fbpx

राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव : असारभित्रै सबै स्थानीय तहमा बैंक पुर्याउने योजना

April 27, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालले आगामी असार मसान्तभित्र नै सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसक्ने बताएका छन् । राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले हालसम्म संघीय संरचनाअनुसारका ७५३ स्थानीय तहमध्ये ३९४ वटामा वाणिज्य बैंकहरुको उपस्थिती रहेको र बाँकी स्थानीय तहमा चालू आर्थिक वर्षभित्रै शाखा पुर्याउने योजना रहेको बताए । सोही समारोहमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकको निर्देशनबमोजिम सबै स्थानीय तहमा शाखा संचालन गर्न सबै वाणिज्य बैंकहरु लागी परेको दाबी गरे ।

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. नपालले राष्ट्र बैंकको ६३औं बार्षिकोत्सवको अवसरमा दिएको मन्तब्य यहाँ प्रस्तुत गरिन्छ :

१. नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकका उद्देश्यहरु प्राप्तिका लागि आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने यस बैंकको सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यस बैंकको कार्य सम्पादनमा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय लगायत अन्य निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, सञ्चार माध्यम तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

आर्थिक रुपान्तरणको अवसर
२. आर्थिक वर्ष २०७४।७५ आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्ने वर्षको रुपमा रहेको छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहका लागि सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात् तीनै तहहरुमा सरकार निर्माण भएका छन् । अव मुलुक आर्थिक समृद्धिको बाटोमा मोडिएको छ । सुशासनको सुनिश्चितता, आन्तरिक तथा वाह्य लगानीमा हुने बढोत्तरी र सरकारको पूँजीगत खर्च वृद्धिसँगै दीगो विकासको आधार तयार हुने अवसर मुलुकले प्राप्त गरेको छ ।

नीतिगत प्रयास
३. आर्थिक वर्ष २०७२।७३ को मौद्रिक नीतिमार्फत् घोषणा गरिएको बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि योजनाले सार्थकता पाएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार सुदृढ भएको छ भने मर्जर तथा अक्विजीसनले तीब्रता पाएको छ । र, वित्तीय समावेशिता बढेकोछ ।

४. आर्थिक वर्ष २०७४ देखि लागू गरिएको ब्याजदर करिडोर पद्धतिलाई आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिमार्फत् परिमार्जन गरी मौद्रिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने कार्य भएको छ । ब्याजदर करिडोरमा गरिएको सुधारसँगै अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको परिधिभित्रै राखिएको छ ।

५. कृषिमा व्यावसायीकरण बढाउन लागू गरिएको ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्य्विधि, २०७३’ लाई अझ प्रभावकारी बनाउन आवश्यक संशोधन गरिएको छ भने उत्पादनशील क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रमा पुनः परिभाषित गरिएको छ । बैंकहरुले प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम सीमा २५ प्रतिशत कायम गरिएको छ ।

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह बढोस् र सट्टेबाजी क्रियाकलापमा वित्तीय साधन केन्द्रित नहोस् भन्ने उद्देश्यले रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात काठमाडौं उपत्यकाका लागि ५० प्रतिशतबाट बढीमा ४० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

६. उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह बढोस् र सट्टेबाजी क्रियाकलापमा वित्तीय साधन केन्द्रित नहोस् भन्ने उद्देश्यले रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात काठमाडौं उपत्यकाका लागि ५० प्रतिशतबाट बढीमा ४० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा बढीमा आफ्नो प्राथमिक पुँजी बराबरको रकमसम्म प्रवाह गर्न पाउने व्यवस्थालाई प्राथमिक पुँजीको ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने तथा एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था लागू गरिएको छ ।

