April 11th, 2018

म्युचुअल फण्डमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस्, सकारात्मक र नकारात्मक पक्षहरु

रमेश कुमार पोखरेल । लगानीयोग्य वित्तीय उपकरणहरुको संग्रहलाई सामान्य अर्थमा म्युचुअल फण्ड भनिन्छ । यसमा दुई वा सो भन्दा बढी व्यक्ति, कम्पनी वा संस्थाहरुको रकम लगानीको लागि संग्रहित हुन्छ । संग्रहित रकमलाई विभिन्न वित्तीय उपकरणहरुमा लगानी गरिन्छ । लगानीबाट प्राप्त प्रतिफल लगानीकर्ताहरु बीच बाँडिन्छ । उदाहरणको लागि कुनै इन्भेष्टमेण्ट कम्पनीले विभिन्न कम्पनीहरुको सेयर, बण्ड, डिवेञ्चर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने उद्देश्यले रु. १ करोड बराबरको म्युचुअल फण्ड संचालन गरेको छ । उक्त कम्पनीले रु. १ करोडलाई रु.१० ले भाग गरी १० लाख युनिट बनाउँछ । कोषमा सहभागी हुन इच्छुक लगानीकर्ताहरुले आफ्नो रुची तथा क्षमता अनुसार युनिट खरिद गर्दछन् । कसैले रु.१ लाख लगानी गर्न चाहन्छ भने १० हजार युनिट खरिद गर्दछ । आफूले खरिद गरेको युनिटको अनुपातमा ऊ कोषको मालिक हुन पुग्छ । यहाँ लगानीकर्तालाई युनिट होल्डर भनिन्छ । 

यसरी म्युचुअल फण्डले विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी सेयर, डिवेञ्चर, बण्ड, ऋणपत्र, सरकारी सुरक्षणपत्र, मुद्धती जस्ता उपकरणहरुमा लगानी गर्दछ । लगानीबाट प्राप्त प्रतिफल युनिट होल्डरहरुबीच बाँडफाट गर्दछ । यसरी म्युचुअल फण्डले काम गर्दछ । फण्ड संचालनको लागि विज्ञहरुको समूह नियुक्त गरिएको हुन्छ ।

म्युचुअल फण्डका सकारात्मक पक्षहरु
१. पुँजी निर्माणको आधार : साना लगानीकर्ताहरुले स–साना युनिट खरिद गर्न सक्ने भएकोले असंगठित रुपमा छरिएर रहेको वित्तीय श्रोत फण्डको माध्यमबाट संगठित तथा एकिकृत हुन्छ । यसरी एकिकृत भएको वित्तीय श्रोत ठूला उद्योग व्यवसाय स्थापना तथा संचालनको आधार बन्दछ ।
२. व्यवसायिक व्यक्तित्वहरुबाट व्यवस्थित : म्युचुअल फण्ड व्यवसायिक तथा दक्ष व्यक्तिहरुको समूहबाट सञ्चालित हुन्छ । त्यस्तो समूहले लगानी गर्ने संस्था, कम्पनी तथा क्षेत्रको वित्तीय, गैह्र वित्तीय लगायत सम्पूर्ण पक्षहरुको कुशलतापूर्वक अध्ययन तथा विश्लेषण गर्ने भएकोले युनिट होल्डरले लगानी गरेको रकम डुब्ने सम्भावना न्यून हुन्छ । साना तथा व्यक्तिगत लगानीकर्ताहरुसंग लगानीका लागि विभिन्न विकल्पहरु हुन्छन् । उनीहरुसंग उपयुक्त विकल्पको छनौट गर्ने ज्ञान, सीप, कौशल, समय तथा श्रोत साधन पनि हुँदैन । यस्तो स्थितिमा म्युचुअल फण्ड उपयुक्त विकल्प हुन सक्छ ।
३. विविधता : साना लगानीकर्ताहरुले आफ्नो थोरै रकमको लगानीलाई विभिन्न क्षेत्र, कम्पनी तथा सुरक्षणपत्रहरुमा विविधिकरण गर्न सम्भव हुँदैन । मुद्रा तथा पुँजी बजारमा सिधै लगानी गर्दा विविधिकरण गर्न ठूलो रकमको आवश्यकता हुन्छ । म्युचुअल फण्डसँग रकम बढी हुने र व्यवसायिक विशेषज्ञको ज्ञान, सीप समेत उपयोग गर्न सकने सामथ्र्य भएकोले साना लगानीकर्ताहरुले यस्तो फण्ड मार्फत आफ्नो लगानीलाई विविधिकरण गर्न सक्दछन् ।
४. तरलताको सुविधा : म्युचुअल फण्डका युनिटहरु पुँजी बजारका उपकरण हुन् । यस्ता युनिटहरु दोश्रो बजारमा पनि खरिद बिक्री हुने भएकोले लगानीकर्ताले आफूले चाहेको समयमा बिक्री गरी रकम प्राप्त गर्न सक्दछन् । त्यसैले यसलाई तरल सम्पत्तिको रुपमा लिइन्छ ।
५. सरल वित्तीय उपकरण : विभिन्न कम्पनीहरुको सेयरमा लगानी गर्दा त्यस्ता कम्पनीका वित्तीय विवरण तथा लाभांश, बोनस सेयर, हकप्रद सेयर आदि सम्वन्धमा सञ्चालक समितिका निर्णयहरु, सूचनाहरु नियालि राख्नुपर्ने हुन्छ । यी सबै काम म्युचुअल फण्डले गर्ने भएकोले युनिटहोल्डरहरु यस्तो झन्झटबाट मुक्त हुन्छन् । यस्तो लगानीमा कुनै प्रकारको जटिलता हुँदैन । 

