April 11th, 2018

गैससको लघुवित्त बैंकमा स्तरोन्नति अन्योलमा

यादव हुमागाईँ । नेपाल राष्ट्र बैंकबाट लघुवित्तको कारोबार गर्ने इजाजत पाएका गैरसरकारी संस्थाको लघुवित्त विकास बैंकमा स्तरोन्नति अन्योलमा परेको छ । राष्ट्र बैंकले गैससहरुलाई बैंकमा स्तरोन्नतिका लागि पछिल्लो पटक २०७४ चैतसम्मको समय दिएको थियो । उक्त समयसीमा सकिन लाग्दा पनि गैससहरु बैंकमा स्तरोन्नति नहुने देखिएको हो । 

गैससको लगानीका विषयमा भएका विवादका कारण स्तरोन्नति प्रक्रिया ढिला भएको लघुवित्तको कारोबार गरिरहेको जीवन विकास समाजका कार्यकारी अध्यक्ष योगेन्द्र मण्डलले बताए । “गैससले गरेको लगानीका विषयमा स्पष्ट नहुँदा स्तरोन्नती प्रक्रिया ढिला भइरहेको छ,” उनले भने, “तोकिएको समयमा कुनै पनि संस्था स्तरोन्नति हुन नसकेकाले समय थप्नुपर्ने देखिएको छ ।”

राष्ट्र बैंकले आर्थिक वर्ष ०७१।७२ मा एक वर्ष्भित्र बैंकमा स्तरोन्नति हुन समय दिएको थियो । तर, कम्पनी रजिष्टारको कार्यालयले गैरनाफामूलक संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने भन्दै कम्पनी दर्ता गर्न नमिल्ने बताएपछि प्रक्रिया अन्योलमा थियो । बैंकमा रुपान्तरणका लागि लघुवित्तको कारोबार गर्ने गैरसहकारी संस्था तयार भए पनि बैंक बन्नका लागि कम्पनी आवश्यक पर्ने र कम्पनी रजिष्टारको कार्यालयले गैरसरकारी संस्था सेयर सदस्य रहने कम्पनी दर्ता गर्न नमिल्ने बताएपछि प्रक्रिया रोकिएको थियो। तर, पछि राष्ट्र बैंकको सक्रियतामा २ वर्ष्भित्र व्यक्तिलाई बेच्ने गरी कम्पनी दर्ता गर्ने सहमति भएको थियो । 

अहिले लघुवित्तको कारोबार गर्ने कतिपय गैससहरुका अन्य लघुवित्त विकास बैंकमा सेयर लगानी रहेकाले पनि समस्या सिर्जना भएको बताइएको छ । यसैगरी धेरै संस्थाले तोकेको पुँजीसमेत पुर्याउन सकेका छैनन् ।  गैरसरकारी संस्था सामाजिक संस्था ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हुन्छन् । यस्ता संस्थाले नाफामूलक व्यवसाय नगर्ने र नाफा नबाँड्ने उद्देश्य राखिएको हुन्छ । सरकारले वित्तीय पहुँच नपुगेका क्षेत्रमा लघुवित्त कारोबार सञ्चालन गर्ने नीति लिएसँगै ‘वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५’ अन्तर्गत रही राष्ट्र बैंकले गैससलाई लघुवित्तको कारोबार गर्ने अनुमति दिन थालेको हो । ऐन अनुसार यस्ता संस्थाले समूह निर्माण गरी लघुबचत तथा लघु कर्जाको कारोबार गर्न पाउने व्यवस्था छ । पछिल्लो समयमा यी संस्थालाई बैंकमा परिवर्तनको नीति केन्द्रीय बैंकले ल्याएको हो । 

राष्ट्र बैंकबाट लघुवित्तको कारोबार गर्न अनुमति पाएका २४ गैससहरू बैंकमा परिवर्तन हुन बाँकी छ । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]