June 13th, 2018

मौद्रिक नीतिका लागि तेजेन्द्र लम्सालका चार सुझाव

तेजेन्द्र शर्मा लम्साल । आगामी मौद्रिक नीति सम्बन्धमा सुझाव माग भएकोले लघुवित्त वित्तीय संस्थाको सन्दर्र्भबाट मौद्रिक नीतिको सञ्चालन लक्ष्य तथा उपकरण अन्तर्गत देहाय बमोजिमका व्यक्तिगत सुझावहरु उल्लेख गरिएको छ ।

१. आर्थिक वर्ष २०७३।७४ देखि कार्यान्वयनमा ल्याइएको ब्याजदर करिडोर पद्धतिलाई समयसापेक्ष परिमार्जन गरी लगानीकर्तामैत्री ब्याजदर उन्मुख भई जसरी लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदरको माथिल्लो सिमा तोकिएको छ सोहि बमोजिम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विपन्न वर्ग कर्जा सहितका सबै कर्जाहरुको ब्याजदरको माथिल्लो सिमा निर्देशन मार्फत निर्धारण गर्नुपर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न आवश्यक देखिन्छ ।
कारण : राष्ट्रिय उत्पादन तथा रोजगारी बढाउनको लागि लगानीमुखी वातावरण आवश्यक भएकोले र नेपाल राष्ट्र बैंकको नजरमा लघुवित्त वित्तीय संस्था र अन्य बैंक तथा वित्तीय संस्था एउटै बनाएर त्यहाँ पनि साना र ठूलाको विभेद हटाउन उपय्क्त भएकोले ।

२. “…साथै वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको छ ।” भन्ने वाक्यांश आवश्यक नभएकोले उक्त वाक्यांश हटाउन आवश्यक देखिन्छ ।
कारण : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३।७४ मा गरेको व्यवस्था आर्थिक वर्ष २०७४।७५ मा हटाएकोले ।

३. साना तथा मझौला उद्योग र व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने रु.७ लाखसम्मको परियोजना कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
कारण : नेपाल राष्ट्र बैंकबाट घ वर्गका लघुवित्त वित्तीय संस्थाको धितो कर्जाको सिमा रु.७ लाख मात्र भएकोमा जुनसुकै बैंक तथा वित्तीय संस्थाको विपन्न वर्ग कर्जाको सिमा एउटै राख्न सान्दर्भिक देखिएकोले र लघुवित्त वित्तीय संस्थाले विपन्न वर्ग कर्जा मात्र प्रदान गर्ने भएकोले यस सन्दर्भमा नेपाल राष्ट्र बैंकको नजरमा लघुवित्त वित्तीय संस्था र अन्य बैंक तथा वित्तीय संस्था एउटै स्थानमा राख्न सान्दर्भिक देखिएकोले ।

४. क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बिनाधितो कर्जा प्रवाह गर्न नपाउने र घ वर्गका वित्तीय संस्थाले धितो कर्जा प्रवाह गर्न नपाउने गरी २ प्रकृतिको बैंकिङ व्यवस्थाको शुरुआत गर्नपर्ने देखिन्छ ।
कारण : धितो कर्जामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सक्षम छन् भने विना धितो कर्जामा घ वर्गका वित्तीय संस्था सक्षम भएकोले ।
(लेखक लम्साल नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]