April 9th, 2018

प्रदेश नम्बर सातको वित्तीय अवस्था : कृषिमा ४.७ र उद्योगमा ३२.४ प्रतिशत लगानी

राम खत्री/धनगढी । सामाजिक, सांस्कृतिक र राजनीतिक सबै दृष्टिकोणले निकै धनी मानिएको प्रदेश नम्बर सात शिक्षा, स्वास्थ्य, रोजगारी र मानव विकास सुचाकंमा भने निकै पछाडी परेको छ । अधिकांश मानिस कृषिमा आधारित भए पनि ८५ प्रतिशत नागरिकले कृषिलाई व्यवसायिक रुपमा अगाल्न सकेका छैनन् भने व्यापार घाटा पनि चुलिँदो छ । यस्तै एउटा स्वास्थ्य संस्थाले झन्डै छ हजार सर्वसाधारणको स्वास्थ्य उपचार गर्नुपर्ने दयनीय स्थिती छ । प्रदेश नम्बर सातको आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रदेश सभा बैठकमा प्रदेशको समग्र अवस्थालाई समेटेर प्रदेशसभामा श्वेतपत्र जारी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती
४२ वाणिज्य बैंक, ३२ विकास बैंक, २ वित्त कम्पनी र १३२ लघुवित्त विकास बैंक गरी कुल ३०८ बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएका छन् भने ९२ एटिएम बुथहरू स्थापना भएका छन् । प्रदेश अन्तर्गतका ८८ वटा स्थानीय तहहरूमध्ये हालसम्म ३४ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखाहरू स्थापना भएका छन् । यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको जनसंख्यासँगको अनुपात हेर्दा प्रति संस्था ८,२८८ जनसंख्या हुन आउँछ । यस प्रदेश अन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरूमा २०७४ आषाढ मसान्तसम्ममा कुल ४१ अर्ब ३० करोड निक्षेप रहको छ भने कर्जाको रुपमा ४४ अब रुपैयाँ प्रवाह भएको देखिन्छ । यसरी प्रवाह भएको कर्जामध्ये ४.७ प्रतिशत कृषि क्षेत्रमा र ३२.४ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको देखिन्छ ।

कृषिको उपयोग जिविकोपार्जनमा मात्रै
स्वयपत्रका अनुसार कृषि क्षेत्रमा मुख्य आश्रित सात नम्बर प्रदेशका जनताको मुख्य रोजगारीको स्रोत ज्याला मजदुरी, कृषि श्रम तथा स्वरोजगारी बनेको छ । कृषिमा आश्रित नागरिकमध्ये पनि जम्मा १४.४ प्रतिशत सक्रिय जनसंख्याले मात्र कृषि क्षेत्रबाट आय आर्जन गर्न सफल भएका छन् भने ८५ प्रतिशत नागरिकले 
कृषिलाई जिविकोपार्जनमा मात्रै उपयोग गर्दै आएका छन् । 

१ स्वास्थ्य संस्था बराबर ५७८८ सर्वसाधारण 
सात नम्बर प्रदेशमा १ क्षेत्रीय, २ वटा अञ्चल, ६ वटा जिल्ला,४ वटा अन्य अस्पताल र १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३७५ वटा हेल्थपोष्ट, २६ वटा शहरी स्वास्थ्य केन्द्र, ९ वटा सामुदायिक स्वास्थ्य इकाई र २ वटा स्वास्थ्य सेवा केन्द्रहरू छन् । स्थापना भएका स्वास्थ्य संस्थाहरूको अनुपात हेर्दा पनि प्रति ५७८८ सर्वसाधारण बराबर १ स्वास्थ्य संस्था पर्ने दयनिय स्थिती देखिएको छ । स्थापित भएका स्वास्थ्य संस्थाहरू पनि शहर केन्द्रित हुनाले स्वास्थ्य सेवामा जनताको पहँच अझै टाढा छ । 

मानव विकास सुचकांकको अवस्था 
मानव विकास सुचकांकमा पनि यो प्रदेश निकै पछि छ । विकास दृष्ट्रिकोणले अन्य प्रदेशको तुलनमा निकै पछि परेको यो प्रदेशको मानव विकास सुचकाङ्क ०.४३५ रहेको छ । उक्त प्रतिवेदन अनुसार यस प्रदेश अन्तर्गत रहेका जिल्लाहरूमध्ये बाजुरा जिल्लाको मानव विकास सुचकाङ्क सबैभन्दा न्युन ०.३६४ रहेको देखिन्छ भने सबैभन्दा बढी कञ्चनपुरको ०.४७५ रहेको देखिन्छ । नेपालको सन्दर्भमा सन् २००१ सम्म न्युन पाँच मानव विकास सुचकाङ्क भएका जिल्लामा यस प्रदेशको बाजुरा तथा बझाङ पर्दथे भने सन् २०११  मा अछाम जिल्ला समेत उक्त सुचीमा थप हुन पुग्यो ।

औषत आयु 
यस प्रदेशका जनताहरूको औषत आयु र प्रतिव्यक्ति आयमा पनि अन्य प्रदेशको तुलनामा निकै कमजोर देखीएको छ । यस प्रदेशका जनताहरूको औषत आयु ६६.४ वर्ष रहेको छ भने प्रतिव्यक्ति आय ४७४ अमेरिकी डलर रहेको छ । समग्र नेपालको सन्दर्भमा सोही समयमा औषत आयु ६८.८ वर्ष, प्रतिव्यक्ति आय ८५३ अमेरिकी डलर र मानव विकास सुचकांक ०.४९० रहेको थियो भने हाल प्रतिव्यक्ति आय ८६२ अमेरिकी डलर र मानव विकास सुचकाङ्क ०.५४० पुगेको देखिन्छ । सुचकांकको आधारमा हिमाल भन्दा पहाड र पहाडभन्दा तराईको मानव विकास सुचकाङ्क बढी देखिन्छ । 

बहुआयामिक गरिबी सुचकको अवस्था 
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको नेपालको बहुआयामिक गरिबी सुचक २०१८ अनुसार नेपालको बहुआयामिक गरिबी सुचक ०.१२७ रहेको छ भने गरिबीको रेखामुनी रहेको जनसंख्या २८.६२ प्रतिशत रहेको छ । प्रदेश नं. ७ को बहुआयामिक गरिबी सुचक ०.१४६ छ भने गरिबीको रेखामुनी रहेको जनसंख्या ३३.५६ प्रतिशत रहेको छ । 

स्वेतपत्रका अनुसार प्रदेश नम्बर सातको आर्थिक अवस्था कस्तो छ त ? 
(स्वेत पत्रको पुर्ण अंश) 

Swetpatra 3


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]