May 30th, 2018

नेपाल बीमक संघको लघुबीमा तालिम सम्पन्न

नेपाल बीमक संघले मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुका लागि २ दिने तालिम सञ्चालन गरेको छ । नेपाल बीमक संघले जेष्ठ १३ र १४ गते सञ्चालन गरेको तालिममा संघका प्रमुख कार्यकारी अधिकृत द्रोण प्रसाद आचार्य, लुम्बिनी जनरल इन्सुरेन्सका प्रमख कार्यकारी अधिकृत नुर प्रकाश प्रधान र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको उपस्थिति रहेको थियो । 

चितवनको सौराहामा सम्पन्न उक्त तालिममा मेरो माइक्रोफाइनान्सका कर्पोरेट, ईलाका र शाखा कार्यालयका करीब १०० कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल बीमक संघका दिनेश पन्त, शिखर इन्सुरेन्स कं. लि. का सहायक महाप्रबन्धक उदित काफ्ले, प्रुडेन्सियल इन्सुरेन्स कं. लि. बीरगञ्जका क्षेत्रीय प्रबन्धक अमर गौतम, लुम्बिनी जनरल इन्सुरेन्स कं. लि. नारायणगढका क्षेत्रीय प्रबन्धक नबराज तिमिल्सिना, सिद्धार्थ इन्सुरेन्स कं. लि. नारायणगढका क्षेत्रीय प्रबन्धक माधव रेग्मी लगायत लघुवित्त र बीमा क्षेत्रका विज्ञहरुले सहजीकरण भूमिका गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले तालिमको औचित्य र आवश्यकताको बारेमा प्रष्ट पारे । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी समापन भएको उक्त तालिममा लुम्बिनी जनरल इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रधानले लघुबीमाको अपरिहार्यता बारे प्रकाश पारे । 

नेपाल बीमक संघका प्रमुख कार्यकारी अधिकृत आचार्यले लघुवित्त संस्थाहरुको चौतर्फी नेटवर्क रहेको बताउँदै ती संस्थाहरु मार्फत जनस्तरमा सजिलै सेवा पुग्ने आशा व्यक्त गरे । मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालले उपस्थित सम्पूर्ण सहभागीहरु मार्फत लक्षित वर्गमा बीमा कार्यक्रम बारे जनचेतना फैलाउँदै सेवा दिनुपर्ने कुरामा जोड दिए । ४६ जिल्लामा ७६ शाखा कार्यालयहरु मार्फत ७२ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा दिइरहेको मेरो माइक्रोफाइनान्सले प्राथमिकताका आधारमा योजना बनाई लघुबीमाको सेवा दिन सम्पूर्ण सहभागीहरुलाई निर्देशन दिए ।

लघुवित्तीय सेवा लिइरहेका बिपन्न परिवार र लघुउद्यमीहरुका जीवन तथा व्यवसायमा आइपर्ने जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रम अपरिहार्य रहेको नेपाल लघुवित्त बैंकर्स संघको निष्कर्ष र निर्णय बमोजिम नेपाल बीमक संघले नेपाल सरकार, सक्षम र युके एडको सहकार्यमा उक्त बीमा सेवा दिन शुरु गरेको हो । संघले सुलभ लागतमा ग्रहस्थ बीमा, व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, लघु व्यवसाय बीमा, गम्भीर प्रकृतिका रोग बीमा, पशु बीमा र बाली बीमा गरी चौतर्फी सेवा दिने योजना अघि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]