April 9th, 2018

स्वास्थ्य बीमाका १५ प्रतिशत सेवाग्राहीले गरेनन् नवीकरण

सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार नभएसम्म नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सफल हुन नसक्ने सरोकारवालाहरूले बताएका छन् । आइतबार दोस्रो स्वास्थ्य बीमा दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारी संस्थाहरूले बिमितलाई राम्रो सेवा नदिएको उनीहरूले गुनासो गरेका हुन् । 
नागरिकको उपचार गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सरकारले ०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । अहिले यो कार्यक्रम ३३ वटा जिल्लामा सञ्चालन भएको छ ।

तर, सरकारी स्वास्थ्य संस्थाहरूको कमजोर पूर्वाधार तथा स्वास्थ्यकर्मीहरूको नकारात्मक मानसिकताले बीमा कार्यक्रमप्रति मानिसहरूको रुचि घट्दै गएको बालकोटका दर्ता सहयोगी कपिल कार्कीले बताए । ‘अस्पतालमा बीमा गरेका बिरामीलाई स्वास्थ्यकर्मीले राम्रो व्यवहार गर्दैनन् । अझ, कतिपय स्वास्थ्यकर्मीलाई बीमाको बारेमा जानकारी नै छैन भन्छन्,’ उनले भने ।

सरकारले यस्ता स्वास्थ्य संस्थाको अनुगमन र कारबाही नगरेसम्म बीमा कार्यक्रम सफल नहुने उनले बताए । कार्यक्रममा डा. उमाकान्त तिवारीले स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीहरूको मानसिकतामा परिवर्तन नआएसम्म बीमा कार्यक्रम सफल हुने बताए ।

तर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले भने नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सफल हुनेमा आफू आशावादी रहेको बताइन् । ‘स्वास्थ्य बीमा नेपालका लागि नयाँ हो । हामी सिक्दै छौँ । काम गर्दै जाँदा समस्या देखापर्छ । त्यसलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले बीमाको बाटो भर्खरै खन्ने काम भएको बताए । ‘जनुसुकै काममा पनि सुरुमा अप्ठ्यारो हुन्छ । तर, बिस्तारै हामी यसलाई सहज बनाउँन सक्छौँ,’ उनले भने, ‘तर, गुणस्तरीय सेवा नदिने हो भने स्वास्थ्य बीमा सफल हुन सक्दैन ।’

१५ प्रतिशतले गरेनन् नवीकरण
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको दुई वर्षमा १५ प्रतिशत बिमित कार्यक्रमबाट बाहिरिएका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार कुल बिमितमध्ये १५ प्रतिशतले बीमा योजनालाई नवीकरण गरेका छैनन् । तर, वास्तविक तथ्यांक योभन्दा पनि बढी हुने सरोकारवालाहरू बताउँछन् ।

बन्न सकेन स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले गत कात्तिक महिनामा स्वास्थ्य बीमा ऐन जारी गरेको छ । कार्यक्रम सञ्चालनका लागि ऐनमा स्वास्थ्य बीमा बोर्डको व्यवस्था गरिएको छ । तर, हालसम्म पनि बीमा बोर्ड नै गठन भएको छैन । समयमै बोर्ड गठन नहुँदा काम प्रभावकारी हुन नसकेको बोर्डका निमित्त प्रमुख भुवन पौडेलले बताए ।

जम्मा ५ प्रतिशत समेटिए कार्यक्रममा
हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा नेपालको कुल जनसंख्याको ५ प्रतिशत नागरिक मात्रै समेटिएका छन् । सबै क्षेत्रमा स्वास्थ्य सेवाको उपलब्धता नहुँदा बीमा कार्यक्रम विस्तार गर्न नसकिएको बोर्डका निमित्त प्रमुख पौडेलले बताए ।

त्यस्तै, बिमितलाई गुणस्तरीय सेवा दिन नसक्दा पनि कार्यक्रमप्रति नागरिक आकर्षित गर्न नसकिएको उनले बताए । सन् २०२० सम्ममा स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत नागरिकमा पु-याउने लक्ष्य छ । त्यस्तै ०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए । 

३३ जिल्लामा सञ्चालन गरियो बीमा
दुई वर्षअगाडि कैलालीबाट सुरुवात भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ३३ जिल्लामा सञ्चालन भएको छ । बैतडी, अछाम, पाल्पा, बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ, गोरखा, चितवन, भक्तपुर, मकवानपुर, इलाम, जुम्ला, जाजरकोट, बार्दिया, रोल्पा, सिन्धुली, सुनसरी, सुर्खेत, झापा, सोलुखुम्बु, खोटाङ, प्युठान, अर्घाखाँची, महोत्तरी, रामेछाप, भोजपुर, रुकुम, रौतहट, कपिलवस्तु, बाजुरामा समेत सेवा विस्तार गरिएको बोर्डले बताएको छ । चालू आवको अन्तिमसम्ममा पर्सा, बझाङ, कालिकोट, मुुगु, डोल्पा, हुम्ला र सिराहामा समेत कार्यक्रम विस्तार गर्ने बोर्डको योजना रहेको छ । आव ०७५र७६ सम्ममा ७७ जिल्लामा नै कार्यक्रम विस्तार गरिने सरकारको लक्ष्य रहेको छ ।

करिब ४५ हजारलाई निःशुल्क स्वास्थ्य बीमा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमामा अति गरिब पनि समेटिएका छन् । १४ जिल्लाका ४५ हजार गरिब व्यक्तिले निःशुल्क बीमा सेवा पाएका छन् । गरिब निवारण मन्त्रालयले पहिचान गरेका आधारमा बोर्डले अति गरिबलाई निःशुल्क सेवा दिएको बोर्डका निमित्त प्रमुख पौडेलले बताए ।

बोर्डको तथ्यांकअनुसार हालसम्म ६ लाख १० हजार ८ जना व्यक्ति बीमा कार्यक्रममा सहभागी भएका छन् । बिमितमध्ये १ लाख ३८ हजार ५ सयले सेवा उपभोग गरेका छन् । त्यस्तै, बिमितहरूबाट बोर्डले ३३ करोड ४७ लाख २० हजार बीमाशुल्क संकलन गरेको छ भने २१ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तान गरिएको छ ।

कुल बीमाशुल्कमा ७६ प्रतिशत हिस्सा प्रथम बीमाशुल्कको छ भने २४ प्रतिशत हिस्सा नवीकरणीय बीमाशुल्कको छ । त्यस्तै, कुल बिमितमध्ये ७ दशमलव ६ प्रतिशत अति गरिब रहेका छन् । लिंगका आधारमा हेर्ने हो भने ४७ प्रतिशत पुरुष बीमा कार्यक्रममा सहभागी भएका छन् भने महिला ५३ प्रतिशत छन् । त्यस्तै, सेवा उपभोग गर्नेमा पनि पुरुष ४७ प्रतिशत छन् भने महिला ५३ प्रतिशत छन् । नयाँ पत्रिकामा प्रकशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]