May 9th, 2018

बैंकिङ क्षेत्रमा ‘डाइनामिक प्रोभिजनिङ्ग’ 

सुरज घिमिरे । अर्थतन्त्र र बैंकिङ क्षेत्रका बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । एकातिर अर्थतन्त्रको अवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको परिणामलाई निर्धारण गर्दछ भने अर्काेतिर बैंकिङ क्षेत्रको विकासको गतिले अर्थतन्त्रको गतिलाई दिशा प्रदान गर्दछ । अर्थतन्त्र सुदृढ हुँदा बैंक तथा वित्तीय क्षेत्रमा कर्जा माग बढ्ने र नियमित कर्जाको व्याज एवम् किस्ता उठ्ने हुँदा बैंकिङ क्षेत्रको नाफामा विस्तार हुनजान्छ । यस्तो अवस्थामा खराब कर्जा सून्य प्राय हुने कारणले खराब कर्जा व्यवस्था पनि न्यून रहन्छ । तर, यसको ठीक विपरीत अर्थतन्त्र कमजोर बन्दा कर्जा माग घट्ने र कर्जाको व्याज एवम् किस्ता उठ्न नसकी खराब कर्जाको परिमाण पनि बढ्दै जान्छ । त्यसैले व्यापार चक्रसँगै आउने कर्जा जोखिमलाई बैंकिङक्षेत्रको अन्तरनिहीत जोखिमको रुपमा लिइन्छ । 

बैंक तथा वित्तीय संस्थाहरुमा व्यापार चक्रबाट आउने झट्का सहनसक्ने क्षमताको विकास हुनसके वित्तीय स्थायित्व हासिल गर्न सहज हुन्छ । जसका लागि ‘डाइनामिक्क प्रोभिजनिङ’ एक निविर्कल्प उपायको हो । ‘डाइनामिक्क प्रोभिजनिङ’ भविश्यमा हुनसक्ने खराब कर्जाको लागि गरिने ‘प्रोभिजनिङ’ सँग सम्बन्धित छ । अर्थतन्त्रमा देखा पर्ने व्यापार चक्रको ‘समुन्नति’ को समयमा अर्थतन्त्र गतिशील हुन्छ । आम्दानी, नाफा, रोजगारी, लगानी जास्ता आर्थिक चरहरुमा सकारात्मक परिवर्तन आउने हुँदा बैंककिग क्षेत्रको नाफा पनि बढ्दैजान्छ । त्यसैले यस्तो समयमा बढी ‘प्रोभिजनिङ’ राख्ने तर अर्थतन्त्रमा ‘मन्दी’ आएका बेला आम्दानी, नाफा, रोजगारी, लगानी जास्ता आर्थिक चरहरुमा नकरात्मक परिवर्तन आउने हुँदा बैंकिङ क्षेत्रको नाफा पनि घट्न जान्छ । त्यसैले यस्तो समयमा कम ‘प्रोभिजनिङ’ राख्ने गर्नु उपर्युक्त हुन्छ । यसले बैंकलाई ‘प्रोभिजनिङ’ बापत पर्ने भार न्यून गर्दछ र बैंकको ‘व्यालेन्सिट’ मा पर्नसक्ने नकरात्मक प्रभाव पनि कम  गर्न सकिन्छ । तसर्थ ‘डाइनामिक प्रोभिजनिङ’लाई व्यापार चक्रबाट हुने हानी नोक्सानीबाट बच्ने पूर्व तयारीको रुपमा पनि लिन सकिन्छ । 

खासगरी नेपालजस्ता विकाशोन्मुख मुलुकहरु, जहाँ अर्थतन्त्रमा स–साना छालहरुले पनि सुनामी आउनसक्छ, त्यस्ता मुलुकहरुमा ‘डाइनामिक्क प्रोभिजनिङ’ बढी सान्दर्भिक ठहर्छ । अधिक एवम् न्यून तरलता, घरजग्गामा भएको अधिक लगानीले निम्त्याएको जोखिम, राजनैतिक अस्थिरताले अर्थतन्त्रमा पारेको प्रभाव, वित्तीय पूर्वाधारको अवस्था आदि हेर्दा नेपालमा पनि ‘डाइनामिक्क प्रोभिजनिङ’ लागू गर्नु उचित देखिन्छ । यसले आर्थिक विपत्तीले निम्त्याउने बैंकिङ समस्यालाई टार्न मद्दत गर्दछ । 

