June 8th, 2018

सिटिजन्स बैंकद्धारा विद्यालयलाई  सहयोग  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।

विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई दुई लाख रुपैयाँको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो । 

कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु नितान्त आवश्यक रहेको बताए । एक प्रसङ्गमा बोल्दै उनले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द्ध खेप्नु परेको उनको भनाई थियो । उनले आगामी दिनमा पनि सिटिजन्स बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी गराए । 

कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको सहयोग उनीहरुको अन्धकारमय जीवनमा प्रगति र उन्नतिको प्रकाश बनेर आएको भन्दै खुसी व्यक्त गरे । उज्यालो भविष्यका  निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  देशैभरी फैलिएका आफ्ना ७४  वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ३५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]