April 6th, 2018

बीमाका सीईओलाई पनि ‘कुलिङ पिरियड’

अब बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पनि कुलिङ पिरियड लागू हुने भएको छ । संस्थागत सुशासनलाई बलियो बनाउने उद्देश्यले बीमा समितिले कुलिङ पिरियड लागू गर्न लागेको हो । समितिले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७३ मार्फत कुलिङ पिरियड व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले केही महीना अगाडि नै प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई कुलिङ पिरियड लागू गरिसकेको छ । राष्ट्र बैङ्कको उक्त व्यवस्था अनुसार नै समितिले बीमाक्षेत्रमा कुलिङ पिरियड लागू गर्न लागेको हो । यद्यपि समय अवधिको बारेमा कुनै निर्णय नभएको समितिले बताएको छ । समितिले आवश्यक छलफल र समय अवधि तोकेर छिट्टै नै कुलिङ पिरियड लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अभियानसँग कुरा गर्दै संस्थागत सुशासनलाई बलियो बनाउन कुलिङ पिरियड आवश्यक रहेको बताए । यसले बीमाक्षेत्रलाई बलियो बनाउन र दायरा बढाउन थप सहयोग पुग्ने उनको भनाइ थियो । कुनै कम्पनीका प्रमुख कार्यकारी अधिकृत आफ्नो अनुशासनमा बस्नुपर्ने बताउँदै उनले भने, ‘नियामक निकाय भएकाले संस्थागत सुशासन पालना गराउन नियामकीय प्रावधान बलियो बनाउँदै लैजानुपर्छ, सोहीअनुरूप हामीले कुलिङ पिरियड लागू गर्न लागेका हौं ।’ सीईओ फेरबदल हुने प्रचलनले कुनै पनि कम्पनीका संस्थागत योजनाहरू सफल नहुने उनको भनाइ थियो ।

पछिल्लो समय नेपालमा कुनै पनि कम्पनीका सीईओले एक ठाउँमा काम गर्दागर्दै अर्काे ठाउँमा सम्झौता गर्ने प्रवृत्ति मौलाएकोे पाइन्छ । अध्यक्ष चापागाईंले भने, ‘बीमाक्षेत्रमा यस्तो प्रवृत्ति भित्रिएको त छैन । तर, भविष्यमा यस्तो समस्या भित्रिने सम्भावना भएकाले बीमाक्षेत्रमा कुलिङ पिरियडको आवश्यकता छ ।’ उनले भविष्यमा कुनै पनि समस्या नआउने गरी कुलिङ पिरियडको लागू गर्ने बताए ।

बीमा कम्पनी लक्षित क्षेत्र तथा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले उनीहरूको संस्थागत सुशासन बलियो हुनुपर्ने देखिन्छ । संस्थागत सुशासन कमजोर हुँदै गएपछि नेपालका बीमा कम्पनीले विभिन्न किसिमका समस्याहरू भोग्नुपरेको छ । बीमाका लागि चुनौतीपूर्ण बजारमा कम्पनी आफै कमजोर हुँदा समग्र बीमाक्षेत्रलाई घाटा हुने गरेको बीमा विज्ञहरूको भनाइ छ ।

बीमकको संस्थागत सुशासन निर्देशिका, २०७३ को दफा २८ को उपदफा ६ अनुसार सीईओले एउटा कम्पनीमा दुई कार्यकालसम्म काम गर्न पाउनेछन् । निर्दे्शिकाअनुसार एक कार्यकाल ४ वर्षको हुनेछ ।

अहिले नेपालमा १७ निर्जीवन, १८ जीवन र १ पुनर्बीमा गरेर ३६ बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यसका अलावा बीमा समितिले केही समय अगाडि मात्र चुक्तापूँजी र्पुयाएका ३ नयाँ निर्जीवन बीमा कम्पनीलाई बीमक दर्ता इजाजतपत्र प्रदान गरेको छ । ती कम्पनीहरू शीघ्र सञ्चालनमा आउने तयारीमा छन् ।

नेपालमा सञ्चालित बीमा कम्पनीहरूको नियामक निकायका रूपमा बीमा समिति रहेको हुन्छ । उक्त समितिले कम्पनीहरूको क्षेत्र सुधारका लागि नीतिनिर्देशन बनाउनेदेखि रेखदेख गर्ने काम पनि गर्दै आएको छ । आर्थिक अभियानमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]