April 25th, 2018

प्रदेश नं. ७ मा वित्तीय पहुँच विस्तारको आवश्यकता

तीन जिल्ले विकास बैंकको दायरा सिमित छ । तीन वटा जिल्लाभित्र मात्रै काम गर्न पाउने भएकोले केहि बाध्यताहरु पनि छन् । जिल्लाभन्दा बाहिरका ग्राहकलाई आकर्षित गर्न असहज छ भने ठुलोे नेटवर्कमा सेवा प्रभाव गर्न असहज छ । यसै बीच कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला कार्यक्षेत्र भएको कञ्चन डेभलपमेन्ट बैंकका सीईओ विरुराम जैशीसँग बैंकिङ खबर डट कमका लागि राम खत्रीले गरेको कुराकानीको सम्पादित अंश  यहाँ प्रस्तुत गरिन्छ :

कञ्चन डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ ?
हामीसँग तीन अर्ब ४३ करोड रुपैयाँ निक्षेप छ भने तीन अर्ब चार करोड रुपैयाँको लगानी छ । १४ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टरबाट कैलाली, कञ्चनपुर र डडेल्धुरामा सेवा दिइरहेका छौँ । विभिन्न रेमिट्यान्स सेवा सञ्चालन गरिराखेका छौँ । वित्तीय अवस्था हेर्दा सिडी रेसियोमा कम्फर्टेभल स्थितीमा छौँ । लोकल लेभलमा हुनुपर्ने सक्षमता हामीसँग छ । अहिलेसम्मको पोर्टफोलियोको टे«ण्ड हेर्दा हामी २५ देखि ३० प्रतिशतको ग्रोथमा देखिएका छौँ । 

तीन जिल्ले विकास बैंकलाई काम गर्न कत्तिको सहज अवस्था छ ?
तीन जिल्ले संगठन भएकोले हाम्रो दायरा सिमित छ । तीन वटा जिल्लाभित्र मात्रै हामीले काम गर्न पाउँछौँ । त्यसैले केहि बाध्यताहरु त छन् । नेपाल अधिराज्यभर नै नेटवर्क भएका ठूला क्लायन्टलाई सेवा दिन अलिकति गाह्रो हुने गरेको छ । अन्यथा, सानो व्यवसायी, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा नै सेवा प्रवाह गर्न हामीलाई खासै अप्ठ्यारो स्थिती छैन । 

तीन जिल्ले विकास बैंकमा लगानीयोग्य पुँजी अभावको समस्या छ कि छैन ?
सिडि रेसियोमा हामी कन्फरटेवल पोजिसनमा भएकोले हामीलाई लगानीको चाहिँ कुनै समस्या छैन । अहिले राष्ट्र बैंकले तोकेको पुँजीभन्दा हामी कन्फरटेवल पोजिसनमा बसेको हुनाले हामीले लगानी गरिरहेका छौँ । हामीलाई पुँजीको अभाव छैन  ।

साना विकास बैंकहरुलाई ठुला बैंकसँग प्रतिष्पर्धा गर्न कत्तिको अप्ठ्यारो अवस्था छ ?
ठूलो बैंकसँग प्रतिष्पर्धा गर्न केहि अप्ठ्यारो त हुन्छ नै । अहिले नेपाल राष्ट्र बैंकले सबै गाउँपालीकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्नुपर्ने भनेको छ । पहिले बैंक तथा वित्तीय संस्थाको बैंकिङ पहुँच पुग्ने भएकोले जसरी हामी गाउँ गाउँमा बैंकिङ गरिरहेका थियौँ, त्यसरी नै अब वाणिज्य बैंक पनि आउँदै छन् । त्यसले गर्दा प्रतिष्पर्धा बढ्ने भयो । प्रतिष्पर्धा गर्दा पहिले हामीले कभर गरिरहेका क्षेत्रहरुको केहि भागहरु त पक्कै पनि खोसिन्छ । त्यो हिसाबले केहि गाह्रोपन हो तर त्योसँगै राज्यले गर्ने  आर्थिक गतिविधि बढे र चलायमान भए भने मलाइ लाग्छ । त्यसैले, त्यति असहज चाहिँ नहोला ।

