‘बीमाको पहुँच विस्तारका लागि जनस्तर माथि उकास्नुपर्छ’

April 8, 2018

बीमा क्षेत्रमा झन्डै चार दशक बिताएका नुर प्रकाश प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी २०३६ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका थिए । करिअरको सुरुवातको आठ वर्ष उनले नेशनल इन्स्योरेन्समा काम गरे । त्यसपछि २०४४ सालमा नेशनल लाइफ इन्स्योरेन्समा गए, जहाँ उनी १९ वर्षसम्म रहे । त्यतिबेला नेशनल लाइफ इन्स्योरेन्समा जीवन र निर्जिवन दुवै बीमा हुन्थ्यो । पछि, जीवन र निर्जिवन बीमा छुट्याउने कानुनी व्यवस्था भएसँगै उनी एनएलजी इन्स्योरेन्समा गए । त्यसपछि उनी लुम्बिनी जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरे । बीमा क्षेत्रको समग्र अवस्थाको सेरोफेरोमा रहेर बैंकिङ खबर डटकमले लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

जनरल इन्स्योरेन्स भनेको के हो ?
जीवन र निर्जिबन गरी बीमा दुई प्रकारका हुन्छन् । निर्जिवन बीमामा सम्पूर्ण सम्पत्ति र दायित्वको बीमा गरिन्छ भने जीवन बीमामा मानिसको जीवनको बीमा गरिन्छ । जनरल इन्स्योरेन्सअन्तर्गत निम्न बमोजिम बीमा गरिन्छ :

अग्नि बीमा : घर, कारखाना लगायतमा आगलागी हुँदा क्षतिपूर्ति होस् भन्ने हेतुले गरिने बीमा अग्नि बीमा हो । भवन, भवन भित्र राखिएका सामान, मेशिनरीलगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा अग्नि बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ । यसमा अन्य जोखिमहरू, जस्तै–बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमा शुल्कको भुक्तानी गर्नुपर्छ । 

सामुद्रिक बीमा अर्थात कार्गो बीमा : कुनै सामान विदेशबाट ल्याउँदा अथवा विदेश लैजाँदा क्षति नहोस् भनेर गरिने बीमा हो । सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुबै व्यापारमा सामुद्रिक मार्गस्थ बीमा आवश्यक हुन्छ । निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगेसम्म बिभिन्न जोखिमहरूबाट हानी नोक्सानी हुन सक्छ । अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टिथ राष्ट्रमा सामान ल्याउन र पठाउन बढी समय लाग्छ । सामुद्रिक बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीबाट आर्थिक राहत प्रदान गरी व्यापरमा सुनिश्चितता ल्याउछ ।

मोटर बीमा : मोटर बीमा अन्तर्गत कमर्सियल, पब्लिक तथा व्यक्तिगत सवारी साधनको बीमा, एवं हवाई बीमा समेत पर्दछ । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।

इन्जिनियरिङ बीमा : कुनै निर्माण परियोजनाहरुको बीमा, ठेकेदारहरुको जोखिमका साथसाथै निर्माण दायित्वको बीमा इन्जिनियरिङ बीमा हो । परियोजनाहरुको निर्माण कार्यको बेला हुने विभिन्न प्राकृतिक जोखिमको कारणबाट पुग्न गएको हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गदर्छ । यसबाहेक ठेकेदारको जोखिम, प्रेसर प्लान्ट, मेसिन बिग्रेको, बिजुली उपकरण बिग्रेको साथै तेस्रो पक्षको बीमा पनि यस बीमालेख अन्तर्गत समावेश गर्न सकिन्छ । तथा मेसिन बिग्रेर अथवा बोइलर पड्केर व्यापारमा हुन सक्ने घाटाको पनि यसै बीमामा समेट्न सकिन्छ ।

कृषि बीमा : कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । बाली र पशुक्षिी गरी कृषि बीमा दुई प्रकारका हुन्छन् । रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले बालीमा असर गरेको अवस्थामा कृषि बीमाले कभर गर्छ ।

विविध : अग्नि, सामुद्रिक, इन्जिनियरिङ र कृषि बीमा बाहेक अन्य बीमाहरुलाई विविध अन्तर्गत राखिएको छ । यसअन्तर्गत दुर्घटना बीमा लगायत पर्दछन् । 