नकारात्मक पक्षहरु
म्युचुअल फण्डका धेरै सकारात्मक पक्ष भएतापनि दोषहरुबाट मुक्त भने छैन । अधिक जोखिम लिई बढि भन्दा बढि प्रतिफल चाहनेहरुका लागि यो लगानीको उपयुक्त माध्यम नहुन पनि सक्छ । फण्डले लगानी लगानीकर्ताहरुलाई सामान्यतः मध्यमस्तरको प्रतिफल दिने गर्दछ । यसमा युनिटहोल्डरहरुको नियन्त्रण अर्थात सहभागिता हुँदैन । न त कम्पनीका सेयरहेल्डरहरुको झैं मतदानको अधिकार नै हुन्छ । यो पूर्णरुपमा फण्डको व्यवस्थापन र नियन्त्रणमा संचालित हुन्छ । 

म्युचुअल फण्डका प्रकार
म्युचुअल फण्डलाई विभिन्न कोणबाट बर्गिकरण गरेको पाइन्छ । 
१. फण्ड संचालनको आधारमा : 
(क) खुलामुखी योजना : निरन्तर रुपमा खरिद बिक्री गर्न सक्ने प्रावधान भएको योजनालाई खुलामुखी योजना भनिन्छ । फण्डद्धारा घोषित ल्ब्ख् मा जुनसुकै बेला युनिटको खरिद बिक्री गरिने भएकोले यसलाई अधिक तरल योजना मानिन्छ । यसको कुनै भुक्तानी म्याद हुँदैन ।
(ख) बन्दमुखी योजना : तोकिएको अवधिभित्र खरिद गरिसक्नु पर्ने, रकम निश्चित भएको र निश्चित भुक्तानी अवधि भएको योजनालाई बन्दमुखी योजना भनिन्छ । सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गरिने यसका युनिटहरु दोश्रो बजारमा खरिद बिक्री हुन्छन् । माग र आपूर्तिको आधारमा निर्धारण हुने बजार मूल्य ल्ब्ख् भन्दा घटी वा बढी दुबै हुन सक्छ ।
२. प्रतिफलको आधारमा
(क) बृद्दि योजना : नियमित प्रतिफल भन्दा पुँजीगत लाभ अर्थात पुँजी बृद्दिको उद्देश्य सहित संचालन गरिने फण्डलाई बृद्दि योजना भनिन्छ । संगठित संस्थाको इक्वीटीमा यसको ठूलो हिस्सा लगानी गरिने भएकोले तुलनात्मक रुपमा जोखिमयुक्त मानिन्छ । मध्यम तथा दीर्घकालिन रुपमा आफ्नो पुँजीमा बृद्दि चाहने लगानीकर्ताहरु यस्तो योजनामा सहभागी हुन्छन् । यसलाई इक्वीटी फण्ड स्कीम पनि भनिन्छ ।
(ख) आम्दानी योजना : लगानीकर्ताहरुलाई नियमित रुपमा प्रतिफल उपलव्ध गराउने उद्देश्यले संचालित फण्डलाई आम्दानी योजना भनिन्छ । यस्तो फण्डले निश्चित आम्दानी हुने उपकरणहरुमा आफ्नो लगानी केन्द्रित गर्दछ । बण्ड, संस्थागत ऋणपत्रहरु, सरकारी सुरक्षणपत्रहरु, मुद्रा बजारका अन्य उपकरणहरु यस्तो फण्डको लगानी गर्ने क्षेत्रहरु हुन् । बृद्दि योजनामा भन्दा आम्दानी योजनामा कम जोखिम हुन्छ । यसलाई डेब्ट ओरिएन्टेड स्कीम पनि भनिन्छ ।
(ग) सन्तुलित योजना : पुँजीगत लाभ र नियमित आम्दानी दुबै एकसाथ प्राप्त गर्ने उद्देश्यले संचालित योजना सन्तुलित योजना हो । यस्तो योजना अन्तर्गत इक्वीटीको साथ साथै नियमित रुपमा निश्चित आम्दानी प्राप्त हुने उपकरणहरुमा पनि लगानी गरिन्छ । मध्यम स्तरको जोखिम बहन गर्न तयार लगानीकर्ताहरु यस्तो योजनामा सहभागी हुन्छन् ।

