तर्जुमा भएको छैन । बजार नियमावलीका आधारमा कमर्शियल बैंकमार्फत कर्जा लिन सकिने व्यवस्था छ । कर्जा दिनका लागि बैंकहरुले कुनै वास्तविक सम्पत्ति धितोमा राख्छन् । घरजग्गाको प्रभावकारी दर्ताको अभावका कारण कर्जा लिन चाहनेहरुले विभिन्न चुनौतीको सामना गर्नु परिरहेको छ । कर्जा अभ्यासको हकमा हाइटीको बैंकिङ क्षेत्र अलि संकुचित रहेको छ । सबैभन्दा विश्वासीलो र कर्जा दिन योग्य व्यक्तिहरुलाई मात्रै यहाँ बैंकहरुले कर्जा दिन्छन् । 

वित्तीय पहुँच
सर्वसाधारण एवम् लगानीकर्ताहरुको सहज वित्तीय पहुँचका लागि हाइटीयन सरकारको चलसम्पत्ति कानुन र बैंकिङ कानुन दुवैले चलसम्पत्तिलाई धितोको रुपमा स्वीकार गर्ने गर्छन् । जसअनुसार, कुनै पनि व्यक्तिले कार, बैंक खाता जस्ता सम्पत्तिलाई धितो राखेर अपार्टमेन्ट खरिद गर्न सक्छ । हाइटीको साना तथा मझौला व्यवसाय एवम् ग्रामीण उद्योगहरुमा बैंकिङ लगानी विस्तार गर्नका लागि युएसएआईडीले विभिन्न वित्तीय समूहहरुसँग मिलेर पोर्टफोलियो ग्यारेन्टी प्रोग्रामहरु संचालन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]