बीमा गर्नुपर्ने कारणहरु केके हुन् ?
अहिले संसार नै जोखिमपूर्ण छ । घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ । नेपालको सन्दर्भमा भन्ने हो भने भुकम्पको खतरा रहेको छ । यस्ता प्राकृतिक प्रकोपका जोखिमहरु अरु पनि छन् । साथमा अन्य जोखिमहरु पनि छन् । जस्तै, भान्सामा ग्यास लिक भएर दुर्घटना हुन्छ, विजनेस गर्दा जोखिम छ, प्लेन चढ्दा जोखिम छ । तसर्थ यो जोखिमलाई न्युनिकरण गर्नका लागि बीमाको अवधारणा ल्याइएको हो । बीमा गर्नु भनेको आफ्नो जोखिम बीमा कम्पनीमा हस्तान्तरण गर्नु हो । शतप्रतिशत नभएपनि ८० देखि ९० प्रतिशतसम्म क्षतिपूर्ति बीमाले गर्छ । 

कुनै पनि व्यापार व्यवसाय डुब्ने स्थितीलाई बीमाले बचाउँछ । जस्तै, कुनै किसानले एक लाख पर्ने गाईको बीमा गराएको छ भने उक्त गाईको क्षतिपूर्तिमा किसानले ९० हजार पाउँछ । उक्त रकमबाट अर्को गाई किनेर किसानले आफ्नो जिविका चलाउन सक्छ । संसारमा जोखिम बढिरहेसँगै बीमाको महत्व पनि बढिरहेको छ । 

बैंकिङ क्षेत्रमा समेत बीमाको ठूलो महत्व रहेको छ । बीमाको सपोर्ट नभएसम्म बैंकिङ कारोबार समेत गर्ने स्थिती छैन । जस्तै, कुनै बैंकले एउटा ठूलो जलविद्युत आयोजनामा लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको आधार के हो त ? किनकि, बाढी, पहिरो, भुकम्प लगायतका कारण उक्त आयोजनामा क्षति हुन सक्छ । त्यसको लागि आर्थिक क्षतिपूर्ति प्राप्त गर्नका लागि र जोखिमलाई कम गर्नका लागि बीमा गर्नुपर्छ ।

बीमाको दाबी भुक्तानी समयमा पाइएन भन्ने गुनासो आउने गरेको छ । वास्तविकता के हो ?
यो गुनासो बुझाइको कमीका कारणले आएको हो । बीमा कारोबार गर्दा डकुमेन्टेसनदेखि लिएर विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । कसैले निवेदन दिनेवित्तीकै फुत्त चेक काटेर दिन मिल्दैन । तर, अहिले हामीले पनि सकेसम्म छिटो भुक्तानी दिने प्रयास गरिरहेका छौँ । कुनै कम्पनीहरुले अन द स्पट भुक्तानीको योजना पनि ल्याएका छन् । यद्यपि, यसको सम्भाव्यता अत्यन्तै न्युन छ । सानोतिनो बीमाको लागि अन द स्पट भुक्तानी सम्भव हुन सक्ला तर ठूलो एमाउन्टको हकमा यो सम्भव छैन । यसका लागि बिमितले क्षतिपूर्तिको सम्पूर्ण र सही कागजात पेश गर्नुपर्छ । जस्तै, मानिसको मृत्यु भयो भने मृत्युको कारणसहितका प्रमाणित कागजातहरु बुझाउनुपर्ने हुन्छ । यसका लागि कम्तीमा पनि एक हप्ता लाग्छ । मृत्युको केसमा हामीले एक हप्ताभित्रमा भुक्तानी दिने गरेका पनि छौँ । कुनै केसमा त्योभन्दा अगाडी पनि दिने गरेका छौँ ।

बीमा दाबीको भुक्तानी गर्न कति समय लाग्छ ?
वास्तवमा भुक्तानी कति समयमा पाउँछ भन्ने कुरा कागजातहरु कहिलेसम्म बुझाउँछ भन्ने कुरामा भर पर्छ । कागजातहरु पाएको २४ घण्टाभित्र नै हामीले सर्भेयर खटाएर गृहकार्य सुरु गर्छौँ । फोटो खिच्नेदेखि लिएर सम्पूर्ण विवरण लिन्छौँ । यसको आधारमा रिपोर्टका बनाउन कानुनले १५ दिनको समय दिएको छ । तर, व्यवहारमा त्यो सम्भव छैन । विवरणहरु संकलन गर्न समय लाग्ने भएकाले रिपोर्ट तयार गर्न केही महिना पनि लाग्न सक्छ । लुम्बिनी जनरल इन्स्योरेन्सको कुरा गर्दा, हामीले १०० दिनको समय राखेका छौँ । सर्भे रिपोर्ट प्राप्त भएको ३०।३५ दिनभित्र अरु केही शंका उपशंका रहेन भने बीमा दाबी भुक्तानी गरिरहेका छौँ ।