७. यस बैंकको रु. १० अर्ब ८४ करोडको पुनरकर्जा सुविधाको सीमालाई वृद्धि गरी बैंकको मुनाफा र नेपाल सरकारको पुनरुद्धार कोषको रकम सहित पुनरकर्जा कोषको रकम रु. २५ अर्ब पु¥याउने व्यवस्था मिलाइएको छ । यस व्यवस्थाले रणनीतिक महत्वका प्राथमिकता प्राप्त क्षेत्रमा सहुलियतपूर्ण बैंक कर्जा प्रवाहमा थप टेवा पुगेको छ ।

कानूनी तथा नियामकीय सुधार
८. देशमा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास, सोसँग सम्बन्धित कार्यको नियमन, सुपरिवेक्षण र निगरानी गर्ने उद्देश्यले तयार गरिएको ‘भुक्तानी तथा फछ्र्यौट ऐन, २०७४’ को मस्यौदा नेपाल सरकार समक्ष पेश गरिएको छ ।

९. वित्तीय क्षेत्र विकास रणनीतिमा उल्लेख भएका यस बैंकसँग सम्बन्धित कार्यक्रमहरु चरणबद्ध रुपमा कार्यान्वयनमा ल्याइने व्यवस्था मिलाइएको छ ।

१०. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएकोकानूनी प्रावधान अनुरुप ‘बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४’ लागू गरिएको छ । साथै, ‘पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीतिगत व्यवस्था, २०७४’ लागू हुनुका साथै बैंक स्थापनाको प्रकृया अगाडि बढेको छ ।

११. यस बैंकले समस्याग्रस्त घोषणा गरेको १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये १० वटा संस्थाहरु खारेजी, संस्था सुधार, एक्विजिसन आदि विधिमार्फत् रिजोलुसनमा गइसकेका छन् भने बाँकी ६ वटा समस्याग्रस्त सूचीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गरिनुका साथै आवश्यकता अनुसार संस्थाको संचालक समिति र नयाँ लगानीकर्ताहरुसँग छलफल गरी संस्था सुधार गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

समष्टिगत आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र
१२. आर्थिक वर्ष २०७४/७५ मा ५.९ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले भर्खरै प्रकाशित गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, उद्योग क्षेत्रको ८.८ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरेको छ । विद्युत आपूर्तिमा सुधार, औद्योगिक उत्पादनमा विस्तार र पुनर्निर्माण कार्यले गति लिएकोले यो स्तरको आर्थिक वृद्धि संभव भएको हो ।

१३. आन्तरिक तथा वाह्य कारणले गर्दा मुद्रास्फीति वेलावखत केही दवावमा पर्ने गरेको छ । यस क्रममा २०७४ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ६.० प्रतिशत पुगेकोमा २०७४ चैत्रमा ५.३ प्रतिशतमा झरेको छ । २०७३ चैत्रमा वार्षिक वार्षिक विन्दुगत मुद्रास्फीतिदर ३.८ प्रतिशत रहेको थियो ।

सरकारी वित्त स्थिति
१४. २०७५ वैशाख ७ गतेसम्ममा नगद प्रवाहमा आधारित सरकारी बजेट रु. १२५ अर्ब ५६ करोडले घाटामा रहेको छ । २०७५ वैशाख ७ गतेसम्ममा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.८ प्रतिशतले वृद्धि भई रु. ६६६ अर्ब ३१ करोड पुगेको छ । यस अवधिमा चालू खर्च रु.४६५ अर्ब ३० करोड अर्थात् बजेट अनुमानको ६३.२ प्रतिशत र पूँजीगत खर्च रु. ११४ अर्ब १६ करोड अर्थात् बजेट अनुमानको ३४.७ प्रतिशत भएको छ । २०७५ वैशाख ७ गतेसम्ममा नेपाल सरकारको राजस्व परिचालन २०.८ प्रतिशतले वृद्धि भई रु. ५१५ अर्ब २ करोड पुगेको छ भने राष्ट्र बैंकसँग सरकारी नगद मौज्दात रु. २७७ अर्ब ४७ करोड रहेको छ ।

