April 4th, 2018

राष्ट्र बैंकले चाल्यो नयाँ कदम, बैंकमा तरलता अभाव नरहने

बैंकिङ खबर । अब बैंकिङ प्रणालीमा तरलता अभाव नरहने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय वित्तीय संस्थाबाट कर्जा ल्याउन वाणिज्य बैंकहरुलाई बाटो खुला गरिदिएपछि अब तरलता अभाव नरहने भएको हो । बैंकिङ प्रणालीमा तरलता समस्या पटक पटक दोहोरिएपछि केन्द्रीय बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

विदेशी वित्तीय संस्थाबाट कर्जा लिँदा बैंकहरुले केही शर्तहरु पूरा गर्नुपर्नेछ । कर्जा प्रवाह गर्ने क्षेत्र, कर्जा प्रवाहको प्रयोजन र यसबाट देशको अर्थतन्त्रमा पर्ने प्रभाव लगायतका विषयवस्तु खुलाएर मात्रै कर्जा लिन पाइनेछ । यस्तो कर्जा बैंकहरूले सरकारका प्राथमिकता तथा उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग मिल्ने क्षेत्र जस्तै, जलस्रोत, प्रसारणलाइन, केबलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुललगायत पूर्वाधार निर्माण क्षेत्र, पर्यटन, कृषि, लघुवित्त लगायतका क्षेत्रमा उक्त कर्जा लगानी गर्न पाउनेछन् । 

बैंकहरुले एकदेखि पाँच वर्षसम्मका लागि  कर्जा लिन पाउनेछन् । विदेशी बैंकबाट लिएको कर्जाको व्याजदरमा तीन प्रतिशतसम्म थपेर नेपालका बैंकहरुले कर्जा प्रवाह गर्नेछन् । विदेशी वित्तीय संस्थाहरुले व्याजदरबाहेकको कमिशन पाउने छैनन् ।

यस्तो कर्जा बैंकहरुले आफूलाई अनूकुल पर्ने जुनसुकै मुलुकबाट पनि ल्याउने सक्नेछन् । नेपाली बैंकहरूले विदेशी बैंकसँग कर्जा लिने सम्झौता गरेपछि नेपाल राष्ट्र बैंकमा कर्जा स्वीकृतिका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।  

हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको कुल पुँजी करिब तीन खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । यस आधारमा हेर्दा, बैंकिङ प्रणालीमा ८० अर्ब रुपैयाँसम्म भित्रिने देखिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]