बीमा क्षेत्रमा नेपालका आम नागरिकहरुको पहुँचको अवस्था कस्तो छ ?
नेपालमा बीमा पहुँच अत्यन्त न्युन रहेको छ । मुस्किलले १० प्रतिशत जनतामाझ बीमा पहुँच पुगेको छ । घरपरिवारका हिसाबले गणना गर्दा २५।३० प्रतिशत परिवार बीमाको दायरामा आएका छन् । शिक्षा तथा आर्थिक अवस्थाका कारणले बीमाको पहुँच नबढेको होइन । जस्तै, काठमाडौँमा शिक्षित र आर्थिक अवस्था सबल भएका घरपरिवारहरु छन् । ०७२ सालको भुकम्पपछि टुँडिखेलमा पाल हालेर महिनौँ बिताएका परिवारलाई हेर्दा शिक्षितहरुले पनि बीमा नगरेको प्रष्ट भयो । भुकम्पपछि जुन अनुपातमा घरको बीमा दाबी आउँछ भन्ने अपेक्षा गरिएको थियो, त्यो आएन । त्यसपछि घर बीमा गराउनेको संख्यामा दोब्बर तेब्बर वृद्धि  हुन्छ भनेको सोचका थियौँ । तर त्यो पनि हुन सकेन । यसले के देखाउँछ भने, हामी जोखिम हस्तान्तरण गर्नका लागि जानेर बुझेर पनि अटेर गरिरहेका छौँ । ग्रामीण भेगमा चाहिँ नबुझेका कारण अथवा आर्थिक अवस्था सबल नभएका कारण बीमा गरिएन भन्न सकिन्छ । तर, सहर बजारमा, जानेबुझेका र आर्थिक अवस्था राम्रो भएका व्यक्तिहरुले पनि बीमा गराइरहेका छैनन् । यो बिडम्बनाको कुरा हो । 

भुकम्पपछि जनमानसमा बीमासम्बन्धी जागरुकता बढेको हो ?
भुकम्पपछि केही हदसम्म मानिसहरुमा बीमा गर्नुपर्ने रहेछ भन्ने भावना आएको पाइएको छ । तुलनात्मक रुपमा बीमा गराउने संख्या भुकम्पपछि २५ प्रतिशतसम्म बढेको छ । यद्यपि, हामीले अपेक्षा गरेअनुरुप बढेको छैन । हामीले यसमा आफ्नो तर्फबाट पनि विभिन्न प्रयासहरु गरिरहेका छौँ । प्रचारप्रसारमा लागिरहेका छौँ । बीमा समितिले पनि आफ्नो तर्फबाट बीमा पहुँच बढाउने पहल गरिरहेको छ । तर पनि, जुन हिसाबले बीमाको पहुँच बढ्नुपर्ने हो, त्यो अनुपातमा बढ्न सकेको देखिँदैन । ग्रामीण भेगमा आर्थिक अवस्था राम्रो नभएका कारण बीमा गरेका छैनन् । कमाईले घरपरिवारको दैनिक गुजारा मात्रै गर्न सक्ने क्षमता भएका व्यक्तिहरुले भविष्यको सुरक्षाका लागि भनेर बीमा गर्ने, प्रिमियम बुझाउने हैसियत राख्दैनन् ।

बीमा क्षेत्रको इतिहास लामो भए तापनि किन फड्को मार्न सकेन ?
नेपालमा बीमाको इतिहास लगभग ७० वर्ष लामो छ । कतिपय स्थानहरुमा चेतना नभएका कारण बीमाको पहुँच पुग्न सकेको छैन । यसका लागि हामीले पहल पनि गरिरहेका छौँ । बीमा समितिअन्तर्गत बीमा प्रवद्र्धन समिति गठन गरिएको छ । यसको सदस्य भएको हैसियतले कम्तीमा ८ कक्षादेखिको पाठ्यक्रममा नै बीमासम्बन्धी विषय समावेश गर्नुपर्ने मेरो सुझाव छ । बीमा विषयलाई स्नातकोत्तर तहसम्म लैजानुपर्छ । यो राष्ट्रिय आवश्यकता हो ।

