April 16th, 2018

धमाधम बैंकभित्रबाटै उत्पादन हुँदैछन् नयाँ सीईओहरु

रुपा कोइराला/बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै संस्थाभित्रबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न थालेका छन् । सीईओको पद खाली भएपछि डेपुटी सीईओलाई सीईओ बनाउने प्रचलन पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको छ । 

मेगा बैंक नेपाल लिमिटेडले अनुपमा खुँजेलीलाई सीईओ नियुक्त गरेको छ । मेगा  बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक महिलालाई सीईओ बनाएको हो । खुँजेली चार वर्षका लागि मेगा बैंकको सीईओमा नियुक्त भएकी हुन् । दुई कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । खुँजेलीसँग २७ वर्ष लामो बैंकिङ अनुभव रहेको छ । उनले सन् १९९१मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्टान्डर्ड चार्टर्ड बैंकबाट करिअरको सुरुवात गरेकी थिइन् । त्यहाँ उनले सहायक स्तरबाट प्रवेश गरी १३ वर्ष विताएर मेनेजर तहबाट बाहिरिइन् । त्यसपछि सिनियर मेनेजरका रुपमा उनी नबिल बैंकमा प्रवेश गरिन्, जहाँ उनले छ वर्ष विताइन् र संस्थापक नायव महाप्रबन्धकका रुपमा मेगा बैंकमा कदम राखिन् । त्यसपछि बढुवा हुँदै उनी सीईओ बन्न सफल भएकी हुन् । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि बैंकभित्रबाटै सीईओ नियुक्त गरेको छ । बैंक संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।  बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए । करिब १९ वर्ष नबिल बैंकमा विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

यसअघि, ज्योति विकास बैंक लिमिटेडले पनि बैंकभित्रबाटै सीईओ नियुक्त गरेको थियो । ज्योतिमा नै डेपुटी कार्यकारी प्रमुखका रुपमा कार्यरत मनोज ज्ञवालीलाई बैंकले सीईओ बनाएको हो । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । बैंकिङ तथा पूँजी बजारमा करिव १३ बर्षको अनुभव भएका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

ग्लोबल आईएमई बैंकले पनि बैंकभित्रबाटै जनक शर्मा पौडेललाई सीईओ बनाएको थियो । पौडेल ग्लोबल आईएमईमा नै कामु सीईओ थिए ।  दुई वर्ष कार्यकाल बाँकी छँदै अनिल ज्ञवालीले बैंक छाडेपछि यसअघि कामु सीईओ रहेका पौड्याललाई सीईओ नियुक्त गरिएको हो ।  बैंकिङ क्षेत्रमा ३० वर्ष लामो अनुभव हासिल गरिसकेका जनक पौड्याल ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसपछि, उनी डेपुटी प्रमुख कार्यकारी हुँदै कामु सिइओ समेत बनेका थिए । गत भदौ २९ गते उनी ग्लोबल आईएमई बैंकमा कामु सीईओ भएका थिए ।

यसबाहेक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनएमबि बैंक लगायतले पनि बैंकभित्रबाटै सीईओ नियुक्त गरेका हुन् । सिद्धार्थ बैंकमा शम्भुनाथ गौतम, सिभिल बैंकमा गोविन्द गुरुङ र एनएमबि बैंकमा सुनिल केसी सीईओ छन् । सीईओको कार्यभार सम्हाल्नुअघि तीनै जना सोही बैंकमा कामु सीईओको रुपमा कार्यरत थिए ।
 
आफ्नै बैंकबाट नियुक्त भएका सीईओलाई अन्य मेनेजमेन्ट टिम मेम्बरहरुसँग घुलमिल हुन समय नलाग्ने र काम गर्न सहज वातावरण सिर्जना हुने बैंकरहरु बताउँछन् । त्यसमाथि, बैंकको भिजन, उद्देश्य लगायतका बारेमा पहिले नै जानकार रहने हुँदा बैंकको प्रगतिका लागि पनि भित्रैबाट सीईओको नियुक्ति गर्नु उचित हुने बताइन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]