May 5th, 2018

बैंकिङ पहुँच बाहिरका जनतालाई उद्यमी बनाउँदै सहकारी

राम खत्री/बैंकिङ खबर । पछिल्लो समय डोटीका दुर्गम गाउँ सहकारी मार्फत समुन्नत बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्थाको पहुँच न्युन रहेका ग्रामिण क्षेत्रमा सहकारीले सेवा प्रदान गरिरहेका छन् । करिब २०० सय सहकारी रहेको डोटीमा पुरुषका साथ साथै महिला तथा बालबालीका समेत आवद्ध छन् । सहकारीमा आवद्ध भएर व्यापार व्यवसाय तथा जिविको पार्जन गर्न सहज भएपछि सहकारीतर्फ सर्वसाधारणको आकर्षण बढ्दो छ । 

प्रत्येक घरधुरीका कम्तीमा एक जना सहकारीमा आवद्ध
तीन सय २४ घरधुरी रहेको डोटीको बोगटान गाउँपालिका वडा नम्बर ५ धिर्कामाडौंमा प्रत्येक घरधुरीका कम्तीमा एक जना सहकारीको सेयर सदस्य छन् । विस्तारै पुरुष मात्र नभएर चुलोचौकोमा सिमित महिला तथा बालबालिका समेत सहकारीतर्फ आकर्षित भएका छन् ।

धिर्कामाडौंमा रहेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामा अहिले करिब पाँच सय सेयर सदस्य आवद्ध भएका छन् । सहकारीमा नियमित सेयर सदस्यअन्तर्गत तीन सय ५६ जना र बाल बचतअन्तर्गत एक सय ३८ जना बालबालिका आवद्ध भएको सहकारीले जनाएको छ । साविकको धिर्कामाडौं गाविसमा जम्मा तीन सय २४ घरधुरी रहेका छन् ।

वि.स २०६९ असोज १२ गते दर्ता भएको सहकारी संस्थाको पुजी १८ लाखभन्दा बढी पुगेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर बोहराले बताए । सहकारीमा आवद्ध ७५ जना भन्दा बढी सदस्यले ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । सहकारी सदस्यको कर्जा दुरुपयोग नहोस भन्नका लागि अनुगमन समिति गठन समेत गरिएको छ । 

केदारेश्वर जस्तै डोटीका अन्य स्थानमा समेत सहकारी संस्था सक्रिय भएका छन । डा.केआई सिंह गाउँपालिका– २ तिखात्तरमा रहेको सन्तोषी महिला बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा एक सय १० जना बालबालिका सेयर सदस्य छन् । यसैगरी वडा नम्बर ३ बासुदेवीमा रहेको गोदावरी बचत तथा ऋण सहकारी संस्थामा चार सय ६३ सेयर सदस्य छन् । सहकारीमा बचत गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको गोदावरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडक सिंह कुँवरले बताए ।

दुई सहकारीमा १४८ बालबालिका आवद्ध
सहकारीप्रति डोटीमा बालबालिका समेत आकर्षित भएका छन् । आफूहरूको भविष्य सुरक्षित देखेर सहकारी संस्थामा उनीहरूको आकर्षण बढेको हो । केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामा एक सय ३८ जना बालबालिका बाल बचतमा लागेका छन् । यसैगरी डा.केआई सिंह गाउँपालिका– २ तिखात्तरमा रहेको सन्तोषी महिला बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा एक सय १० जना बालबालिका आवद्ध भएका छन् । यसरी दुई सहकारीमा मात्रै १४८ बालबालिका आवद्ध छन् । 

सहकारीको क्रृणले ५ गुणा बढी आम्दानी
उदय बोहरा, केदारेश्वर बचत तथा ऋण सहकारी संस्था
सहकारीबाट एक लाख ऋण लिएर बाख्रापालन गरेँ । अहिले करिब पाँच लाख बराबरको बाख्रा भइसकेका छन् । सहकारी मार्फत बाख्रा पालन गरेपछि विगतको अभाव पनि टर्दै गएको छ । सानो तिनो व्यापार व्यवसाय गर्ने आँट पनि आएको छ । 

अधिकांश सहकारी संस्थाको अवस्था उत्साहजनक
जयराज भट्ट, निमित्त कार्यालय प्रमुख, डिभिजन सहकारी कार्यालय, डोटी 
डोटीमा करिब दुई सयको हाराहारीमा सहकारी संस्थाहरु छन् । अघिकांश सहकारी संस्थाको अवस्था एकदमै उत्साहजनक छ । विकट क्षेत्रमा सहकारीले सर्वसाधारणलाई सेवा प्रदान गरिरहेका छन् । सहकारीतर्फ अहिले पुरुष मात्र नभएर महिला तथा बालबालिकाको आकर्षण पनि बढ्दो छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]