May 28th, 2018

व्याजदर निर्धारणमा आधार दर अर्थात् Base Rate गणना विधि

नारायणलाल श्रेष्ठ । बैकिङ्ग प्रोफेसनमा व्याजदर नौलो विषय होइन । मूलभुत रुपमा बैंकको काम नै व्याज तिरेर निक्षेप तथा सापटीको रुपमा रकम संकलन गर्ने र व्याज लिएर ऋण दिने हो । जसको लागि बैंकले लिने र दिने व्याजदर तोकेको हुन्छ र लिने/दिने व्याजको अन्तरवाट बैंकले खर्चहरु धानेर लगानीकर्ताहरुलाई प्रतिफल दिनु पर्दछ । हेर्दा यति सामान्य लागे पनि व्याजदर निर्धारण गर्ने कार्य सहज भने छैन । किनभने आधुनिक बैंकिङ्ग वजारमा व्याजदरलाई प्रभाव पार्ने वाह्य र आन्तरिक विभिन्न तत्वहरु हुन्छन् । व्याजदर निर्धारण गर्दा ति तत्वहरुको स्पष्ट पहिचान गर्न सकिएन भने परिणाम अत्यन्तै प्रतिकुल हुन्छ । त्यसैले बैंकहरुमा व्याजदरलाई जति सामान्य रुपमा वुझिन्छ, यसको निर्धारण गर्ने कार्य चाहीँ एक जटिल र सम्वेदनशिल विषय हो । यो एउटा यस्तो विषय हो जुन वजारको औषत दर भन्दा वढी भएमा कर्जा प्रवाहमा संकुचन आउँछ र बैंकमा तरल सम्पत्ति थुप्रिन गई बैंकलाई नोक्सान हुन्छ भने कम भएमा पनि व्याज आम्दानीमा ह्रास आई नोक्सान व्यहोर्नु पर्दछ । दुवै अवस्थामा बैंकले वजारसंग स्वस्थ्य प्रतिष्पर्धा गर्ने क्षमता गुमाउँछ । त्यसकारण व्याजदर अत्यन्तै सन्तुलित र व्यावशायिक ढंगवाट निर्धारण गर्नु पर्ने विषय हो । यसको लागि आजको आधुनिक बैकिङ्ग बजारमा आधार दरको गणना गर्ने प्रचलन रहेको छ । जसले व्याजदर निर्धारणलाई सहज मात्र होइन यथार्थपरक समेत बनाउँदछ ।

आधार दर
आधार दर भनेको कर्जाको व्याजदर निर्धारणमा स्पष्टसंग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर हो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी व्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ । तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । सामान्यतया बैंकको व्याजदर आधार दरसंग वरावर वा सो भन्दा घटी हुनु हुदैन । व्याजदरले वजारकोे प्रचलित दरलाई पनि पछ्याउनु पर्ने भएकोले पूँजीको लागत वढी भई आधार दर उच्च हुने बैंकले आधार दर वा सो भन्दा कममा व्याजदर तोक्नु पर्ने अवस्था आउन सक्दछ । यो अवस्थामा बैंकले अस्थित्व कैै संकट भोग्नु पर्दछ । 

आधार दर निर्धारणका तत्वहरु
आधार दर गणना गर्दा व्याजदरलाई प्रभाव पार्ने तत्वहरुलाई समावेश गरिन्छ । जुन स्पष्ट रुपमा पहिचान हुनु पर्दछ । नेपाल राष्ट्र बैंकले जारी गरेको ‘आधार दर गणना सम्वन्धि कार्यवीधि २०६९’ अनुसार आधार दर गणना गर्दा Cost of Fund, Cost of CRR, Cost of SLR, Operating Cost तथा Return on Assetsलाई समावेश गर्नु पर्दछ । आधार दर निर्धारणका यी सवै तत्वहरुको योगफल आधार दर हो । 

१. कोषको लागत (Cost of Fund)
आधार दर गणना गर्न पहिचान गरिएका तत्वहरुमध्ये Cost of Fund व्याजदरमा प्रभाव पार्ने सवैभन्दा महत्वपूर्ण तत्व हो । Cost of Fund भनेको बैंकसंग मौज्दातको रुपमा रहेको निक्षेप तथा सापटीको व्याज खर्च हो । निश्चित अवधीमा भएको ब्याज खर्चलाई त्यस अवधीमा मौज्दातको रुपमा रहेको औषत निक्षेप र सापटीले भाग गरेर Cost of Fundको दर पत्ता लगाइन्छ । बैंकको Cost of Fund जति कम भयो त्यति नै त्यसले ब्याजदर निर्धारणमा सकारात्मक प्रभाव पार्दछ । 

२. संचालन खर्च (Operating Expenses)

बैंकको संचालन खर्चले पनि व्याजदरमा प्रत्यक्ष प्रभाव पार्दछ । बैंकले गर्ने खर्चको भार व्याजदरले वहन गर्नु पर्ने भएकोले यस वापतको लागत समेत आधार दर गणनाको लागि पहिचान गरिएको लागत हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुल संचालन खर्चको ८५ प्रतिशत खर्चलाई यस प्रयोजनको लागि समावेश गर्नु पर्दछ । खास अवधीको संचालन खर्चलाई त्यस अवधीको औषत लगानी योग्य कोषले भाग गरेर आधार दरमा संचालन खर्चको लागत गणना गरिन्छ । 

