June 12th, 2018

महेन्द्रनगरमा वित्तीय जागरण : बैंकिङ कर्जाबाट उद्यमी बन्न आग्रह

बैंकिङ खबर । प्रदेश नं. ७ अन्तर्गत कञ्चनपूर जिल्लाको महेन्द्रनगरमा 'वित्तीय जागरण : राष्ट्रिय अभियान' सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिसँगको सहकार्यमा मिडिया इन्टरनेशनलद्धारा आयोजित कार्यक्रममा बैंकिङ कर्जाको सदुपयोग गरी उद्यमशीलतातर्फ लाग्नुपर्ने 'आवश्यकता औँल्याइएको छ । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका सहायक निर्देशक घनश्याम फुलाराले प्रदेश नं. ७ मा वित्तीय पहुँच विस्तार गरिनुपर्ने आवश्यकता औल्याए । उनले बैंकसँग सामिप्यता गाँसेर कारोबार गर्न उपस्थित उद्यमी तथा सर्वसाधारणहरुलाई आग्रह समेत गरे । 

बीमा समितिका निर्देशक राजुरमन पौडेलले लगानीको सुरक्षा एवम् जोखिम हस्तान्तरणका लागि अनिवार्य रुपमा बीमा गर्न उद्यमीहरुलाई आग्रह गरे । बीमाबिना लगानीको सुरक्षा हुन नसक्ने उनको भनाई थियो । 

त्यस्तै, उद्योग वाणिज्य महासंघ प्रदेश नं. ७ का वित्तीय विभाग प्रमुख कृष्ण प्रसाद पाठकले बैंकिङ र उद्यमशीलताको बीचमा घनिष्ट सम्बन्ध रहनुपर्ने बताए । साथै, उनले कर्जाको सदुपयोग गरी उद्यमी बन्न सर्वसाधारणहरुलाई आग्रह समेत गरे । 

वित्तीय जागरण : राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले पैसा बिना उद्यमी बन्नबाट बञ्चित हुनुनपर्ने भन्दै बैंकसँग भएको पैसा कर्जाको रुपमा लिएर उद्यमी बन्न कार्यक्रममा सहभागी उद्यमी, विद्यार्थी एवम् सर्वसाधारणहरुलाई सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ महेन्द्रनगरका कार्यवाहक अध्यक्ष जंग बहादुर मल्ल, घोडाघोडी माइक्रोफाइनान्सका सीईओ कुन नारायण चौधरी, शिक्षाविद् निशा भट्ट, प्रविधिविज्ञ सरोज श्रेष्ठ लगायतले पनि उद्यमशीलताका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महेन्द्रनगर तथा आसपासका स्थानहरुबाट विद्यार्थी, उद्यमी एवम् सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]