June 6th, 2018

शेयरमा लाभकर विवाद : विवाद टुङ्ग्याउन अध्ययन समिति गठन

धितोपत्र कारोबारमा पूँजीगत लाभकर गणनाको विषयमा असन्तुष्ट लगानीकर्ता विरोधमा उत्रिएपछि अर्थ मन्त्रालयले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले मङ्गलवार वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरी अध्ययन थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यका अनुसार समितिका अन्य सदस्यमा राजस्व व्यवस्थापन महाशाखाका एक प्रतिनिधि, आन्तरिक राजस्व विभागका महानिर्देशक वा उपमहानिर्देशकमध्ये एक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससी रहेका छन् । समितिले १५ दिनभित्र लाभकरका विषयमा अध्ययन प्रतिवेदन बुझाउने छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अध्ययन समितिमा सरकारी निकायदेखि पूँजीबजारसम्बद्ध नियामक निकायका प्रतिनिधिसमेत रहेकाले लगानीकर्ताको हितमा लाभकरको विषय टुङ्गिने बताए । आन्तरिक राजस्व विभागले आइतवारदेखि बोनस र हकप्रद शेयरमा अङ्कित मूल्यको आधारमा अग्रीम पूँजीगत लाभकर असुल गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससीलाई जेठ १८ गते पत्रमार्पmत निर्देशन दिएको थियो । सोही निर्देशनको विरोधमा लगानीकर्तासम्बद्ध तीन सङ्गठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ र शेयर लगानीकर्ता सङ्घले सोमवारदेखि नै नेपाल स्टक एक्सचेञ्जमा धर्ना दिई कारोबार बन्द गरिरहेका छन् । ती सङ्गठनले सम्पूर्ण लगानीकर्तालाई कारोबारमा सहभागी नहुनसमेत आग्रह गरेका छन् ।

शेयर लगानीकर्ताको संयुक्त सङ्घर्ष समितिको मङ्गलवार बसेको बैठकले लगानीकर्ताको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । नेपाल पूँजीबजार लगानीकर्ता सङ्घका अध्यक्ष नवराज सुवेदीले आन्तरिक राजस्व विभागले लाभकरको सम्बन्धमा २ मिनेट नलगाई गरेको आकस्मिक निर्णयलाई अध्ययन गर्न १५ दिन लाग्ने विषय लगानीकर्तालाई अमान्य रहेको बताए । उनले जतिसक्दो छिटो लगानीकर्ताको माग सम्बोधन हुनुपर्नेमा जोड दिए । लाभकरको सम्बन्धमा आन्दोलनमा उत्रिएका लगानीकर्ताहरूले पहिलो दिन सोमवार केही मात्रामा कारोबार ठप्प पारे पनि मङ्गलवार भने पूरै ठप्प पारेका छन् । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]