वैदेशिक व्यापार तथा शोधनान्तर स्थिति
१५. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु. ५३ अर्ब ४२ करोड पुगेको छ भने कुल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु. ७६७ अर्ब ३६ करोड पुगेको छ । फलस्वरुप, कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले विस्तार भई रु. ७१३ अर्ब ९३ करोड पुगेको छ ।

१६. आयातमा भएको उल्लेख्य वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता रु. १५३ अर्ब ९६ करोडले र शोधनान्तर स्थिति रु. २४ अर्ब ७३ करोडले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २०७४ फागुन मसान्तमा रु. १०४९ अर्ब २२ करोड रहेको छ, जुन ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मौद्रिक स्थिति, तरलता व्यवस्थापन र ब्याजदर
१७. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्ममा वार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ ।

१८. आर्थिक वर्ष २०७४/७५ को नौ महिनासम्ममा यस बैंकले पटक–पटक गरी रु. १३० अर्ब २५ करोड तरलता प्रशोचन गरेको छ भने रु. ९८ अर्ब ९१ करोड तरलता प्रवाह गरेको छ ।

१९. २०७४ चैतमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.९८ प्रतिशत रहेको छ भने वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ४.१२ प्रतिशत रहेको छ ।

२०. २०७४ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.४५ प्रतिशत रहेको छ ।

वित्तीय पहुँच एवम् प्राथमिकता प्राप्त क्षेत्र कर्जा
२१. २०७४ चैत मसान्तमा “क” वर्गका २८, “ख” वर्गका ३६, “ग” वर्गका २५ र “घ” वर्गका ६४ गरी बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या १५३ रहेको छ भने कुल शाखा संख्या ५ हजार ८४८ पुगेको छ । संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कुल ७५३ स्थानीय तहमध्ये ३९४ मा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ भने बाँकी तहमा यसै आर्थिक वर्ष्भित्र शाखा स्थापना हुने योजना छ ।

२२. आर्थिक वर्ष २०७४।७५ को नौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुलाई रु. १३ अर्ब ५५ करोड पुनरकर्जा प्रवाह भएको छ । साथै, तोकिएका कृषि व्यवसायहरुमा ब्याज अनुदान सहितको कर्जा २०७४ पुस मसान्तसम्ममा रु. ६ अर्ब ६१ करोड प्रवाह भएको छ । वाणिज्य बैंकहरुले तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो लगानीमा रहेको कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७४ फागुन मसान्तसम्ममा सो अनुपात २३.२ प्रतिशत पुगेको छ ।

लघुवित्त तथा ग्रामीण वित्तीय सेवा
२३. यस बैकले कृषि विकास, ग्रामीण वित्त, लघुउद्यम जस्ता उपाय मार्फत् गरिबी न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसै सिलसिलामा बैंकले अन्तर्रा्ष्ट्रिय संस्थाहरु CICTAB, APRACA Alliance for Financial Inclusion –AFI) र (Child and Youth Finance International –CYFI) मा आवद्ध भई कार्यक्रम गर्दै आएको छ । त्यसैगरी, World Bank, ADB, UNDP, UNCDF, UNICEF, Save the Children, Danida, DFID, KFW लगायतका विभिन्न दातृ निकायहरुको सहयोगमा वित्तीय पहुच, वित्तीय साक्षरता, वित्तीय समावेशीकरण, ग्रामीण वित्त, लघुवित्त आदि क्षेत्रको विकासका लागि विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन भइरहेका छन् ।

२४. राष्ट्रिय स्तरको वित्तीय साक्षरता रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अनुरुप वित्तीय साक्षरता रणनीतिको मस्यौदा तयार पारी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गरिएको छ ।

वित्तीय क्षेत्र सुधार, नियमन तथा सुपरिवेक्षण
२५. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ मा भएको व्यवस्था बमोजिम यस बैंकले विभिन्न संस्थाहरुको शेयरमा गरेको लगानी विनिवेश गर्ने कार्य अगाडि बढाइएको छ ।

