April 10th, 2018

जोखिम न्यूनीकरणका लागि प्राधिकरणले तेस्रो पक्ष बीमा थाल्ने

नेपाल विद्युत्त प्रधिकरणले विद्युत्तिय दुर्घटना वृद्धि भएपश्चात जोखिम न्यूनीकरणका लागि तेस्रो पक्षको बीमाको नीति अंगिकार गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।

वि.सं. २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अङ्गभङ्ग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म १२ करोड २० लाख खर्च गरेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक रहेको बताए । “यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दुर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्,” उनले भने – “यसमा विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नुपर्छ ।”

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत् बरदान भए पनि सेवा प्रदायकका हिसाबले सुरक्षामा ध्यान नदिएर सानो लापर्वाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत बन्नुपर्ने बताउँदै सुरक्षामा कसैले खेलबाड नगर्न आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताए । “दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्ति बापत प्राधिकरणलाई बाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ,” घिसिङले भने, “सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था सुधार गर्ने अभियान पनि हो ।”

घिसिङले प्राधिकरणको हालको ऊर्जा दक्षता तथा विद्युत् चुहावट नियन्त्रण महाशाखालाई विद्युत् सुरक्षाको पनि काम गर्ने गरी जिम्मेवारी दिइने समेत बताए । प्राधिकरण वितरण सेवा तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले प्राधिकरणकै कर्मचारीको मानवीय त्रुटिका कारणले दुर्घटना हुने गरेको उल्लेख गरे ।

विद्युत् सेवाको तीन स्तम्भका रुपमा रहेका विद्युत् सुरक्षा, गुणस्तरीय सामानको प्रयोग एवं किफायती उपयोग र चुहावट नियन्त्रण कार्यको उपभोक्तामा बढीभन्दा बढी सचेतना र जागरुकता सञ्चार गर्न विद्युतीय सुरक्षा दिवस मनाउने गरिएको छ । यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग समृद्धिका लागि विद्युत्को उत्पादनशील प्रयोग’ तय गरिएको थियो ।

चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परि ८ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षासम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् । 

हावाहुरी, चट्याङजस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत् चोरी, जनचेतनाको अभाव जस्ता कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त आयोजनामा गत वर्षदेखि विद्युतीय दुर्घटनाबारे जनचेतना दिन हरेक वर्ष २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउने गरिएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]