June 3rd, 2018

सहकारी र माइक्रोफाइनान्स बीच के फरक छ ? अत्यावश्यकीय जानकारी

रेखा चन्द । सहकारी र माइक्रोफाइनान्सबारे सर्वसाधारणको बुझाई एउटै रहेको भए पनि यी दुई क्षेत्र फरक फरक हुन् । माइक्रोफाइनान्स बैंक तथा वित्तीय क्षेत्रको एउटा भाग हो । माइक्रोफाइनान्सलाई नेपाल राष्ट्र बैंकले घ वर्गको इजाजत दिनुका साथै नियमन, निर्देशन पनि गरेको हुन्छ । तर, सहकारीलाई नेपाल राष्ट्र बैंकले इजाजत दिएको हुँदैन र नियमन तथा निर्देशन पनि गरेको हुँदैन । सहकारी संस्थाहरु सहकारी ऐन अनुसार चल्ने गर्दछन् ।

नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रकाशराज शर्माका अनुसार माइक्रोफाइनान्समा सर्वसाधारण र संस्थापक गरी दुई थरीका लगानीकर्ता हुन्छन् । माइक्रोफाइनान्समा सर्वसाधारणलाई साधारण सेयर जारी गरेर पुँजी निर्माण गरिएको हुन्छ । यद्यपि, सहकारीले सेयर जारी गर्दैन । सहकारीको पुँजी सानो हुन्छ र सदस्यले मात्र पनि सहकारीलाई सञ्चालन गरेका हुन्छन् ।

सहकारी के  हो ?
एउटा समुदायका मानिसहरु सँगसँगै मिलेर केही पैसा जम्मा गर्ने, मिलिजुली आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन काम गर्ने उद्देश्यले सहकारी सङ्घ/संस्था दर्ता निर्देशिका २०६९ अनुसार सामुहिक प्रयासमा दर्ता गरिएको संस्थालाई सहकारी संस्था भनिन्छ ।

माइक्रोफाइनान्स के हो ?
माइक्रोफाइनान्स  भनेको फाईनान्स कम्पनी, विकास र वाणिज्य बैंक भने जस्तै एउटा वित्तीय सेवा दिने संस्था हो । माइक्रोफाइनान्सले धेरैजसो धितो राख्न हैसियत नभएका मानिसहरुलाई जमानी राखेर झन्झट रहित ऋण दिने र धेरैजसो छिटो छिटो आयआर्जन हुने ठाउँमा ऋण लगानी गर्दछ । थोरै आम्दानी भएका गरिब मानिसहरुबाट स–सानो बचत लिन्छ र स–सानो ऋण दिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]