May 17th, 2018

मौलाउँदै वित्तीय अपराध : हेर्नुहोस्, नक्कली नोटका गिरोहहरु

रुपा कोइराला/बैंकिङ खबर । पछिल्लो समय वित्तीय अपराध झन्झन् मौलाउँदै गएको छ । ठाउँठाउँमा नक्कली नोटका गिरोहहरु सल्बलाइरहेका छन् । दुःख गरेर पैसा कमाउनुभन्दा नक्कली नोटको कारोबार गरी सुखसयलको जीवन बिताउने मोहले धेरैलाई वित्तीय अपराधी बनाइरहेको छ । 

यसैबीच नेपाली नक्कली नोटका साथमा फिल्म निर्माता माधव वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङलाई प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट पक्राउ गरेको छ । साथमा, दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीत पनि पक्राउ परेका छन् । वाग्ले आफ्नै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ परे भने सुर्खेतका महेन्द्र बोगटी एक लाख २० हजार बराबरका नक्कली नोटसहित कमलपोरीबाट र सिन्धुलीका सुजित तामाङ र साजन तामाङ सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित ललितपूरको लुभुबाट पक्राउ परे ।

यसअघिका घटना
केही समयअघि नक्कली नोट कारोबारका घटना लगातार आइरहेपनि बीाचमा केही समय यस्ता घटना बाहिरिएको थिएन । यसरी बारम्बार दोहोरिरहने नक्कली नोट कारोबारको घटनामा नेपाली मात्रै नभएर विदेशी नागरिकहरुको समेत संलग्नता पाइने गरेको छ ।

चुनावको मौका
यसअघि, गत पुसको अन्तिमतिर कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । त्यसअघि चुनावको मौका पारेर पनि विभिन्न ठाउँहरुमा नक्कली नोट कारोबारका घटनाहरु बाहिरिएका थिए । सो समयमा पर्वत जिल्लाका विभिन्न गाउँहरुमा यस्ता नोटहरु भेटिएका थिए । त्यस्तै, म्याग्दी, बागलुङ लगायत अन्य जिल्लाहरुमा समेत चुनावको समयमा नक्कली नोटको कारोबार भएको पाइएको थियो । 

चाडपर्वमा बढी सक्रिय
नक्कली नोटको कारोबार गर्ने गिरोहहरुले प्राय धेरै आर्थिक कारोबार हुने समय छानेर नक्कली नोट निकाल्ने गर्दछन् । जसअनुसार, विशेषगरी चाडपर्वको समयमा यस्ता गिरोहरुको सक्रियता बढ्ने गरेको पाइन्छ । गत असोज महिनामा पनि मुलुकका विभिन्न स्थानहरुमा नक्कली नोट भेटिएका थिए । सो समयमा गोरखाको एउटा पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेपछि छानविन गर्ने क्रममा गोरखाका अन्य पसल एवम् स्टोरहरुका साथमा सहकारी संस्थामा समेत नक्कली नोट पाइएको थियो ।  

ठूला सहरहरुमा बढी कारोबार
नक्कली नोटको कारोबार ठूला सहरहरुमा झन् बढी हुने गरेको पाइन्छ । यस्ता सहरहरुमा दैनिकजसो ठूलो परि माणमा पैसाको कारोबार हुने हुँदा यस्ता गिरोहहरुले सजिलै सर्वसाधारणहरुलाई झुक्याउने गरेका छन् । यसैक्रममा अघिल्लो वर्षको साउन महिनामा विराटनगरमा ठूलो परिमाणमा नक्कली नोटसहित दुई युवा पक्राउ परेका थिए । 

सामाजिक संस्थाको नाममा समेत अपराध
नक्कली नोटको विगविगी यहाँसम्म बढेको छ कि, सामाजिक कार्य गर्ने भन्दै स्थापना भएका संस्थाहरुलाई समेत विश्वास गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ । गत वर्ष बुटवलमा भएको घटनाले यस्तो अवस्था ल्याएको छ । सो समयमा नक्कली नोट छाप्ने मेसिनसहित वुटवलबाट एक युवा पक्राउ परेका थिए । बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका–६ का २१ वर्षीय सन्तोष मल्ल पक्राउ परेका थिए । 

