April 17th, 2018

आठ महिनामा वैदेशिक लगानीका झन्डै दुई सय उद्योग दर्ता

उद्योग विभागमा चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका छन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् ।

दर्ता भएका उद्योगमध्ये कृषिमा आधारित ११, ऊर्जासम्बन्धी चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधिका १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग छन् । विभागले रू. १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, रू. १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र रू. २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रूपमा दर्ता गर्दै आएको छ । उक्त सङ्ख्यामा उद्योगको दर्ताबाट उसले रू. ३४ अर्ब ९१ करोड सात लाख बराबरको लगानी भित्र्याएको छ । विभागमा हालसम्म करीब ७ हजार ५ सय उद्योग दर्ता भएका छन् ।

देशमा तीनओटै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले बताए । ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ,’ उनले भने । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]