fbpx
Tuesday , September 18 2018

निर्जिवन बीमा कम्पनीले दिने सुविधाहरु

April 14, 2018

बैंकिङ खबर । जीवन र निर्जिबन गरी बीमा दुई प्रकारका हुन्छन् । निर्जिवन बीमामा सम्पूर्ण सम्पत्ति र दायित्वको बीमा गरिन्छ भने जीवन बीमामा मानिसको जीवनको बीमा गरिन्छ । निर्जीवन बीमा मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बीमा पनि ल्याएको छ । यस अन्तरगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आबश्यक मानिन्छ ।

नेपालका निर्जिवन बीमा कम्पनीहरुले निम्न सेवा प्रदान गर्ने गरेका छन् :

अग्नि बीमा : घर, कारखाना लगायतमा आगलागी हुँदा क्षतिपूर्ति होस् भन्ने हेतुले गरिने बीमा अग्नि बीमा हो । भवन, भवन भित्र राखिएका सामान, मेशिनरीलगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा अग्नि बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ । यसमा अन्य जोखिमहरू, जस्तै–बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमा शुल्कको भुक्तानी गर्नुपर्छ । 

सामुद्रिक बीमा अर्थात कार्गो बीमा : कुनै सामान विदेशबाट ल्याउँदा अथवा विदेश लैजाँदा क्षति नहोस् भनेर गरिने बीमा हो । सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुबै व्यापारमा सामुद्रिक मार्गस्थ बीमा आवश्यक हुन्छ । निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगेसम्म बिभिन्न जोखिमहरूबाट हानी नोक्सानी हुन सक्छ । अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टिथ राष्ट्रमा सामान ल्याउन र पठाउन बढी समय लाग्छ । सामुद्रिक बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीबाट आर्थिक राहत प्रदान गरी व्यापरमा सुनिश्चितता ल्याउछ ।

मोटर बीमा : मोटर बीमा अन्तर्गत कमर्सियल, पब्लिक तथा व्यक्तिगत सवारी साधनको बीमा, एवं हवाई बीमा समेत पर्दछ । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।

इन्जिनियरिङ बीमा : कुनै निर्माण परियोजनाहरुको बीमा, ठेकेदारहरुको जोखिमका साथसाथै निर्माण दायित्वको बीमा इन्जिनियरिङ बीमा हो । परियोजनाहरुको निर्माण कार्यको बेला हुने विभिन्न प्राकृतिक जोखिमको कारणबाट पुग्न गएको हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गदर्छ । यसबाहेक ठेकेदारको जोखिम, प्रेसर प्लान्ट, मेसिन बिग्रेको, बिजुली उपकरण बिग्रेको साथै तेस्रो पक्षको बीमा पनि यस बीमालेख अन्तर्गत समावेश गर्न सकिन्छ । तथा मेसिन बिग्रेर अथवा बोइलर पड्केर व्यापारमा हुन सक्ने घाटाको पनि यसै बीमामा समेट्न सकिन्छ ।

कृषि बीमा : कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । बाली र पशुक्षिी गरी कृषि बीमा दुई प्रकारका हुन्छन् । रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले बालीमा असर गरेको अवस्थामा कृषि बीमाले कभर गर्छ ।

विविध : अग्नि, सामुद्रिक, इन्जिनियरिङ र कृषि बीमा बाहेक अन्य बीमाहरुलाई विविध अन्तर्गत राखिएको छ । यसअन्तर्गत दुर्घटना बीमा लगायत पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.