२६. नेपालको विद्यमान लेखामानलाई अन्तर्राष्ट्रिय लेखामानको स्तरमा लैजान विकास गरिएको Nepal Financial Reporting Standard (NFRS) अनुसार आर्थिक वर्ष २०७४।७५ देखि वित्तीय विवरण तयार गर्नुपर्ने गरी नीतिगत व्यवस्था गरिएको छ ।

२७. वित्तीय पहुँच र वित्तीय सेवाको उपयोग अध्ययन गर्न तयार गरिएको भ(ःबउउष्लन सम्बन्धी विवरण वेभसाइट मार्फत् सर्वसाधारणले समेत प्रयोग गर्न सक्ने बनाइएको छ ।

२८. मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि २०७४ चैत मसान्तसम्म “क”, “ख”, “ग”, र “घ” वर्गका गरी १५८ वटा संस्थाहरु एक आपसमा गाभिएर ४० वटा संस्था बन्न पुगेका छन् ।

२९. सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नयाँ निर्देशन जारी गरिएको छ ।

३०. सुपरिवेक्षकीय स्रोत÷साधनको समुचित उपयोगको लागि वाणिज्य बैंकहरुको रिस्क प्रोफाइलको आधारमा समष्टिगत निरीक्षण कार्य भईरहको छ भने Supervisory Information System (SIS) निर्माण गर्ने कार्य अगाडि बढाइएको छ ।

भुक्तानी प्रणाली
३१. भुक्तानी सेवा प्रदायकको कार्य गर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई कार्ड सेवा इन्टरनेट बैकिङ्ग, एसएमएस बैकिङ्ग, मोबाइल बैकिङ्ग, आदि सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ ।

३२. हालसम्म भुक्तानी सेवा प्रदायकरसंचालकको कार्य गर्ने प्रयोजनका लागि ५ वटा संस्थारसंयन्त्रलाई अनुमति प्रदान गरिएको छ भने भुक्तानी सम्बन्धी कार्य गर्ने प्रयोजनका लागि १६ वटा संस्थारसंयन्त्रलाई आशयपत्र प्रदान गरिएको छ ।

३३. विद्युतीय भुक्तानीलाई सुरक्षित, विश्वसनीय एवम् व्यावहारिक बनाउन बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा लगायतका विद्युतीय माध्यमबाट गरिने कारोबारको मापदण्ड, प्रक्रिया र सीमाका सम्बन्धमा निर्देशन जारी गरिएको छ ।

विदेशी विनिमय व्यवस्थापन
३४. विदेशी विनिमय व्यवस्थापन गर्ने ऐन तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गरिएको छ ।

३५. विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको परिपत्रको संगालो “एकीकृत परिपत्र–२०७४” तयार गरी लागू गरिएको छ ।

३६. नेपाली नागरिक, फर्म तथा संस्थाहरुले यस बैंकको पूर्व स्वीकृति लिई विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर–आवासीय नेपाली वा संघ संस्थाबाट अमेरिकी डलर ५ लाखसम्म र भारतको हकमा ५ करोड भारतीय रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

३७. इजाजतप्राप्त बैंकहरुले आपूmसंँग भएको विदेशी मुद्रा विदेश स्थित बैंकमा लगानी गर्दा पूर्ण तरल सरकारी सुरक्षणपत्रमा ५ वर्षसम्मका लागि लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

३८. वणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

मुद्रा व्यवस्थापन
३९. आर्थिक गतिविधिको विस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भईरहेको परिप्रेक्ष्यमा यस बैंकले कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको छ । २०७४ चैत मसान्तसम्ममा चलनचल्तिमा रहेको नोट रु. ४ खर्ब ७४ अर्ब ९५ करोड पुगेको छ भने ७७ वटा नोटकोषहरुमा रु. ५२ अर्ब रकम मौज्दात रहेको छ ।

