June 20th, 2018

रक्सी र सेयर बजार

रविन्द्र भट्टराई । रक्सी र सेयर बजारको सम्बन्ध निकै रोचक छ । सेयर बजार भनेको भीड हो । भीडको मनोविज्ञान हो । यसैअनुसार बजार चल्छ । यो अनुमान गर्न कठिन हुन्छ । भीडको पात्रले रक्सी पिएर देखाउने व्यवहारसँग सेयर बजारको प्रवृतिलाई तुलना गरिन्छ । रक्सीले मातेको सडकमा हिँडेको मानिसको व्यवहार र सेयर बजारका रेखाको व्यवहार उस्तै हुन्छ । मातेको मानिसले सडकको वारि पनि मेरै, पारि पनि मेरै भनेर हिँडेझैँ सेयर बजार पनि आफ्नो यात्रामा कहिल्यै सीधा बाटो हिँड्दैन । यसैले सेयर बजारलाई ‘मस्त पिएर हिँडेको मानिस जस्तै’ पनि भन्ने गरिन्छ ।

अर्कातर्फ, रक्सी पिएर बिस्तारै मात्दै जाँदा मानिसले देखाउने व्यवहार र सेयर बजार बढ्दै गएर उचाइमा पुग्दै गर्दा लगानीकर्ता देखाउने व्यवहारमा समानता पाइन्छ । मानिसलाई रक्सीले मात्दै गएपछि के बौल्दैछु र के गर्दैछु भन्नेसम्म थाहा हुँदैन । ऊ त्यसपछिको परिमाणको कल्पना गर्न सक्दैन । ऊ बिस्तारै हास गुमाउँदै जान्छ । उत्तेजित बन्दै जान्छ । यसबेला उसले अत्यन्तै जोखिमपूर्ण काम गरिरहेको हुन्छ । 

सेयर बजार उचाइमा पुग्दै गर्दा लगानीकर्ताले देखाउने व्यवहार पनि योभन्दा फरक हुँदैन । के र कस्तो कम्पनी किन्दैछु भन्ने उसलाई थाहा हुँदैन । उसलाई सेयरमात्र चाहिन्छ । त्यसको जोखिमबारे ऊ कति पनि जानकार हुँदैन । किनिसकेपछिका जोखिमबारे उसले कति पनि सोचेको हुँदैन । शरीरमा रक्सीको नसा लागेझैँ बढ्दो बजारले उसमा उन्मादको नसा चढिसकेको हुन्छ । अन्ततः ऊ उत्तेजनाको सिकार हुन पुग्छ । (भट्टराईद्धारा लिखित ‘सेयरबाट करोडपति’ पुस्तकबाट साभार)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]