Thursday , July 19 2018

वेष्ट इण्डिजबाट नेपालमा सर्वाधिक लगानी, गुणस्तरमा आशंका

June 12, 2018

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् ।

आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने शर्तमा राससलाई प्रतिक्रिया दिँदै भन्छन् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निक्र्यौल गर्न जरुरी छ ।”

सेवा क्षेत्रमा मात्र उक्त देशबाट रु ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा त्यति रकम नेपालमा लगानी भएको हो ।

‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ शीर्षकमा केन्द्रीय बैंकले पहिलोपटक गरेको सर्वेक्षणमा भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता मुलुक बनेका देखाइएको छ । सोही अवधिमा भारतबाट औद्योगिक र सेवा क्षेत्रमा रु २७ अर्ब २५ करोड ४० लाख १० हजार र चीनबाट १० अर्ब ८४ करोड ४१ लाख लगानी भएको छ ।

नेपालमा सिंगापुर, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, नर्वे, पाकिस्तान, हङ्कङ, जापान, द नेदरल्याण्डस्, ताइवान, मलेसिया, बर्मुडा, स्विट्जरल्याण्ड, केम्यान आइल्याण्डस्, रसिया, श्रीलंका, संयुक्त अरब इमिरेट्स, फ्रान्स, मरिसस, थाइल्याण्ड, बु्रनाई, जर्मनी, टर्की, न्युजिल्याण्ड, स्विडेन, क्यानडा, बेलारुस, कजाकस्तान, ताजकिस्तान, साइप्रस, भुटान, सेसेल्स र इटालीबाट कृषि, औद्योगिक र सेवा क्षेत्रमा लगानी भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

ती देशबाट दुई सय ५२ वटा कृषि, उद्योग र सेवासँग सम्बन्धित व्यापारिक प्रतिष्ठानमा लगानी भएको छ । रासस


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.