कञ्चन डेभलपमेन्ट बैंकको  आगामी योजना के छ ? तीन जिल्लेमै रहने कि मर्जरमा जाने सोच्नुभएको छ ?
राष्ट्र बैंकले तोकेको पुँजी हामीले पुर्याइसकेकोले अहिले हामीले मर्जमा जाने कुरा सोेचेको छैनौँ । अर्को कुरो के भने भर्खरै राष्ट्र बैँकले तीन जिल्ला कार्यक्षेत्र भएका र आवश्यक पुँजी पुगेका बैंकलाई ५ जिल्लामा जान दिने जनाएको छ । त्यसैले अब हामी तीन जिल्लाबाट ५ जिल्लामा जान्छौँ । त्यसले गर्दा हाम्रो अझ व्यापार विस्तार हुन्छ । तत्कालै मर्जरमा जाने हामीले कुनै सोच बनाएका छैनौँ । किन भने हामी प्रदेश नम्बर सातभित्रै ग्रोइङ्ग गर्नुपर्छ र यस क्षेत्रको आर्थिक विकासका गतिविधिमा योगदान पुर्याउनुपर्छ भनेर लगानीकर्ता र सञ्जालहरुसँग काम गरिरहेकोले मर्जमा जाने अहिले हामीले सोचेका छैनौँ ।

कञ्चन डेभलपमेन्ट बैंकका शाखा कहाँकहाँ छन् ? अब कहाँकहाँ विस्तार हुँदैछन् ?
अहिले हाम्रो शाखा भनेको कञ्चनपुरको भिमदत्त नगरपालीका, बेतकोट नगरपालीकाको दैजी, बेल्डारीको चौवन्नी, आइविआरडि, पुर्नवासमा र कृष्ण नगरपालीका गुलरीयामा हाम्रो शाखा छ । यस्तै कैलालीमा धनगढी, अत्तरीया, सुखड, बौनीया, लम्की र टिकापुरमा शाखा छ । डडेल्धुरामा पनि हामीले शाखा विस्तार गरेका छौँ । अब डडेल्धुरा, कैलाली र कञ्चनपुरमा एउटा–एउटा शाखा विस्तार गर्ने सोचमा छौँ । र अब थप दुई वटा जिल्ला पनि थप भएपछि ५÷६ वटा शाखा थप्ने योजना छ । 

बैंकिङ क्षेत्रप्रति प्रदेश ७ का जनताको विश्वास कस्तो पाउनु भएको छ ?
यहि प्रदेश नम्बर सातका जनताको साथ सहयोग र विश्वासले नै हामी यो लेभलसम्म आएका हौँ । सानो पुँजीबाट खोलिएको विकास बैंक आज नेशनल लेभलको विकास बैंक हुन चाहिने पोर्टफोलियो बराबरको पुँजी संकलन गर्न सक्षम भएको छ । आजका दिनसम्म उहाँहरुको ठुलो साथ र सहयोग छ । आगामी दिनमा पनि उहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ । संघीयताका हिसाबले पनि प्रदेश सरकारले केहि सहयोग र प्राथामिकताको लिस्टमा राख्छ र काम गर्न सहजता बनाउँछ भन्ने विश्वास लिएका छौँ ।

प्रदेश ७ मा वित्तीय चेतनाको आवश्यकता कत्तिको छ ?
तपाइले सान्र्दभिक प्रश्न सोध्नुभयो । यो क्षेत्रमा वित्तीय साक्षरताको एकदमै आवश्यकता छ । किनभने गाउँ घरमा बैंक, निक्षेप, बचत कसरी राख्ने, बैंकमा पैसा राख्नुका फाइदाहरु के के हुन् लगायतका समान्य कुराहरुको जानकारी पनि छैन । त्यो क्षेत्रमा बैंकिङ जानकारीे पुर्याउन सक्यौँ भने घरमै राखेको सानो सानो पुँजी राष्ट्रिय पुजीको रुपमा आउने सम्भावना छ । अर्कोतर्फ जोश, जाँगर भएका युवाहरुलाई बैंकले उत्पादनमा लगानी गर्छ भन्ने चेतना र जागरण पुर्याउन सक्यौँ भने आर्थिक विकासमा पक्कै पनि टेवा पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]