३. अनिवार्य नगद मौज्दातको लागत ( Cost of CRR)

बैंकले केन्द्रिय बैंकको निर्देशन अनुसार कुल निक्षेपमा तोकिएको दर (ने.रा.बैं.को निर्देशनानुसार हाल ५.५ प्रतिशत) ले अनिवार्य नगद मौज्दात (CRR) कायम गर्नु पर्दछ । सो मौज्दात केन्द्रिय बैंकमा प्रतिफल प्राप्त नहुने गरी राख्नु पर्ने भएकोले यस वापतको लागतले समेत आधार दरमा प्रभाव पार्दछ । निर्धारित अवधीमा कायम भएको औषत CRR लाई Cost of Fund ले गुणा गरी औषत लगानी योग्य कोषले भाग गरेपछि CRR को लागत निर्धारण हुन्छ ।  

४. बैधानिक तरलतामा व्यहोर्नु पर्ने लागत (Cost of SLR)

केन्द्रिय बैंकको निर्देशन अनुसार बैंहरुले आफ्नो निक्षेपको निश्चित प्रतिशतका दरले कायम गर्नु पर्ने बैधानिक तरलता (CRR) ( ने.रा.बैं.को निर्देशनानुसार हाल १२ प्रतिशत) को लागतलाई पनि व्याजदर निर्धारण को लागि आधार दरमा गणना गरिन्छ । निश्चित अवधीको Cost of Fund मा सरकारी सुरक्षण पत्रमा उपलव्ध हुने प्रतिफलको दर (Govt. Rate) घटाएर औषत लगानी योग्य कोषले भाग गरी Cost of SLR को पहिचान गरिन्छ । 

५.  लगानीमा प्रतिफल (Return on Assets)
बैंकले आफ्नो शेयरहोल्डर तथा अन्य लगानीकर्ताहरुलाई उनिहरुको लगानीमा प्रतिफल प्रदान गर्नु पर्दछ । यसरी प्रदान गर्नु पर्ने प्रतिफलको लागतलाई पनि आधार दर निधारणमा गणना गरिन्छ ।  यस प्रयोजनको लागी नेपाल राष्ट्र बैंकले Return on Assets वापत ०.७५ प्रतिशतका दरले गणना गर्नु पर्ने भनि तोकिदिएको छ । 

आधार दरको अवस्थाः

जोखिम रहित ढंगवाट व्याजदर निर्धारण गर्नको लागि आधार दर कति हुनु पर्दछ भन्ने विषय वजारमा निर्भर हुन्छ । २०७१ साल चैत्र महिनाको तथ्याङ्क अनुसार नेपालका वाणिज्य बैंकहरुको औषत आधार दर ७.५८ प्रतिशत रहेको छ । जस अनुसार यसैको हाराहारीमा बैंकको आधार दर कायम भए सो लाई स्वस्थ मान्न सकिन्छ । कृषि विकास बैंकको यो दर वजारको औषत भन्दा वढी ९.९९ प्रतिशत रहेको छ । सरकारी स्वामित्वका अन्य दुई बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको यो दर क्रमशः ७.८६ प्रतिशत र ५.०८ प्रतिशत रहेको छ । यसैगरी नीजि क्षेत्रका प्रतिष्पर्धी बैंकहरु मध्ये नविल बैंक ः ६.०६ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकः ६.४१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकः ६.१६ प्रतिशत तथा एसविआई बैंकः ७.२८ प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार कृषि विकास बैंक लि.को आधार दर सवै भन्दा उच्च देखिन्छ । 

निश्कर्षः
समग्रमा भन्नुपर्दा आधार दरको आधारमा कर्जाको व्याजदर निर्धारण गरिने भएकोले यो दर सन्तुलित हुनु जरुरी छ । आधार दर कम हुने बैंकले कर्जाको जोखिम प्रिमियम वढी राखेर व्याजदर निर्धारण गर्न सक्ने भएकोले यस्तो बैंक वित्तिय रुपमा सक्षम हुन्छ । यसैगरी आधार दर कम हुने बैंकले वजारमा प्रचलित व्याजदरको अनुसरण गरी कर्जा कारोवार गर्न सक्ने भएकोले पनि ति बैंकहरुले व्यवशायमा वृद्धि गर्ने सम्भावना रहन्छ । त्यसैले बैंकले व्यवशायमा क्षमता प्रदर्शन गर्नका लागि आधार दरलाई घटाउनु पर्दछ । कम लागतको निक्षेप संकलन गर्ने, कम व्याजदरको सापटी लिने र प्रसाशनिक खर्चमा कटौती गर्नु नै आधार दर कम गर्ने मुख्य उपाय हुन् । (लेखक कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय, काठमाडौंमा कार्यरत छन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]