June 10th, 2018

सहकारीलाई डिजिटल प्रणालीमा लैजानुपर्ने

बैंकिङ खबर । प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश सहकारीहरु अझै परम्परागत तरिकाले हातले लेखेरै लेखा गर्न वाध्य छन् । तर प्रविधिको विकास र विस्तारसँगै अब भने छिटो छरितो सरल र पारदर्शी मानिएको डिजिटल प्रविधिमा जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । नेपालमा सुरक्षित, सरल र भरपर्दो वित्तीय कारोबार र पारदर्शीका लागि डिजिटल प्रविधिहरु आवश्यक बन्दै गएको सहकारीकर्मीहरुले नै बताएका छन् । आइतबार मिडिया इन्टरनेशनलले धनगढीमा आयोजना गरेको सहकारीको डिजिटल अवस्था र व्यवस्थापन विषेश अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका हुन् ।  

कैलाली कञ्चनपूरका सहकारीकर्मीहरुले डिजिटल प्रविधि महत्वपूर्ण हुने बताए । सानातिना कामको लागि पनि लामो समय लगाएर निकै टाढाको दूरीमा लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त हुन र संस्थागत सुशासनका लागि डिजिटल पद्धति प्रभावकारी हुने उनीहरुको भनाई छ ।

सहकारी क्षेत्र इन्टरनेटमा आधारित अनलाइन प्रणालीमा गए सेवा प्रवाह प्रभावकारी हुने र सर्वसाधारणको आकर्षण थप बढ्नुका साथै पारदर्शीता आउने प्रदेश सभा सदस्य तथा जिल्ला सहकारी संघ कञ्चनपूरका अध्यक्ष तारा लामा तामाङ्गको धारणा छ । उनले समान उद्देश्यका सहकारी एक आपसमा गाभिनुको विकल्प नभएको भन्दै सेवा सुविधा प्रभावकारी बनाउन सहकारी सञ्ंचालकले विषेश ध्यान दिनुपर्ने बताए ।

स–सानो छरिएको रकम संकलन गर्ने सहकारीले समुदायमा कृषि, वचत तथा अन्य कार्यहरु गर्दै आएका छन् । त्यसैले अनलाइन पद्धतिमा गएर कारोबार गर्न सके यसले सहकारीमा ठुलो योगदान पुर्याउने प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले बताइन् । उनले प्रभु म्यानेजमेन्टले सरल र सुरक्षित सहकारीका लागि डिजिटल प्रणालीको विकास गरेको समेत बताइन् । लामाका अनुसार, प्रभु म्यानेजमेन्टले सहकारीलाई आवश्यक पर्ने सफ्टवेर, विभिन्न कार्डहरुको व्यवस्थापन, रेमिट्यान्स प्रवाह र अन्तरसहकारी भुक्तानीका लागि सहज हुने सफ्टवेर संचालनमा ल्याएको छ । सहकारीहरुलाई उक्त सफ्टवेर निशूल्क वितरण गरिएको कार्यक्रममा जानकारी गराईयो । 

त्यस्तै, 'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोषले ग्रामिण क्षेत्रमा सहकारीको निकै ठुलो भुमिका रहेको भन्दै सहकारीलाई प्रविधीमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्था जस्तै सहकारीलाई पनि डिजिटल प्रविधिमा लैजानुपर्ने उनको धारणा थियो ।  

प्रभु म्यानेजमेन्टसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा कैलाली कञ्चनपुरका सहकारीकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]