नेपालमा म्युचुअल फण्ड
म्युचुअल फण्डको इतिहास केलाउँदै जाँदा सन् १८६० मा संगठित संस्थाका इक्वीटीहरुमा लगानी गर्ने प्रयोजनको लागि स्थापित स्कटिस कम्पनी अमेरिकन इन्भेष्टमेण्ट कम्पनी सम्म पुगिन्छ । भारतमा भने सन् १९६४ मा सरकारी स्वामित्वमा युनिट ट्रष्ट अफ इण्डियाको स्थापना पछि म्युचुअल फण्ड शुरु भएको पाइन्छ । 

नेपालमा म्युचुअल फण्डको इतिहास त्यति पुरानो छैन । नेपाल औद्योगिक विकास निगम ट्रष्टी रहेको एनआइडिसी क्यापिटल मार्केट द्धारा संचालित एनसिएम म्युचुअल फण्ड, २०५० नेपालको पहिलो म्युचुअल फण्ड हो । प्रति इकाइ रु.१०।– अंकित उक्त योजना खुलामुखी योजना थियो । सेयर बजार उच्च भएका शुरुका दिनमा यसले राम्रो काम गरेको थियो । सेयर बजारमा मन्दी भएको बेला सन् १९९५ तिर बिक्रीकर्ताको चाप थाम्न नसकी असफल हुन पुग्यो । खुलामुखी उक्त योजनालाई पुनरसंरचना गरी १० वर्ष अवधिको बन्दमुखी योजनमा रुपान्तरण गरियो । युनिटहोल्डरहरुलाई भुक्तानी फिर्ता लिने वा नयाँ योजनामा सहभागी हुने दुइवटा विकल्प दिइयो । एनसिएम म्युचुअल फण्ड, २०५९ नाम गरेको उक्त बन्दमुखी योजना प्रति युनिट रु.१०।– अंकित १ करोड युनिटको थियो । आ.व. २००८/०९ को अन्तमा उक्त फण्डको जम्मा लगानी रु.१५ करोड १५ लाख ३० हजार र प्रति युनिट बजार मूल्य रु.२४।– सम्म पुगेको थियो । 

नेपालको अर्को म्युचुअल फण्ड नागरिक लगानी कोषले खुलामुखी योजना अन्तर्गत नागरिक एकांक योजना, २०५२ सञ्चालनमा ल्यायो । रु. १००।– अंकित मूल्य भएको यस योजनाले नियमित आम्दानी र बृद्दि दुबै उपलव्ध गराउँदै आएको छ । नेपालमा हाल १३ वटा म्युचुअल फण्ड योजनाहरु संचालन भइरहेका छन् । यी योजनहरुमा रु.१२ अर्ब ८७ करोड परिचालन भएको छ । 

नेपालको पुँजी बजार इक्वीटी संग सम्वन्धित उपकरण अर्थात सेयरमा निर्भर छ, सेयरमा पनि बैंक तथा वित्तीय संस्थाको सेयरको बाहुल्यता रहेको छ । सानो आकारको सेयर बजार भएकोले दुई चार जना ठूला लगानीकर्ताको निर्णयबाट प्रभावित हुने गरेको छ । कम्पनीको वित्तीय विवरणको विश्लेषणबाट निकालिएको निष्कर्ष तथा आर्थिक चरहरुले भन्दा अनुमान र गैह्र आर्थिक कारणहरुले पुँजी बजारलाई प्रभावित गर्ने गरेको छ । संस्थागत बण्ड तथा ऋणपत्रको कारोवार नगन्य छ । समग्रमा भन्नु पर्दा नेपालको पुँजीबजारमा क्षेत्रगत तथा उपकरणगत विविधिता छैन, भएका उपकरणको मुल्य निर्धारण तर्कसंगत छैन । यस्तो पृष्ठभूमिमा म्युचुअल फण्डको मात्र कार्यसम्पादन राम्रो हुने कुरा पनि भएन । पुँजी बजार र म्युचुअल फण्ड बीच प्रत्यक्ष सम्वन्ध भएको र नेपाली पुँजी बजारको परिसूचक निरन्तर ओरालो  लागि रहेको बर्तमान अवस्था म्युचुअल फण्डहरुको लागि त्यति सुखद छैन । पुँजी बजारमा विविध खालका उपकरणहरुको प्रयोग हुने र आर्थिक परिसूचकहरुले बजारलाई प्रभाव पार्ने अवस्थामा म्युचुअल फण्ड साधारण लगानीकर्ताहरुका लागि लगानीको उपयुक्त विकल्प हुन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]