नेपालमा अर्थतन्त्रमा आवश्यकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु रहेको कुरा आइएमएफ र वल्र्ड बैंकले समेत बताउँदै आएका छन् । यसलाई स्वयम् राष्ट्र बैंकले समेत स्विकारिसकेको छ । प्रतिस्पर्धात्मक जोखिमले निम्त्याउने कर्जा जोखिमलाई पनि ‘डाइनामिक्क प्रोभिजनिङ’ले न्यूनिकरण गर्न सहयोग गर्दछ । त्यसैले नेपाली अर्थतन्त्रको आकार, आवश्यकता र व्यावहारिकतालाई ध्यानमा राखी यस्तो ‘प्रोभिजनिङ’ को व्यवस्था गर्नु सान्दर्भिक देखिन्छ । यसले समग्र वित्तीय क्षेत्रको स्थिरतालाई पनि कायम राख्न मद्दत गर्नसक्छ । 

हाल नेपालको बैंकिङ क्षेत्रमा दुई किसिमको ‘प्रोभिजनिङ’ गर्ने व्यवस्था छ । पहिलो व्यवस्था सबै ऋणका लागि कूल ऋणको एक प्रतिशत र दोस्रो व्यवस्थामा कमसल, संकास्पद र खराब गरी वर्गिकरण गरिएको छ । यस्ता ऋणहरुमा क्रमशः २५, ५० र १०० प्रतिशत ‘प्रोभिजनिङ’ गर्ने प्रावधान छ । ३ महिनादेखि ६ महिनासम्म साँवा र व्याज नउठेका कर्जालाई कमसल, ६ महिनादेखि १ वर्षसम्म पनि सावा र व्याज नउठ्ने कर्जालाई शंकास्पद र एक वर्षभन्दा बढी भाखा नागेका कर्जाहरुलाई खराब कर्जाको कोटीमा राख्ने व्यवस्था छ । तर, यस्तो सामान्य कर्जा व्यवस्थाले मात्र वित्तीय क्षेत्रमा आउने चक्रीय प्रभावलाई थेग्न सक्दैन । त्यसैले पनि यस्तो अवस्थाको क्रमिक समाधानका निम्ति नेपालमा डाइनाकिक्स प्रोभिजनिङको अवश्यकताको महशुस गरिन थालिएको छ । यही कुराको बोध गरी आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीति तय गर्दा नेपालमा पनि डाइनामिक प्रोभिजनिङको व्यवस्था लागू गरिने कुराको उल्लेख गरिएको छ । जुन वित्तीय क्षेत्रको स्वस्थ्यका लागि एक सुखद व्यवस्था हो । 

तर, यसो भन्दैमा ‘डाइनामिक्क प्रोभिजनिङ’ नै सबै समस्याको समाधान भने होइन । तर, यो मौद्रिक नीतिको सहायक भने हुनसक्छ । त्यसो त वित्तीय नीतिको असफलताले पनि आर्थिक विचलन ल्याउन सक्छ, जसले बैंकिङ क्षेत्रमा नकरात्मक प्रभाव पार्दछ । यस्तो अवस्थामा केही मात्रामा भए पनि ‘डाइनामिक्क प्रोभिजनिङ’ले वित्तीय क्षेत्रमा ‘सुरक्षा कवज’ को काम गर्दछ । त्यसैले अब यसको लाभ–लागत विश्लेषण गरी नेपालको आर्थिक वातावरण अनुकुल हुने गरी ‘डाइनामिक प्रोभिजनिङ्’को व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

स्पेनिस मोडल, युके मोडल, पेरुभियन मोडल, भारतीय मोडल लगायतका विभिन्न मोडलमा ‘डाइनामिक प्रोभिजनिङ्’को व्यवस्था रहे पनि नेपाली माटो सुहाउँदो किसिमले यस्तो प्रोभिजनिङको अनुकरण गर्नु सान्दर्भिक ठहर्छ । नेपालको अर्थतन्त्र, यहाँको बैंकिङ क्षेत्रको स्वास्थस्थिति तथा अर्थतन्त्र र बैंकिङ क्षेत्रबीचको सह–सम्बन्धलाई यस्तो व्यवस्था लागू गर्दा विशेष ख्याल राख्नु जरुरी छ । (लेखक नेपाल बैंक लिमिटेड, बुर्तिबाङ शाखाका शाखा प्रबन्धक हुन् ।) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]