May 15th, 2016

ट्रेजरी विल र रिपोबाट रकम खिच्दै राष्ट्र बैंक

nepal-rastra-bank photoमूल्यस्थिरता कायम गर्नका लागि केन्द्रीय बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । राष्ट्र बैंकले जेठ ५ गते रिभर्स रिपो गर्ने र जेठ ३ गते ट्रेजरी बिल विक्री गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको हो । लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले यस्तो गर्ने गर्दछ । बुधबारदेखि रिभर्स रिपो जारी गरेको बैंकले ७ दिनको अवधिमा १० अर्ब रुपैंया खिच्ने जनाएको छ । 

अहिले निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेको अवस्थामा रिभर्स रिपोले बजारमा मुद्रा प्रवाह नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाहरू बताउँछन् । अहिले बैङ्कहरूमा तरलतासँगै पर्याप्त सञ्चिति र पूँजीकोष पनि रहेकाले अहिले रिभर्स रिपोका लागि उपयुक्त समय देखिन्छ । यसले निक्षेप र कर्जामा ब्याजदर धेरै घट्नबाट रोक्छ भने मूल्यवृद्धि पनि नियन्त्रण हुन्छ । 

रिभर्स रिपो मुद्रा बजारमा स्थायित्व कायम गर्ने (मुद्रा प्रवाह नियन्त्रण गर्ने) एक मौद्रिक उपकरण हो । बैङ्कहरूसँग रहेको ट्रेजरी बिल राष्ट्र बैङ्कले खरीद गरेको अवस्थालाई रिपो भनिन्छ । यस्तै, यसरी राष्ट्र बैङ्कमा पुगेको ट्रेजरी बिल बैङ्कहरूलाई पुनः विक्री गर्ने प्रक्रियालाई रिभर्स रिपो भनिन्छ ।

त्यसैगरी, राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि ट्रेजरी विल पनि विक्री गर्ने जनाएको छ । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि २ सय ७७ करोड र १ सय ८२ दिनेका लागि १ सय २८ करोड निर्धारण गरेको छ । 

बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रिय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय सस्थाले केन्द्रिय बैंकलाई तरलता बिक्रि गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]