४०. आवश्यकता अनुसार सहज रुपमा मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनको लागि कम्तीमा ३.२५ वर्षका लागि धान्ने नोटको स्टक राख्ने नीतिगत व्यवस्था अनुसार २०७४ वैशाखदेखि २०७४ चैत मसान्तसम्ममा विभिन्न दरका रु. १ खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको छ ।

जनशक्ति व्यवस्थापन
४१. बैंकमा मानव संसाधनको व्यवस्थापन गर्न जनशक्ति योजना तयार गरी कर्मचारी भर्ना, तालिम, विकास, सरुवा, बढुवा, अवकाश लगायतका कार्यहरू नियमित रूपमा सम्पन्न गरिएका छन् । २०७४ फागुन मसान्तसम्म बैंकमा कार्यरत १०७३ कर्मचारीहरुमध्ये अधिकृत स्तरका ६२७, सहायक स्तरका ३०९ र श्रेणीविहिन कार्यालय सहयोगी स्तरका १३७ कर्मचारीहरू रहेका छन्।

४२. खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने प्रक्रिया अन्तर्गत विभिन्न पदमा १५१ जना नयाँ भर्ना गर्न अनलाइनबाट आवेदन माग गरी प्रक्रिया अगाडि बढाइएको छ ।

४३. लोक सेवा आयोगले जारी गरेको संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४ को व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ तेस्रो पटक संशोधन गरी कार्यान्वयनमा आएको छ ।

अध्ययन/अनुसन्धान/तालिम/विश्लेषण
४४. नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटमार्फत् महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका विभिन्न सरकारी वकील कार्यालय, राजश्व अनुसन्धान विभाग अन्र्तगतका कार्यालयहरु र नेपाल प्रहरीको अपराध अनुसन्धानका प्रतिनिधिहरु बीच बैंकिङ्ग प्रक्रिया तथा बैंकिङ्ग कानूनसँग सम्बन्धित तालिम सम्पन्न भएको छ ।

४५. बैंकको अनुसन्धानमूलक जर्नल इकोनोमिक रिभ्यु को Volume 29-II / Volume 30-I प्रकाशित गरिएको छ भने वर्किङ पेपर्स अन्तर्गत २०७४ वैशाखदेखि २०७५ चैतसम्म ७ वटा अनुसन्धानात्मक पेपरहरु वेवसाइटमा राखिएका छन् । नेपाल राष्ट्र बैंकको ६० औं वर्षगाठको उपलक्ष्यमा एनआरबी इन ६० इयर्स र यसको सप्लिमेन्टको रुपमा रिफ्लेक्सन अफ फर्मर गभर्नर्स प्रकाशित गरिएको छ ।

४६. अध्ययन अनुसन्धानतर्फ Potential Output and Outgap Estimates of Nepal, Macro-modelling Practices at Nepal Rastra Bank, प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण, निशुल्क भिसा तथा टिकट प्रावधानको वैदेशिक रोजगारीमा प्रभाव लगायतका अध्ययनहरु सम्पन्न भइसकेका छन् भने मुलुकको संघीय संरचनाको स्वरुपमा लघुवित्त सेवाको पहुँच तथा संरचना, छाँया बैंकिङ्क, बैंकिङ्ग विजनेश मोडल एवम्वित्तीय प्रविधिको प्रयोग जस्ता विषयमा गरिएका अध्ययनहरु सम्पन्न हुनेचरणमा रहेका छन् । साथै, नीति निर्माण कार्यमा सहयोग पुगोस् भनेर जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय अवस्था समेटिएको ७ वटा प्रदेशको प्रोफाइल तयार गरिएको छ ।

४७. थोक मुद्रास्फीतिको गणनालाई थप यथार्थपरक बनाउन संचालनमा रहेको दोस्रो थोक मूल्य सर्वेक्षण आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय सम्बन्ध
४८. आपसी हितका विभिन्न विषयमा समन्वय र सहयोग पुर्याउन यस बैंक र भारतीय रिजर्व बैंकका अधिकारीहरु संलग्न Technical Coordination Committee (JTCC) को दास्रो बैठक जुन ११, २०१७ मा काठमाडौंमा सम्पन्न भएको छ ।

