May 25th, 2018

साताभरका महत्वपूर्ण खबरहरु (१४ बुँदामा)

बैंकिङ खबर । यो साता सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु सार्जनिक गर्यो । विभिन्न वित्तीय संस्थाहरुले साधारणसभा सम्पन्न गरे भने विभिन्न बैंकहरुले शाखा विस्तारलाई प्राथमिकतामा राखे । समग्रमा, सो साता चर्चामा रहेका बैंक तथा वित्तीय संस्थासम्बन्धी खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

नेपाल पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति
नेपाल पूर्वाधार विकास बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पायो । नेपाल सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको बैंकले आइतबार सैद्धान्तिक स्वीकृति पाएको हो । २० अर्व रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेको छ । इमर्जिङ नेपाल नामको पूर्वाधार कम्पनीले गत भदौ १४ गते सञ्चालन स्वीकृति माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो । प्रस्तावित बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व मूख्य सचिव डा. विमल कोइराला छन् । 

लुम्बिनी विकास बैंकका सीईओको राजीनामा
लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिए । उनको राजीनामा संचालक समितिले स्वीकृत पनि गरिसकेको छ । 

प्रभु इन्स्योरेन्समा नयाँ संचालकहरु
प्रभु इन्स्योरेन्सको विशेष साधारणसभाले साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गर्यो । कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वा्चित  भएका  छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वा्चित गरेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले प्रतिनिधित्व गरेका छन् । साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा पुनः कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पाठक
राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक नियुक्त भए । मन्त्रीपरीषदको बैठकले पाठकलाई आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो । अर्थमन्त्रालयले जेठ २ गते तीन जनालाई नियुक्तिको लागि सिफारिस गरेको थियो । पाठक कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका हुन् ।

एनआईसी एसिया बैंकबाट राजस्व बुझाउन सकिने
एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा एक लाख रुपैयाँसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा यस बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्यायो । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरुले एक पटकका लागि आफ्नो खाता नं. NCHL को ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा Login गरी राजश्व भुक्तानी गर्न सक्नेछन् । सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउसको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ  । 

जनता बैंकको पाँच नयाँ शाखा
शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडले थप पाँच शाखाबाट एकैसाथ कारोबार सुरु गर्यो । बैंकले गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्डगा.पा. २, रसुवा दोरम्बा शाखा, दोरम्बागा.पा. ३, रामेछाप, तातोपानी शाखा, तातोपानी गा.पा. ३, जुम्ला र कालिकास्थान शाखा, कालिका गा.पा. २, रसुवाबाट कारोबार सुरु गरेको हो । यसमध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नती गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् ।

माछापूछ्रे बैंकको सेवा पाँच नयाँ स्थानबाट
माछापुच्छ्रे बैंकले एकै साथ तीन नयाँ शाखा कार्यालय र दुई शाखारहित बैंकिङ सेवाको सुरुवात गर्यो । बैंकले जेष्ठ ६ गते सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । साथै बैंकले कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

चौतारी लघुवित्त १६ जिल्लामा
चौतारी लघुवित्त वित्तीय संस्थाले थप ५ जिल्ला कार्यक्षेत्र विस्तारका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पायो । जिल्ला थप गर्न नेपनल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्थालाई जेठ ९ गते अनुमती प्रदान गरेको हो ।  लघुवित्तले पुर्बी रुकुम, जाजरकोट, पश्चिम रुकुम, सुर्खेत र स्याङ्गजा गरी पाँच जिल्लामा आफ्नो सेवा विस्तार गर्ने अनुमति पाएको लघुवित्तका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए । यससँगै ११ जिल्ला कार्यक्षेत्र रहेको चौतारीको कार्यक्षेत्र १६ जिल्ला पुगेको छ ।

कृषि लगानी विस्तारमा मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि iDE Nepal सँग सहकार्य गरेको छ । यस सम्झौता बमोजिम iDE Nepal ले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्ने छ । यस कार्यक्रमबाट किसानहरुको प्राविधिक ज्ञान र सीपमा अभिबृद्धि हुनुको साथै आय बृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

शाखा विस्तार
मुक्तिनाथ विकास बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आफ्ना दुई शाखा कार्यालय विस्तार गर्यो ।
गण्डकी विकास बैंकको मकवानपुरको हेटौँडा र पाल्पाको तानसेन शाखाको औपचारिक उद्घाटन भयो ।
लक्ष्मी बैंकले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालीकामा नयाँ शाखाहरु संचालनमा ल्यायो ।
सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा एनआईसी एशिया बैंकले आठौँ शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।
गण्डकी विकास बैंककले धनगढीमा शाखा विस्तार गर्यो ।
गण्डकी विकास बैंक नेपालगञ्ज शाखाको औपचारिक उद्घाटन गरियो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा जेष्ठ ८ देखि ५९औ शाखाको विधिवत रुपमा शुभारम्भ गर्यो ।

संस्थागत सामाजिक उत्तरदायित्व
लक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखामार्फत विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्यो ।
हिमालयन बैंक लिमिटेडले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई रु. ७५,००० मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गर्यो ।
वीर अस्पतालको सरसफाई तथा रङ्गरोगनका लागि बैंक अफ काठमाण्डुले एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गर्यो ।
गण्डकी विकास बैंक लिमिटेडको चितवनस्थित भरतपूर शाखा कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।

सम्झौता
सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्यो ।
नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र SAR Advisors Pvt Ltd बिच सम्झौता भयो ।
ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्सस्थित बेल्जियन बैंकिङ्ग एकेडमी बीच बैंकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भयो ।
गरिमा रेमिट सञ्चालन गर्नका लागि गरिमा विकास बैंकले ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकसँग सम्झौता गर्यो । 
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघवीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भयो ।

तालिम तथा गोष्ठि
नेरुडे लघुवित्त वितीय संस्था लि.केन्द्रिय कार्यालय बिराटनगरले तिन दिने स्वयम् विकास ब्यबस्थापन तथा उधमशिलता नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
निर्धन संस्थाले नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको ढिकुरेमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गर्यो ।
ज्योति विकास बैंक लिमिटेड ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम २०७५ सम्पन्न भयो ।
स्पर्स लघुवित्त वित्तीय संस्थाले हाल संचालनमा रहेको १५ वटा शाखा कार्यालयहरुको तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आ.व.२०७५/०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गर्यो ।

अन्य
प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भयो ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भयो ।
पूर्णिमा विकास बैंकले आधुनिक बैंकिङ सेवाको प्रयोगलाई उत्प्रेरित गर्नको लागि ५ जना मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई मोबाईल उपहार दियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]