Monday , July 16 2018

चालू आर्थिक वर्षको आठ महिनामा ‘मुलुकको आर्थिक तथा वित्तीय स्थिती’

April 13, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७४/७५ को आठ महिनाको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो । उक्त विवरण जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ :

आर्थिक परिदृश्य 
१. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मकै तथा गहुँको उत्पादन क्रमसः ९.४ प्रतिशत र ५.० प्रतिशतले बढ्ने अनुमान रहेको छ । तथापि चालु आर्थिक वर्षको सुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुमान मन्त्रालयको रहेको छ । कुल कृषि उत्पादनमा खाद्यान्न वालीले महत्वपूर्ण अंश ओगट्ने भएकाले कृषि उत्पादन वृद्धिदर अपेक्षा भन्दा कम रहने अनुमान छ । 
२. गैह–कृषि गतिविधितर्फ चालु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको छ । फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने देखिन्छ । त्यसैगरी फलामजन्य वस्तु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित हुन्छ । 
३. २०७४ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षको २.९ प्रतिशतबाट वृद्धि भई ६.० प्रतिशत पुगेको छ । तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुद्रास्फीति केही बढेको हो । तरकारीजन्य वस्तुहरुको मुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ । 
४. आयातको स्तर बढेको हुँदा चालु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको छ । यद्यपि विदेशी विनिमय संचिति ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्नका लागि प्रयाप्त रहेको छ । 
५. २०७४ फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३.० प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेवाट वित्तीय स्थिति कसिलो रहेको देखिन्छ । स्थानीय, प्रादेशिक तथा संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई तद्अनुरुपका सरकारहरुको गठन भएकाले सरकारी वित्त कारोवारहरुले गति लिइरहेको स्थिति छ । यसबाट आउँदा दिनहरुमा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा रहेको छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

६. २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकोमा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ । मुलतः तरकारीजन्य वस्तुहरुको मूल्यमा आएको वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको हो । तथापि, २०७४÷७५ को आठ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.० प्रतिशतमा नै रहेको छ । 

खाद्य मुद्रास्फीति 
७. २०७४ फागुन मसान्तमा खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा मुलतः तरकारीजन्य वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी रहेकोले गैर–खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौं उपत्यकामा ४.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१०. २०७४ फागुन मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.० प्रतिशत रहेको थियो । खासगरी औषधिजन्य वस्तु, फलफुल तथा तरकारी र निर्माण सामाग्रीमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ७.४ प्रतिशतले वृद्धि भएको छ । निजी प्रतिष्ठानको तलब सूचकाङ्कमा ३६.३ प्रतिशतको उच्च वृद्धि देखिएकोछ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१२. आर्थिक बर्ष २०७४/७५ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु. ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ९.८ प्रतिशत, चीनतर्फ ६२.० प्रतिशत र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैँची, जुटको बोरा, धागो, पोलिष्टर यार्न लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुस, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१३. समीक्षा अवधिमा कुल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु. ७६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.३ प्रतिशत, चीनबाट भएको आयात २२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा पेट्रोलियम पदार्थको आयात रु. १०० अर्ब ६० करोड, खाद्म पदार्थ तथा जीवित जनावर रु. ९७ अर्ब ५ करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात रु. ८४ अर्ब ९१ करोड पुगेको छ । 
१४. भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१५. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले बढी रु. ७१३ अर्ब ९३ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.० प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.७ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१६. आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.७ प्रतिशतले बढेकोर आयात मूल्य सूचकाङ्कमा ६.२ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्त मा ४.२ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २.४ प्रतिशतले बढेको थियो । जडीबुटी, चियापत्ती, कत्था, मंजन, पित्तलको तार लगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने सवारी साधन, पेट्रोलियम पदार्थ, रेफ्रिजिरेटर, टायर, ल्यापटप लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१७. समीक्षा अवधिमा कुल सेवा आय ८.६ प्रतिशतले बढेको र कुल सेवा खर्च १५.१ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. २ अर्ब ३१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ३ अर्ब ७३ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २०.१ प्रतिशतले वृद्धि भई रु. ४३ अर्ब ४६ करोड पुगेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ३८.७ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१८. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले वृद्धि भई रु. ४७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई रु. ५३९ अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो । 
१९. श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२०. अघिल्लो वर्षको आठ महिनामा चालू खाता रु. ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटा विस्तार भई रु. १५३ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो । त्यसैगरी, अघिल्लो वर्षको आठ महिनामा रु. ५० अर्ब २ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. २४ अर्ब ७३ करोडले घाटामा रहेको छ । 
२१. समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोलगानी रु. ८ अर्ब ३५ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२२. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ फागुन मसान्तमा २.८ प्रतिशतले कमी आई रु. १०४९ अर्ब २२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ फागुन मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई रु. ९३३ अर्ब ५० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू ट (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ फागुन मसान्तमा २३.९ प्रतिशतले कमी आई रु. ११५ अर्ब ७३ करोड पुगेको छ । २०७४ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४/७५ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.४ प्रतिशत, ८०.८ प्रतिशत र ३७.१ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२४. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५०.१० रहेकोमा २०७४ फागुन मसान्तमा २७.० प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६३.६१ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ फागुन मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२०४.२० रहेकोमा २०७४ फागुन मसान्तमा ९.९ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३२३.५५ पुगेको छ । 
२५. समीक्षा अवधिमा भारतमा (नयाँ दिल्ली) भन्दा नेपालमा (काठमाडौँ) पेट्रलियम पदार्थको मूल्य कम रहेको छ । फागुन मसान्तमा भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल प्रति लिटर मूल्य क्रमशः रु. १२.९२ र रु. १७.६० कम रहेको थियो । 