आम नागरिकलाई बीमाको दायरामा ल्याउन केकस्ता कदमहरु चाल्नुपर्छ ?
यसका लागि सबैभन्दा पहिले त बीमा भनेको के हो ? यसले के गर्छ ? किन गर्ने बीमा भन्ने विषयमा जानकारी हुनुपर्छ । हुन त विभिन्न मिडियाहरुमार्फत यस विषयमा प्रचार प्रसार भइरहेको छ । फेरि ज्ञान मात्र भएर पनि हुँदैन । बीमा गर्नुपर्छ भनेर बुझ्नेले पनि पैसाको अभावमा बीमा गरिरहेका हुँदैनन् । खान, बस्न, लगाउन लगायतका आवश्यकता पूरा गरेर बीमाका लागि पैसा बचाउने गरी आम्दानी भएका घरपरिवार धेरै कम छन् । यसकारण, सरकारले पनि आर्थिक समृद्धितर्फ ध्यान दिएर जनस्तर उकास्नुपर्छ । त्यसपछि बीमाको पहुँच बढ्दै जान्छ । 

नेपालमा बीमा शिक्षा कार्यक्रम कसरी अगाडी बढिरहेको छ ?
बीमा कम्पनीहरुलाई बीमा समितिले नै जिल्ला तोकिदिएर पठाएको छ । त्यहाँ गएर बीमा कम्पनीहरुले स्थानीय एफएमहरुमार्फत सूचना प्रशारण गरिरहेका छौँ । तर, पनि कृषकहरु जोखिमलाई रक्षाकरण गर्नुपर्छ भन्ने कुरामा त्यति सजग नभएको हामीले पाएका छौँ । प्रचारप्रसारलाई अझै निरन्तरता दिइनेछ । अहिले कृषि बीमा ७५ जिल्लामै पुगिसकेको छ । अन्य बीमाहरु पनि विस्तारै बढ्दै जानेछन् ।

जनरल इन्स्योरेन्सका चुनौतिहरु केके छन् ?
बीमा नेपालमा बनेको सिद्धान्त होइन । त्यसैले, नेपालमा बनेका बीमासम्बन्धी नीतिहरु अन्तर्राष्ट्रिय रुपमा नै मान्य हुनुपर्छ । नेपालमा बीमालाई क्षतिपूर्ति लिनका लागि मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको छ । बीमा आवश्यक छ र यसले आवश्यक परेको बेला आर्थिक सहयोग गर्छ भन्ने सोचाईको कमी छ नेपालमा । यसले गर्दा बीमा कम्पनीहरुमा १०।१५ प्रतिशत झुटा दाबीहरु समेत आउने गरेका छन् । 

त्यस्तै, दैवि प्रकोप नेपालमा बढी हुने गरेको छ । बाढी, पहिरो भुकम्पजस्ता प्राकृतिक प्रकोपले बीमा क्षेत्रमा चुनौति थप्ने गरेको छ । हाम्रो घरघरमै पनि जोखिमहरु छन् । ठूला ठूला बिल्डिङहरुमा खतरा छ । काठमाडौँमा कालो माटो भएका कारण जग बलियो हुँदैन । त्यसैले, धेरै तलाका घरहरु बनाउँदा जोखिम बढी हुन्छ । घर भासिन सक्ने सम्भावना छ । त्यसमाथि, निर्माण क्वालिटी पनि राम्रो छैन । ठूलो बिल्डिङ ढल्दा वरिपरिका घरहरुलाई समेत प्रभावित पार्ने हुन्छ । निर्माणसम्बन्धी अनुशासनको अभावमा यो समस्या आएको हो । 

त्यस्तै, हामी घरघरमा ग्यास प्रयोग गर्छौँ । एउटा सिलिण्डर पड्किँदा पनि ठूलो क्षति हुन सक्छ । यी कुराहरु बीमा पनि हुने गरेको छ तर पर्याप्त भने छैन । सडक बाटोका कारण जोखिम बढिरहेको छ । मापसे चेकिङका कारण केही हदसम्म सडक दुर्घटना घटेको छ । यसमा अझै पनि कडाई हुनु आवश्यक छ ।

