May 8th, 2018

कृषिप्रधान मुलुकको तीतो यथार्थ : अन्न आयातमा बर्षेनि बाहिरिन्छ ३९ अर्ब 

कृषिप्रधान मुलुक नेपालको खाद्यान्न उत्पादनमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । अन्नबाली तथा तरकारीजन्य वस्तुको खरीदमा नेपालको वर्षेनी अर्बाैँ रुपैयाँ विदेशमा जाने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादन हुने मुख्य अन्नबालीको आयातका लागि वर्षेनी ३९.०८ अर्ब खर्च हुने गरेको जानकारी दिइएको छ ।

 त्यस्तै नेपालले भारतबाट १७.९५ अर्ब बराबरको तरकारी आयात गर्ने गरेको पाइएको छ । फलफूलतर्फ १०.८३ अर्ब, माछा ८२.२९ करोड तथा मासु १०.१२ करोडको आयात हुने गरेको पाइएको छ । नेपालबाट विदेशमा अलैँची, चिया, अदुवा, कफी तथा अन्य मसलाजन्य वस्तु विदेशमा निर्यात हुने गरेको छ । यसरी निर्यात गरेर कृषि क्षेत्रबाट नेपालले ८.०३ अर्ब आम्दानी गर्ने गरेको छ । 

कार्यक्रममा नार्कका सञ्चार तथा प्रकाशन महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले युवा खाडीमा काम गर्न जाने प्रवृत्ति बढ्दै गएको र कृषिमा तिनको आकर्षण घट्दै गएको बताउँदै कृषि उत्पादन महिलाको सक्रियतामा मात्र केही मात्रामा जीवित रहेको बताए ।

परिषद्का पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा टेकबहादुर गुरुङले विदेशमा भाँडा माझेर धन कमाउने सपना बोक्नुभन्दा देशभित्र नै कृषि कर्म गरेर कृषि उत्पादनमा ध्यान दिन युवा वर्गलाई आह्वान गरे ।

मुलुकभर ६२ कृषि अनुसन्धान केन्द्र रहेको छ । चालु आर्थिक वर्षमा कृषि अनुसन्धानका लागि दुई अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ भने २५७ वैज्ञानिकसहित १८२३ कर्मचारीले सेवा दिँदै आएका छन् । नार्कले नार्क भिजन सन् २०११–२०३० तथा कृषि विकास रणनीति सन् २०१५–२०३५ पारित गरी देशमा कृषि क्षेत्रको दूरगामी विकास गर्ने रणनीति बनाएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]