May 18th, 2018

लघुवित्तले कस्तो व्यक्तिलाई बनाउँछ उद्यमी ?

नानु खड्का । खासगरी लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण भेगमा बसोबास गर्ने, कम आयस्तर भएका, विपन्न वर्गलाई नै मुख्य केन्द्रविन्दु बनाएका हुन्छन् । बिशेष गरी महिलाहरु लघुवित्त वित्तीय संस्थाबाट लाभान्वित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई घरको काम लगायत आयआर्जनमा सक्षम बनाउन तथा उद्यमशिल बनाउने वातावरण बनाउँदै आएका छन् । लघुवित्त वित्तीय संस्थाले गरीब तथा विपन्न मानिसहरुलाई आर्थिक तथा सामाजिक रुपमा अघि बढाउन महत्वपुर्ण भुमिका खेलेका छन् । लघुवित्त वित्तीय संस्थाले महिला सम्बन्धि विभिन्न सिपमुलक तालिम तथा कार्यक्रमहरुलाई अघि सारेर महिला सशक्तिकरणमा समेत सहयोग गरेका छन् । हिजो आपनो घरको हिसाब किताब गर्ने नसक्ने महिलाहरु आज विभिन्न महिला समुह खोलेर ५०/६० जनाको समुहलाई व्यवस्थापन गर्ने सक्षम भएका छन्, जसको आधार लघुवित्त हो । 

केही गर्छु, उद्यमी बन्छु र आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मानिर्भर बन्छु भन्ने मेहनेती व्यक्तिहरुलई लघुवित्त वित्तीय संस्थाले कर्जा सरल रुपमा उपलब्ध गराउँदछ । लघुवित्त संस्थाहरुले स्वदेशी भुमिमा नै उद्यशिल बन्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छन् । अरुको देशमा गएर दिन रात पसिना बगाउनुभन्दा आफ्नै देशमा नै दु.ख गरेर उद्यमी बन्न सकियो भने भावी पुस्तालाई सहयोग पुर्याउँछ भन्ने विषयमा लघुवित्तहरु केन्द्रित भएका हुन्छन् । लघुवित्त वित्तीय संस्थाले उद्यमशीलताको विकास गर्ने खालका धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले खासगरी पैसा नभएका, गरीबी, विपन्न, कम आर्थिकस्तर भएका, पैसा भए केही व्यवसाय गर्छु भन्ने खालका व्यक्तिहरुलाई बढी लक्षित गरेर सरल रुपमा बिना धितो कर्जा उपलब्ध गराई सोको बारेमा सबै जानकारी दिने गर्दछ । लघुवित्त संस्थाले स‐साना व्यवसायका लागि कर्जा दिने गर्दछ जस्तैः‐कुखुरा पालन, बाख्रा पालन, फलफुल पसल,माछा पालन, तरकारी खेति ईत्यादि व्यवसायहरुका लागि कर्जा उपलब्ध गराउँछ । 

लघुवित्त वित्तीय संस्थाहरुले कर्जा मात्र उपलब्ध गराउने नभएर ठाउँ ठाउँमा सिपमुलक तालिमहरु दिएर उद्यम व्यवसाय गर्नेहरुलाई धेरै सहयोग पुर्याएका छन् । लघुवित्तले आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्ने र आवश्यक सहयोग समेत गर्ने काम गर्छ । उद्यमी बत्रन्न चाहने व्यक्तिलाई लघुवित्तले कर्जा दिनुका साथै व्यवसाय सुरु गर्न आवश्यक तालिम र सरसल्लाह समेत प्रदान गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]