April 9th, 2018

कस्ता आवेदकलाई दिँदैन बैंकले जागीर ?

बैंकिङ खबर । बैंकमा जागीर खान भनेर गएका धेरै जसो मान्छेहरु रित्तो हात फर्किने गरेका छन् । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् । 

’बेस्ट अफ दी बेस्ट’को छनौट
बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । बाँकी रहेका उम्मेदवारहरु स्वतः रिजेक्ट हुन्छन् । 

शैक्षिक योग्यताका भरमा जागीरको आस
शैक्षिक योग्यताकै भरमा राम्रो जागीरको आस गर्ने प्रचलनले पनि युवाहरु बेरोजगार नै बस्नुपरेको देखिन्छ । व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । बैंकसम्बन्धी थोरै पनि जानकारी नभएको, अनुभव पनि नभएको कर्मचारीलाई बैंकले नियुक्त गर्दैन । यसकारण पनि धेरै जना रिजेक्सनमा पर्ने गरेका छन् । 

बैंकसम्बन्धी सामान्य जानकारीको पनि अभाव
कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायतका विषयमा पनि जवाफ दिन नसक्नेहरुलाई बैंकले नियुक्त गर्दैन । 

सहकारी र फाइनान्सबारे अन्यौल
कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ । यस्ता कर्मचारीहरुलाई पनि बैंकले कुनै पद दिएर जिम्मेवारी सुम्पिन चाहाँदैन । 

वित्तीय साक्षरताको कमी
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । अझै पनि पैसा राख्नको लागि तथा कर्जा लिनका लागि बैंकलाई विश्वास नगर्नेहरु अत्याधिक छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । यस विषयमा जानकारी नभएकै कारण पनि कतिपयलाई रिजेक्ट गर्न आफूहरु बाध्य भएको बैंकहरुको भनाई छ ।  

सानो पदबाट काम गर्न हिच्किचाहट
कतिपय बैंकहरुले भ्याकेन्सी खोल्दा यसले अनुभवीलाई मात्र राख्छ, हामीले कहाँबाट ल्याउने अनुभव भन्ने खालका अनेकौँ प्रतिक्रिया आउने गरेको छ । तर, बैंकहरुले सँधै अनुभवीलाई मात्रै नियुक्त गर्दैनन् । अनि, बैंकहरुले आफैँ पनि अनुभवका लागि प्रशिक्षार्थी तथा इन्टर्न्सिपको रुपमा कर्मचारीहरु राखिरहेका छन् । सुरुमा छ महिना अर्थात एक वर्षसम्म प्रशिक्षण दिएर, पछि नियुक्त गर्ने गरी पनि बैंकहरुले कर्मचारी माग गरिरहेका हुन्छन् । तर, स्नातक वा स्नातकोत्तर गरिसकेकाहरु सिधै ठूलो पदमा नियुक्त हुन खोज्छन् । प्रशिक्षार्थीको रुपमा काम गर्न हिच्किचाउने हुँदा उनीहरुसँग बैंकमा काम गर्न आवश्यक व्यवहारिक ज्ञान हुँदैन र व्यवहारिक ज्ञान भएकाहरुले जागीर पाउँदा उनीहरुसँगै प्रतिष्पर्धामा गएकाहरु स्वतः फालिन्छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]