May 24th, 2018

प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साथमा, उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीम समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ । 

आर्थिक वर्ष २०६३।६४ देखि २०७३।७४ सम्मको वित्तीय विवरणहरुसहितको वार्षिक प्रतिवेदन पनि साधारणसभाले अनुमोदन गरेको छ । त्यस्तै, साधारणसभाले सर्वसाधारणका लागि सार्वजनिक सेयर (आईपिओ) निष्काशन गर्ने, संचालक समितिको वैठकमा उपस्थित भएवापत संचालकले पाउने वैठक भत्ता तथा सुविधा स्वीकृत गर्ने र कम्पनीको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । 

२०७४ मंसिर २८ गतेदेखि विधिवत रुपमा आफ्नो व्यवसायिक कारोबार सुरु गरेको प्रभु लाइफ इन्स्योरेन्सले हालसम्म २० वटा शाखा तथा उपशाखाहरु संचालनमा ल्याइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा शाखा संजाल ४० पुर्याउने कम्पनीको योजना छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले चैत्र मसान्तसम्ममा चार करोड ८७ लाख ९३ हजार नौ सय ७८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ६१५ वटा बीमालेख जारी गरेको कम्पनीले बीमाशूल्क वापत तीन करोड १९ लाख ९६ हजार एक सय छ रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा व्यवस्थापन खर्च चार करोड २५ लाख ५८ हजार ५५ रुपैयाँ पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]