May 16th, 2018

बीमा विस्तारका लागि अर्थमन्त्रीका आधा दर्जन टिप्स

डा. युवराज खतिवडा । बीमा क्षेत्रको हालसम्मको प्रगति र बीमा समितिको कार्यशैली हेर्दा धेरै समस्याहरु देखिन्छन् । जसलाई आगमी दिनमा सुधार गर्दै लैजानुपर्छ । बीमा क्षेत्रको विस्तारका लागि निम्न विषयमा ध्यान दिनुपर्छ :

सेवाको निर्यात बढाउनुपर्छ
बीमा एउटा सेवाको व्यापार हो । यहाँ सेवा आयात र निर्यात दुवै हुन्छ । हामीले पुनर्बिमा मार्फत सेवा बढी नै आयात गरिरहेका छौँ । अब बीमा सेवा निर्यात गर्नुपर्छ । यसमा बीमा कम्पनीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपालकै बीमा कम्पनीहरु पुनर्बिमा कम्पनीमा सेयरहोल्डर हुनुहुन्छ । तपाईँहरु सबैले बीमा सेवा निर्यात गर्ने गरी काम गर्नुपर्छ । व्यापारघाटा बढ्यो भनिरहँदा हामीले सेवाको घाटालाई हेर्न सकेका छैनौँ । वित्तीय, पर्यटन लगायत सबै सेवामा समेत हामीले घाटा व्यहोरिरहेका छौँ । बीमा समितिले वित्तीय सेवाको घाटा कम गर्न आफ्नो तर्फबाट कदम चाल्नुपर्छ ।

छिमेकी मुलुकका बीमा कम्पनीलाई प्रतिस्थापन गर्नुपर्छ
यो त दृश्य आयातको मात्रै कुरा भयो । अदृश्य आयातको कुरा पनि छ । हाम्रो बीमा कम्पनी नपुगेका स्थानमा छिमेकी मुलुकका बीमा कम्पनी पुगिरहेका छन् । यसको छिटै अन्त्य हुनुपर्छ । यसका लागि बीमा कम्पनीले एक वर्षको कार्ययोजना तोकेर अघि बढ्नुपर्छ । सीमा क्षेत्रमा प्रवेश गरेका त्यस्ता कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनेसम्मको कदम चाल्नुपर्छ । 

नेटवर्कीङको अन्त्य गर्नुपर्छ
कसैकसैले राज्यले गरेन बीमा भनेर नेटवर्कीङ पनि चलाएका छन् । यो कानुन विपरीत हो । बीमा समितिले यस विषयमा पनि बिचार पुर्याउनुपर्छ । नेटवर्कीङबाट बीमा सेवा गराइरहेका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । 

योजना बनाएर अघि बढ्नुपर्छ
अहिले जीवन बीमा १० प्रतिशत पुगेको तथ्यांक छ । लघुबिमा कति छ भन्ने तथ्यांक छैन । कम्तीमा बीमा समितिले जीवन बीमा २५ प्रतिशत कति समयमा पुर्याउने र लघुविमा १० प्रतिशत कति वर्षमा पुर्याउने भनेर सीमा तोकेर अगाडी बढ्नु राम्रो हुन्छ । कम्तीमा चार वर्षभित्रमा यो लक्ष्य प्राप्ती गर्न सकियो भने बीमा क्षेत्रका लागि र समग्र मुलुकका लागि नै राम्रो हुन्छ । 

राम्रो कानुनी संरचना बनाउनुपर्छ
एउटा राम्रो कानुनी संरचना अझैसम्म तयार हुन सकेको छैन । सरकार बीमालाई प्रोत्साहन गरिरहने तर बीमकहरुले ध्यान नदिने वा नियामकले यसमा जोड नदिने प्रथाको अब अन्त्य हुनुपर्छ । बीमा क्षेत्रले बैंकिङ क्षेत्रको नियमनबाट सिक्नुपर्ने धेरै कुरा छन् । लघुकर्जालाई तीनबाट पाँच प्रतिशत पुर्याउँदा बैंकिङ क्षेत्रमा कठिनाई भएको थियो । तर, अहिले छ प्रतिशतको हाराहारीमा लघुकर्जा प्रवाहित भएको छ । बीमामा पनि यो अवस्था छिटै देख्न पाइनुपर्छ । 

बीमा समितिको क्षमता बढाउनुपर्छ
अहिले बीमा क्षेत्र प्रतिष्पर्धी भएको छ । बीमा संस्था धेरै हुँदैमा सेवा सुविधा विस्तार हुन्छ भन्ने कुरा भ्रम मात्रै हो । बैंकिङ क्षेत्रले त्यो पाठ सिकाइसकेको छ । बीमा प्रणालीमा बैंकिङ प्रणालीको जस्तो अवस्था नआओस् । नयाँ आएका बीमा कम्पनीहरु र पूरा कम्पनीहरुले पनि आफ्नो औचित्य कायम गर्ने र बीमा व्यवसायमा अझै अवसर छ भनेर पुष्टि गर्ने विषयमा ध्यान दिनुपर्छ ।  बीमा समितिले पनि आफ्नो क्षमतामा विकास गर्दै लैजानुपर्छ । यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयले आवश्यक सहयोग गर्नेछन् । वित्तीय स्थायीत्वका लागि वित्तीय क्षेत्रका सबै नियामक मिलेर अगाडी जानुपर्छ ।

सरकारले हस्तक्षेप गर्न सक्ने
बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि लघुबिमा अगाडी बढाए पनि अत्यन्तै राम्रो हुन्छ । यदि, कम्पनीहरु आफैँ अग्रसर देखिएनन् भने बीमा क्षेत्रको सुदृढीकरणका लागि हस्तक्षेप गर्न पनि सरकार तयार छ । सरकार अब बीमा फस्टाउँछ भनेर रमिता हेरेर बस्दैन । आम जनतालाई जोखिम न्युनिकरण गराउनका लागि सरकारले कुनै पनि कदम अपनाउन सक्छ । बजारलाई हामीले स्वतन्त्र रुपमा काम गर्न दिन्छौँ, प्रोत्साहित पनि गर्छौँ । अलि बढी फोर्स पनि गर्छौँ । यति गर्दा पनि भएन भने त्योभन्दा माथिल्लो कदममा पनि जानुपर्ने हुन्छ । 

(अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा बीमा समितिको वार्षिकोत्सवको अवसरमा व्यक्त गरिएको विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]