साना उमेरका युवाको संलग्नता बढी
समयसमयमा बाहिरिएको नककली नोट कारोबारका घटनामा साना उमेरका युवाहरुको संलग्नता बढी पाइएको छ । विशेषगरी १५ वर्षदेखि २०।२१ वर्ष उमेर समूहका युवाहरु यस्तो कार्यमा संलग्न पाइएका छन् । २०७३ साल भदौमा विराटनगरबाट नक्कली १ हजारको नोट सहित पक्राउ परेका प्रदीप महतो १८ वर्षका थिए । त्यसभन्दा अघि पनि पोखरामा एक युवा पक्राउ परेका थिए । त्यसपछिका माथि उल्लिखत घटनाहरुमा पनि युवाहरुकै संलग्नता रहेको पाइएको छ । 

केन्द्रीय बैंकलाई मात्रै हुन्छ नोट छाप्ने अधिकार
कुनैपनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रीय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग  गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।

नेपालमा जाली नोटको सुरुवात
हाम्रो देशमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि  वि.सं. २०२५।२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । उनका अनुसार गैह्रिधारा नाम नखुलेको एक व्यक्तिलाई प्रहरीले समाति थुनेको पनि थियो । त्यसैगरी वि.सं. २०३६।३७ तिर सिद्धार्थनगरमा गभर्नर कुलशेखर शर्माका हस्ताक्षर भएका रु. १०० दरका जालीनोट बजारमा देखापरेको थियो भनिएको छ । केहीबर्ष अघिसम्म भारतीय जाली नोटहरुको कारोबार अत्याधिक मात्रामा रहेको थियो । यसको तुलनामा नेपाली जाली नोटहरु कमै भेटिन्थे । तर, पछिल्ला समयमा संघठित गिरोहहरुले नेपाली जाली नोटहरुको कारोबार पनि बढाएको छन् । हाल बजारमा अत्याधिक रुपमा रु. ५०० र रु. १००० दरका तथा नगन्य मात्रामा रु.१०० दरका जाली नोटहरु देखा परिरहेका हुन्छन् ।

यसरी छापिन्छन् नक्कली नोट
नक्कली नोट छपाईका लागि कतिपयले फोटोकपिको प्रयोग गर्ने गरेका छन् । यद्यपि, यसरी फोटोकपि गरिएका नोटहरु नक्कली भनेर पत्तत्रा लगाउन सजिलो हुने गर्दछ । त्यसैले, पछिल्लो समय आफैँ मेसिन राखेर नोट प्रिन्ट गर्नेको संख्या बढिरहेको छ । केही समयअघि, सामाजिक संस्थाले नै नक्कली नोट छपाईको धन्दा गरिरहेको पत्ता लागेको थियो । नवदिपपथ अर्फन हेल्पिङ हेन्ड’ नामको कार्यालय सञ्चालन गर्दै आएका सन्तोष मल्लको कार्यालय र डेरामा खानतलासी लिने क्रममा नक्कली नोट तयार गर्ने फ्रि ईन्क प्रिन्ट मेसिन, ल्यापटप र नक्कली नोट लगायतका सामानहरु बरामद गरिएको थियो । 

कानुनी ब्यबस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ बमोजिम जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा सो ऐन अनुसार कसुर गरेको मानिन्छ । त्यसैगरी त्यसो कसुर गर्ने कुनु व्यक्ति वा त्यस्ता व्यक्तिलाई कुनै किसिमको सहयोग गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तिन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनको महल ६ मा व्यवस्था गरिएको छ । त्यसैले, हामी मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले जाली नोट कारोबार गरेको पाएमा सम्बन्धित निकाय या प्रहरीलाई खबर गरी धेरै सर्वसाधारणलाई ठगिनबाट बचाउन सक्छौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]