fbpx
Sunday , August 19 2018

सबैका लागि बैंकिङ शिक्षा : १० बुँदामा

April 24, 2018

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :

चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।

एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्ष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।

ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।

डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।

क्रेडिट कार्ड 
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।

मोबाइल बैंकिङ 
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।

ब्रान्चलेस बैंकिङ 
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली 
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

वासलात (व्यालेन्स सिट)
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

लाभांश र बोनस सेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर(बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.