April 30th, 2018

जीवन बीमा कम्पनीेको बीमाशुल्क आर्जन : वैदेशिक रोजगार बीमाबाट १.८८ अर्ब

मिलन विश्वकर्मा । चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमाबाट रू. १ अर्ब ८८ करोड प्रिमियम सङ्कलन गरेका छन् । बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार फागुनसम्ममा १८ लाख २६ हजार ९८ जनाले वैदेशिक रोजगार बीमा गरेका छन् ।

फागुनमा मात्र ७३ हजार ८ सय ८ जनाले वैदेशिक रोजगार बीमा गरेको समितिले जानकरी दिएको छ । रोजगारका लागि विदेश जाने व्यक्तिले अनिवार्य रूपमा यो बीमा गर्नुपर्ने हुन्छ । यसकारण सङ्ख्यात्मक हिसाबमा अन्य जीवन बीमाभन्दा यसमा मानिसको सङ्ख्या बढी भएको समितिको भनाइ छ ।

कम्पनीहरूले माघ मसान्तसम्ममा वैदेशिक रोजगार बीमाबाट १ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेका थिए । जसको तुलनामा अहिलेको प्रिमियम १५ दशमलव ०७ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार वैदेशिक रोजगार बीमाबाट प्राप्त हुने बीमाशुल्क वृद्धिदर घट्दै गएको देखिन्छ । समय परिस्थितिअनुसार वैदेशिक रोजगार बीमामा थपघट भइरहने समितिले बताएको छ । दशैं तिहारपश्चात् वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढी हुनाले उक्त समयमा बीमा गर्नेको सङ्ख्या पनि बढी हुने गरेको समितिको भनाइ छ ।

यस्तै, फागुन मसान्तसम्ममा अन्य जीवन बीमाबाट २६ अर्ब १९ करोड ३० लाख बीमाशुल्क आर्जन भएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार माघ महीनासम्ममा अन्य जीवन बीमाबाट २२ अर्ब ७४ करोड ९५ लाख बीमाशुल्क आर्जन भएको थियो । सो को तुलनामा फागुनसम्मको बीमाशुल्क १५ दशमलव १३ प्रतिशत विन्दुले बढी हो ।

समग्रमा चालू आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७ करोड ३४ लाख बीमाशुल्क आर्जन गरेका छन् । माघ मसान्तसम्म कम्पनीहरूले २४ अर्ब ३८ करोड ३६ लाख बीमाशुल्क आर्जन गरेका थिए । सोको तुलनामा फागुनसम्मको बीमाशुल्क १५ दशमलव १३ प्रतिशत विन्दुले बढी हो ।

वैदेशिक रोजगारका क्रममा कुनै पनि कारणवश हुने मृत्युलाई यस बीमा योजनाले रक्षावरण गर्छ । यदि बीमा अवधिभित्र बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमाङ्क र बोनस रकम प्राप्त गर्न सक्छन् । यस बीमा योजनामा बीमा अवधिभित्र बीमितको मृत्यु भएन भने कुनै पनि रकम फिर्ता हुँदैन । म्यादी जीवन बीमाअन्तर्गत वैदेशिक रोजगार बीमा गर्ने गरिन्छ ।

पछिल्लो समयमा रोजगारीका लागि विदेशमा बस्ने नेपालीको मृत्यु बढी मात्रामा हुने गरेको पाइन्छ । वैदेशिक रोजगार बीमाबाट प्राप्त बीमाङ्क र बोनस रकमले सम्बन्धित परिवारलाई राहत हुने गरेको बीमा समितिको भनाइ छ । आर्थिक अभियानमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]