May 18th, 2016

संकटमा परेको अमेरिकी रियलस्टेट बजारलाई टेको लगाउँदै चिनियाँ लगानी 

americaअमेरिकामा घर किन्नेमा गत वर्ष चिनियाँ सबैभन्दा ठूलो विदेशी खरिदकर्ता बनेका छन् । विदेशमा सुरक्षित सम्पत्तिको खोजी गर्ने क्रममा अमेरिकी रियलइस्टेटमा अर्बौं लगानी गरेपछि चिनियाँहरू अमेरिकी घर खरिदमा सबैभन्दा ठूलो विदेशी खरिदकर्ता बनेको हालैको अध्ययनले देखाएको छ । गत वर्ष ठूलो संख्याका चिनियाँले आवासीय र व्यापारिक रियलइस्टेट खरिद गरेका थिए । उनीहरूको अमेरिकी रियलइस्टेटमा गरेको पाँचवर्षे लगानी कुल १ सय १० अर्ब डलर पुगेको एसिया सोसाइटी एन्ड रोसेन कन्सल्टिङ ग्रुपले गरेको अध्ययनले देखाएको छ ।

चिनियाँ खरिदले २००६ मा धराशायी हुन थालेको र २००८ को आर्थिक संकटको प्रभाव परेको अमेरिकी रियलइस्टेट बजारलाई माथि उठाउन सहयोग गरेको समूहको दाबी छ । पुँजीको बाह्य प्रवाहमा बेइजिङको रोकका कारण आएको मन्दीका बाबजुद यो दशकको दोस्रो अर्धवार्षिक अवधिमा यो तथ्यांक २१८ अर्ब डलरको दोब्बर अवस्थामा पुग्ने अध्ययनले बताएको छ । अग्रणी कम्पनीहरू र कोषले गरेको खरिद उल्लेख नभएकाले चिनियाँले गरेको खरिद योभन्दा पनि बढी हुन सक्ने बताइएको छ ।

ठूला खरिदमा अनवाङ बिमा समूहले गत वर्ष न्युयोर्कमा २ अर्ब डलरमा गरको वालड्रफ होटललाई मानिएको छ । २०१० देखि २०१५ सम्मको अवधिमा चिनियाँ खरिदकर्ताहरूले अमेरिकी व्यापारिक रियलइस्टेटमा १७ अर्ब डलरभन्दा बढीको खरिद गरिसकेका छन् । यसको आधा गत वर्ष मात्रै खर्च गरिएको थियो । सोही अवधिमा अमेरिकी घरमा कम्तीमा पनि ९३ अर्ब डलर खर्च भएको थियो । २०१५ को मार्चसम्मको १२ महिनाको अवधिमा मात्रै २८.५ अर्ब डलरको घर खरिद भएको छ । यो परिमाणको खरिदले चिनियाँले क्यानेडियनहरूलाई उछिनेका छन् । विगतमा अमेरिकी आवासीय घर खरिदको मामिलामा क्यानेडियनहरू सबैभन्दा ठूलो विदेशी खरिदकर्ता रहँदै आएका थिए ।

भौगोलिक रूपमा चिनियाँ खरिदकर्ताहरू बढी महँगा बजारहरू न्युयोर्क, लसएन्जल्स, सन्फ्रान्सिस्को र सियाटलमा केन्द्रित भएका छन् । शिकागो, मियामी र लासभेगास पनि आकर्षणको केन्द्र बन्दै आएका छन् । चिनियाँ खरिदकर्ताहरूले अमेरिकामा घर खरिद गर्दा औसतमा प्रतिघर ८ लाख ३२ हजार डलर तिर्ने गरेका छन् । यो औसत अन्य विदेशीले गर्ने गरेको ४ लाख ९९ हजार ६०० डलरको दाँजोमा ठूलो अन्तरले बढी हो । केहीले प्रयोग भइसकेको घर खरिद गर्ने गरेका छन् भने केहीले अमेरिकामा ईबी–५ भिसामा गएलगत्तै घर खरिद गर्ने गरेका छन् । केहीले भने भाडा र पुनर्बिक्रीका लागि घर खरिद गर्ने गरेका छन् । अमेरिकी घरमा जाने धेरैजसो पैसा कर्पोरेट नभएर निजी सम्पत्ति हुने गरेको पनि अध्ययनले देखाएको छ । “चीनमा रियलइस्टेटलाई लगानी र सम्पत्ति सुरक्षित गर्ने माध्यमका रूपमा लिइन्छ र यसैका लागि उनीहरूले अमेरिकामा दोस्रो घर खरिद गर्ने गरेका छन्,” अध्ययन प्रतिवेदनमा भनिएको छ ।

युआनमा भएको अवमूल्यनका कारण गत वर्षदेखि चीनमा चीन बाहिर पैसा लाने क्रम बढेको छ । युआन अगस्टमा डलरसँगको विनिमयमा थोरै अवमूल्यन भएको थियो । चिनियाँ कम्पनीहरूले अमेरिका अझ धेरै व्यापारिक रियलइस्टेट खरिद गर्न सक्ने अध्ययनको अपेक्षा छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]