विनिमय दर 
२६. २०७४ असार मसान्तको तुलनामा २०७४ फागुन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.४ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७४ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०३.५३ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२७. आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा वृद्धि भई रु. ५३ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो घाटा रु. ८ अर्ब ७३ करोड रहेको थियो । 

सरकारी खर्च 
२८. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ५०६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. ३७४ अर्ब ९६ करोड रहेको थियो । 
२९. समीक्षा अवधिमा चालू खर्च रु. ३८९ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २७५ अर्ब ८१ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ४३.५ प्रतिशतले बढेर रु. ८६ अर्ब ४४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ६० अर्ब २३ करोड भएको थियो । 

सरकारी राजस्व 
३०. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन २१.४ प्रतिशतले वृद्धि भई रु. ४३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ५१.९ प्रतिशतले वृद्धि भई रु. ३५४ अर्ब १६ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात 
३१. २०७४ फागुन मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ७२ अर्ब ४८ करोड समेत) रु. २७४ अर्ब ३ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३२. आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । 
३३. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. २४ अर्ब ७३ करोड (२.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ५० अर्ब २ करोड (५.२ प्रतिशत) ले बढेको थियो । 
३४. समीक्षा अवधिमा सञ्चित मुद्रा ०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १२.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ फागुन मसान्तमा सञ्चित मुद्रा ६.६ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३५. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतलेबढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ फागुन मसान्तमा यस्तो कर्जा २१.६ प्रतिशतले बढेको छ । 
३६. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ फागुन मसान्तमा १७.४ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले बढेको छ । 
३८. २०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ । यस्तो अंश अघिल्लो वर्ष ३७.३ प्रतिशत रहेको थियो । तथापि चल्ति तथा मुद्दती निक्षेपको अंश भने बढेको छ । यस अनुसार चल्ति निक्षेपको अंश अघिल्लो वर्षको ७.६ प्रतिशतबाट ८.४ प्रतिशतमा र मुद्दती निक्षेपको अंश अघिल्लो वर्षको ३८.१ प्रतिशतको तुलनामा ४४.० प्रतिशत पुगेको छ । 
३९. २०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ४८.४ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.३ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.९ प्रतिशत, विकास बैंकहरुको २१.२ प्रतिशत र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६५.७ प्रतिशत (रु.४२ अर्ब ३९ करोड) ले वृद्धि भई रु. १०६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशतले बढेको थियो । 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ८.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.३ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत् पटक–पटक गरी रु. १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्फत् रु. ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्फत् रु. ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो ।
४५. समीक्षा अवधिमा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् ६० अर्ब १५ करोड र सोझै खरिद बोलकबोलमार्फत् रु. ३७ अर्ब १० करोड गरी कुल रु. ९७ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ६१ अर्ब तरलता प्रवाह भएको थियो । 
४६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. २७ अर्ब ३८ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ५८ अर्ब १७ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 
४७. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु. २८३ अर्ब ३२ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७० करोड खुद खरिद गरी रु. २९० अर्ब २ करोड खुद तरलता प्रवाह गरेको थियो । 
४८. समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब १४ करोड र युरो ४ करोड बिक्री गरी रु. ३२८ अर्ब ३५ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७२ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. ३०४ अर्ब ६ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४९. उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ फागुन मसान्तमा रु. १२ अर्ब ९४ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
५०. २०७४ फागुन मसान्तसम्ममा नेपाल सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६५३२ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु. ६ अर्ब ६१ करोड २८ लाख कर्जा बक्यौता रहेको छ भने रु. ३८ करोड २० लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ७९२ अर्ब ११ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. १९ अर्ब २० करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ७५० अर्ब ४९ करोड र रु. २७५ अर्ब ८५ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५२. २०७३ फागुनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७४ प्रतिशत रहेकोमा २०७४ फागुनमा ४.७० प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ फागुनको ०.९० प्रतिशतको तुलनामा २०७४ फागुनमा ४.८७ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ फागुनको ८.३ प्रतिशतको तुलनामा २०७४ फागुनमा १०.४ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ फागुन मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५४. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७४ फागुन मसान्तसम्म ३९४ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति बक्स ५ मा प्रस्तुत गरिएको छ । 

पुँजी बजार 
५५. नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा ५.१ प्रतिशतले ह्रास आई २०७४ फागुन मसान्तमा १२८६ विन्दुमा पुगेको छ । २०७३ फागुन मसान्तमा उक्त सूचकाङ्क २.८ प्रतिशतले वृद्धि भई १३५५.२ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दु कायम भएको थियो । 
५६. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २.० प्रतिशतले ह्रास आई २०७४ फागुन मसान्तमा रु. १,५०५ अर्ब ५८ करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ फागुन मसान्तमा ८.२ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ५७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८.४ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१.४ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.५ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.७ प्रतिशत रहेको छ । 
५७. २०७४ फागुनमा कुल सेयर कारोबार रकम २०.४ प्रतिशतले ह्रास आई रु. ७ अर्ब ५८ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७३ फागुनमा १२.६ प्रतिशतले ह्रास आई रु. ९ अर्ब ५२ करोड पुगेको थियो ।  
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ फागुन मसान्तमा १९३ रहेको छ । २०७३ फागुन मसान्तमा यस्तो संख्या २१२ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४६ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५९. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा ३३.९ प्रतिशतले वृद्धि भई २०७४ फागुन मसान्तमा रु. ३३६ अर्ब ८५ करोड पुगेको छ । समीक्षा अवधिमा रु. २९ अर्ब ६८ करोड बराबरको साधारण सेयर, रु. २६ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर, रु. ११ अर्ब ६९ करोड बराबरको बोनस सेयर र रु. ३५ अर्ब १४ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. १०३ अर्ब ९६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.