May 8th, 2018

चुक्तापुँजी नपुगेका छ वाणिज्य बैंकहरु

बैंकिङ खबर । तोकिएको समयावधि सकिसक्दा पनि आधा दर्जन वाणिज्य बैंकले अझै आठ अर्ब चुक्तापुँजी पुर्याएका छैनन् । नेपाल राष्ट्र बैंकले गत असार मसान्तभित्रमा नै आठ अर्ब चुक्तापुँजी पुर्याउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । पछि छ महिना समय थप गरी पुष मसान्तभित्रमा पुँजी पुर्याइसक्न भनिएको थियो । यद्यपि, थप गरिएको समय सकिएको तीन महिनासम्ममा पनि छ वटा बैंकले चुक्तापुँजी पुर्याएका छैनन् ।

बैंकहरुद्धारा सार्वजनिक तेस्रो त्रैमासिक विवरण अनुसार, मेगा बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, एनएमबि बैंक, कुमारी बैंक र एनसीसी बैंकले आठ अर्ब पुँजी पुर्याएका छैनन् ।  

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंकको चुक्तापुँजी सात अर्ब ३७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । पुँजी पुर्याउनका लागि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नौ दशमलव ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । बैंकको जगेडाकोषमा एक अर्ब ८१ करोड २१ लाख रुपैयाँ रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूको चुक्तापुँजी सात अर्ब सात करोड २८ लाख रुपैयाँ पुगिसकेको छ । बैंकले १३ दशमलव २५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ, जसलाई बैंकले तेस्रो त्रैमासिक विवरणको चुक्तापुँजीमा नै समेटेको छ । संस्थापकलाई विक्री गरेर एफपीओबाट आठ अर्ब चुक्तापुँजी पुग्ने बैंकले जनाएको छ । बैंकको जगेडाकोषमा चार अर्ब ४४ करोड ५ लाख रुपैयाँ रहेको छ ।

सिभिल बैंक लिमिटेड
चैत्र मसान्तमा सिभिल बैंकको चुक्तापुँजी छ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडाकोषमा एक अर्ब ९० करोड ८८ लाख रुपैयाँ रहेको छ ।

 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकको चुक्तापुँजी छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । बैंकले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपिओ निष्काशनका लागि गत जेठमा नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ जारी गर्ने स्वीकृति पाएमा बैंकको चुक्तापुँजी पुग्नेछ । बैंकको जगेडाकोषमा पाँच अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंकको चुक्तापुँजी गत चैत्र मसान्तको विवरण अनुसार पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ मात्रै रहेको छ । बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । हकप्रदपछि पनि नपुगेको पुँजी बोनस वितरण गरेर पुर्याउने बैंकको योजना छ । बैंकको जगेडाकोषमा दुई अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

एनसीसी बैंक लिमिटेड
एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ मात्रै छ । २८ वटा वाणिज्य बैंकहरुमध्ये, सबैभन्दा कम चुक्तापुँजी भएको बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रदपछि पनि बैंकको चुक्तापुँजी अपुग हुने देखिन्छ । बैंकको जगेडाकोषमा तीन अर्ब १२ करोड रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]