हस्पिटलमा बीमा छ भन्नेवित्तीकै फर्जी बिलहरु बनाउने प्रचलन देखिएको छ । कृषि बीमामा पनि समस्या छ । कृषकलाई सपोर्ट गर्ने कुनै पूर्वाधारहरु नेपालमा छैन । कृषि प्रधान देश भनिए तापनि सिँचाई, मलखाद्य लगायतका वस्तुहरुकै समस्या झेलिरहेका छन् किसानहरुले । पशुपक्षीको बीमामा पनि रोग लागेपछि तुरुन्त उपचार हुनुपर्छ । एउटालाई रोग लागेपछि बथान नै सखाप हुने हुन्छ । यस्तो अवस्थामा, कृषिको विकास नभएसम्म कृषि बीमा अगाडी बढ्न सक्दैन । यसमा सरकारले ध्यान दिनु जरुरी छ ।

यी कुराहरुलाई हामीले चुनौतीको रुपमा लिएका छौँ । जोखिम व्यवस्थापन भन्ने कुरा घरघरमा व्यक्तिव्यक्तिले पनि सोच्नुपर्छ । जोखिम व्यवस्थापन आफ्नै लागि हो भनेर जनमानसले नसोचिदिँदा बीमा क्षेत्रमा चुनौति थपिएको देखिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बारेमा बताइदिनुहोस् न ।
लुम्बिनी जनरल इन्स्योरेन्स अहिले १४ वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । हामीले बीमाको स्पष्ट नीति हुनुपर्छ भन्ने कुरालाई आत्मसात गरेका छौँ । बीमा दाबी परेको १०० दिनभित्र भुक्तानी गर्ने गरी स्मार्ट क्लेम सर्भिस दिइरहेका छौँ । ०७२ सालको भुकम्पमा आएका दाबीहरु हामीले १८ महिनाभित्र नै चुक्ता गरिसकेका थियौँ । यसरी हामी क्लेम सर्भिस, उत्कृष्ट बीमा सेवा, व्यवसायिक उत्कृष्टतामा अघि बढिरहेका छौँ । 

लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा कति छन् ?
हाल लुम्बिनी जनरल इन्स्योरेन्सले ३३ वटा शाखा तथा उपशाखामार्फत बीमा सेवा दिइरहेको छ । छिटै नै हामी ६।७ वटा शाखा थप्दैछौँ । त्यसमध्ये, पूर्वाञ्चलमा संखुवासभा, भोजपूर, खोटाङ, उदयपूर र सिराहामा हामीले कृषि बीमा उपलब्ध गराउने जिम्मा नै लिएका छौँ । 

लुम्बिनी जनरल इन्स्योरेन्समा कुन बीमा बढी भएको छ ?
लुम्बिनी जनरल इन्स्योरेन्समा मोटर बीमा बढी भएको छ । अहिले मोटर बीमा अनिवार्य गरिएका कारण पनि बिमितको संख्या बढी भएको हो । बिल बुक रिन्यु गर्न, सडकमा गाडी लान, हवाई जहाज उडाउन बीमा गरिएको हुनुपर्ने लगायतका व्यवस्थाका कारण बाध्यताले पनि मानिसहरुले बीमा गरिरहेका छन् । मोटर मात्रै नभएर अन्य बीमाहरुलाई पनि सँगसँगै लैजाने पहल हामीले गरिरहेका  छौँ । 

अन्त्यमा, बीमा क्षेत्रका एक विज्ञको हिसाबले के भन्न चाहानुहुन्छ ?
बीमा राष्ट्रिय आवश्यकता हो । बैंकिङ विकास हुनका लागि पनि बीमाको आवश्यकता रहेको छ । व्यक्तिगत समृद्धिका लागि पनि बीमा आवश्यक छ । किनभने भोली कतिखेर जोखिम हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । त्यो जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्नुपर्छ । यसका लागि व्यवसायिक रुपमा जानुपर्छ । बीमा शिक्षा विकासका लागि नेपाल सरकारले जोड दिनुपर्छ । पाठ्यक्रमहरु सुधार गरिनुपर्छ । मिडियामार्फत पनि पहल गरिनुपर्छ । बीमाको पहुँच विस्तार र बीमा शिक्षा अभिवृद्धिका लागि लुम्बिनी जनरल इन्स्योरेन्स सदैव तत्पर छ । जनमानसको आवश्यकताअनुसारका बीमा पोलिसिहरु ल्याउन हामी पछि पर्दैनौँ । हामीले अष्ट्रिचको बीमा सुरु गर्यौँ, हात्तीको बीमा सुरु गर्यौँ । यस किसिमका सेवाहरु आगामी दिनमा पनि दिइरहनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *