April 12th, 2018

बेतन कर्णाली जलविद्युत् आयोजनामा दुई वाणिज्य बैंकले लगानी गर्ने

बैंकिङ खबर । सूर्खेत जिल्लाको चौकुने गाविसस्थित वेतन भन्ने स्थानमा निर्माण हुन लागेको वेतन कर्णाली जलविद्युत् आयोजनामा नेपाल एसबीआई बैंक र नविल बैंकले लगानी गर्ने भएका छन् । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि स्रोत जुटाउने सन्दर्भमा कर्मचारी संचय कोषले नेपाल एसबीआई बैंक र नविल बैंकसँग सम्झौता गरेको छ ।

यी दुई बैंकले आयोजनाका लागि आवश्यक कुल ऋणमध्ये आंशिक अर्थात २५ अर्ब रुपैयाँसम्मको ऋण सहयोग गर्नेछन् । यसका लागि बैंकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने सम्झौता भएको छ । कर्मचारी संचय कोषको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच संचय कोषका कार्यवाहक प्रशासक दिपक रौनियार, नेपाल एसबीआई बैंकका प्रबन्धक संचालक एवम् प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कम्पनी ऐन २०६३ बमोजिम २०७४ साल वैंशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । यसमा संचय कोषका झन्डै साढे पाँच लाख संचयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी संचय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण नेपाली नागरिक, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।

हाल कम्पनी संचालनमा कर्मचारी संचय कोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीबाट संस्थागत प्रतिनिधिहरु १।१ जना र कम्पनीले सेयर प्रमाणपत्र वितरण नगर्दासम्म कोषको कार्यविधि बमोजिम संचयकर्ताको प्रतिनिधित्व हुने गरी कोष संचालक समितिले मनोनयन गरेका तीन जना गरी जम्मा छ जना  रहेका छन् ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण तत्कालका बैंक तथा वित्तीय संस्थाहरुबीचको सहवित्तीयकरण कर्जा, गैरबैंकिङ वित्तीय तथा अन्य संस्थाहरु, ठूला कोषहरु, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्थाहरुबाट कर्जा र वित्तीय उपकरणहरु अवलम्बन गरी वित्तीय स्रोत जुटाउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]