४९. यस बैंकको निमन्त्रणमा पाल्नुभएका अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका Deputy Managing Director Mr. Tao Zhang को सन् २०१७ नोभेम्बर ३ देखि ६ सम्म चार दिने उच्चस्तरीय नेपाल भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

५०. Macro-prudential Policies in SAARC Countries विषयमा सार्कफाइनान्स सेमिनार जुन ८–९, २०१७ मा र Monetary Policy Strategies and Monetary Operations अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म काठमाण्डौंमा सम्पन्न गरिएको छ ।

५१. बैंक अफ कोरीयाको सहयोगमा Bank of Korea Knowledge Partnership Program (BOK-KPP)अन्तर्गत सन् २०१७ मा Development of a Macroeconomic Model for Economic Forecasting विषयमा अध्ययन सम्पन्न गरिएको छ ।

अन्त्यमा,
५२. स्थानीय तह, प्रदेश सभा र संघीय संसदका निर्वाचनहरु सम्पन्न भएपश्चात् मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । यस सँगसँगै ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको छ ।

५३. यस पृष्ठभूमिमा वित्तीय साधनको विवेकपूर्ण उपयोगलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि र स्थायित्वमा योगदान पुर्याउन नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ । वित्तीय क्षेत्रका स्रोत साधन दीगो विकासलाई टेवा पुर्याउने क्षेत्रतर्फ निर्दे्शित गर्ने, वित्तीय उपकरण एवम् पूर्वाधारहरुको समयसापेक्ष विकास गर्ने र वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ यो बैंक प्रयासरत छ । वित्तीय क्षेत्रको स्रोत साधनको विवेकपूर्ण उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्नेयस बैंकको प्रयासमा सहयोग पुर्याउन सम्बन्धित सबैमा यो बैंक हार्दिक अनुरोध गर्दछ ।

५४. विभिन्न प्रतिकूल अवस्थामा पनि विचलित नभई बैंकको कार्यमा दत्तचित्त भई कार्य गर्ने सबै कर्मचारीहरु धन्यवादका पात्र हुनुहुन्छ । वार्षिकोत्सवको यस गरिमामय अवसरमा बैंकका सम्पूर्ण कर्मचारी र अन्य सम्बद्ध सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै यस बैंकले लिएका उद्देश्य प्राप्तिमा आगामी दिनमा अझ क्रियाशील हुँदै बैंकको गरिमा उच्च राख्ने गरी बैंकको तर्फबाट सेवा प्रदान गर्न÷गराउन सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गर्दछु ।

५५. वार्षिकोत्सवको अवसरमा २० बर्षे सेवा उपहारबाट सुशोभित हुनुहुने कर्मचारी मित्रहरुलाई बधाई ज्ञापन गर्दै वहाँहरुको बैंकप्रतिको समर्पणको सम्मान गर्दछु । आफ्नो सेवा पुरा गरी हालसालै निवृत्त हुनु भएका सम्पूर्ण महानुभावहरुलाई यस बैंकमा पु¥याउनु भएको योगदानका लागि धन्यवाद दिंदै वहाँहरुको निवृत्त जीवन सुखमय होस भन्ने कामना गर्दछु । त्यसैगरी, बैंकको ६३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विविध खेलकूद, आर्थिक लेख, चित्रकला लगायतका विभन्न प्रतियोगिताका विजेताहरुलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछु ।

५६. यस बैंकको कामकारबाहीमा निरन्तर सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, निजी क्षेत्रका संघ संस्थाहरू, सञ्चार क्षेत्र, प्रवुद्ध वर्ग, दातृ निकाय लगायतका अन्तर्रा्ष्ट्रिय संघ संस्थाहरू र सर्वसाधारण सबैमा यस अवसरमा म धन्यवाद ज्ञापन गर्दछु र आगामी दिनमा पनि सम्बद्ध सबैबाट बैंकलाई निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.