April 3rd, 2018

बचत गर्न सिकाउँदै सहकारी

मेनुका कार्की । काभ्रे नवबुद्धकी सुमित्रा रिजालले दैनिक तीन वटा सहकारीमा एक हजारभन्दा बढी रकम बचत गर्दै आएकी छन्। उनले गर्ने बचत भने व्यापारमा भर पर्छ। ‘राम्रो व्यापार हुँदा धेरै बचत गर्छु’, उनले भनिन्, ‘कम हुँदा पनि नियमित बचत भने छाड्दिन ।’

कोटेश्वरस्थित समृद्धि, तीनकुनेस्थित ग्रेट र नयाँ बानेश्वरस्थित ब्रिटिस बचत तथा ऋण सहकारीमा आफ्नो आम्दानीअनुसार बचत गर्ने गरेको उनले सुनाइन्। बिदाका दिनसमेत सहकारीले आफूले व्यवसाय गरेकै स्थानमा रकम संकलन गर्न आउने भएकाले दैनिक योभन्दा ठूलो व्यवसाय गर्न पुँजी निर्माण हुँदै गरेको उनको बुझाइ छ।

उपसना महिला बचत तथा ऋण सहकारीबाट एक लाख रुपैयाँ ऋण लिएर निसा महर्जनले सीतापाइलामा डेढ वर्षअघि व्युटिपार्लर सञ्चालन गरेकी छन्। डेढ वर्षको अवधिमा उनी स्वरोजगारमात्र बनिनन्, रोजगारी दिने हैसियतमा पुगिन्।

डेढ वर्षको तालिमपछि यो व्यवसायमा प्रवेश गरेकी महर्जनको मासिक आम्दानी औसतमा २५ हजार छ। ‘दैनिक ऋण तिर्छु’, उनले भनिन् ‘आवश्यकताअनुसार सामान थप गर्दा पटकपटक ऋण थप्छु।’ टोल मै खोलिएको सहकारीले म जस्तो आफै केही गरौं भन्ने अभियान बोकेका युवालाई सहज बनाएको छ।

द्वन्द्वपीडित एकमाया बिकलाई सहकारीले गाउँपालिका उपाध्यक्ष बनाएको छ। २०५७ सालमा चैत २४ गते प्रहरी र माओवादी भिडन्तमा उनका श्रीमान्को मृत्यु भयो। प्रहरीमा जागिरे श्रीमान्को भिडन्तमा मृत्यु भएपछि सहकारी थोरै रकम बचत गर्दै दुई छोरीलाई पढाइन्।

सहकारी साधारण बचतकर्ताका रूपमा प्रवेश गरेकी उनी मिलिजुली स्वलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्थाको तीन कार्यकालसम्म अध्यक्ष भएर नेतृत्व गरिन्। द्वन्द्वपीडित एकल महिलाको अध्यक्ष समेत भएकी बिक अहिले खजुरा गाउँपालिका उपाध्यक्ष भएकी छन्। श्रीमान्को भर बिना जीवन गुजारा गरिरहेकी बिकले धेरै दुःख बेहोर्नु परेको बताइन्। उनले भनिन्, ‘जनतालाई न्याय दिने ठाउँमा र्पुयाउन धेरै संघर्ष गर्नुर्पयो। उनले सहकारीले आफूलाई नेतृत्व विकास सहयोग गरेको बताइन्। ‘मलाई आज सहकारीले नै यहाँसम्म ल्याइर्पुयो’, उनले भनिन।

द्वन्द्वपीडित चन्दकला उप्रेतीका श्रीमान्को तत्कालीन शाही नेपाली सेनाले वेपत्ता र्पायो। उनले सहकारीमा पैसा उठाएर अहिले परिवार पालिरहेकी छन्। नेपालगन्ज –१ धम्बोजी रहेको पसलबाट हराएका चन्द्रकलाका श्रीमान् भूपेन्द्र उप्रेतीको अवस्था हालसम्म अज्ञात छ। २०६० मंसिर २३ गते सेनाले पक्राउ गरेर लगेपछि चन्द्रको जीवनमा धेरै समस्या आइपरे।

द्वन्द्वपीडित समाजका अध्यक्ष रहेकी उपे्रती अहिले समाजिक अभियन्ता भएकी छन्। द्वन्द्वपीडितका हकहितका सरक्षणका लागि आवाज उठाउछिन्। तर, उनको गुजाराको माध्यम भने सहकारी नै छ। उप्रेती ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थामा बचत कर्ता हुन्। ‘अधिकारका कुरा गरे पेट भरिँदैन, पेट भर्न काम गर्नै पर्छ, अहिले पनि सहकारीबाट पैसा उठाएर जीविका चलाइरहेकी छु। पीडित दिदीबहिनीको हकहितका लागि निरन्तर आवाज उठाइरनेछु’, उनले भनिन्।

दोलखा घर भई नेपालगन्जमा व्यवसाय सञ्चालन गरेका भूपेन्द्रलाई बेपत्ता पारेपछि चन्द्रकलाको बिचल्ली भयो। उनले धेरै दुःख बेहोर्नु र्पयो। तीन जना छोराछोरीलाई हुर्काउन उनलाई धेरै कठिन भयो तर धेरै दुःख सहनु परे पनि उनले हरेस खाइनन्। एउटा सहकारीमा पैसा उठाएर छोराछोरी पढाएकी छन्। जवानीमा नै श्रीमान् गुमाएका बिक र उप्रेती महिला भएकै कारण धेरै अपहेलित र अपमानित हुने परेको बताउँछन्। उनीहरूको नेतृत्व विकासमा सहकारीको ठूलो योगदान छ।

भक्तपुर जिल्ला सहकारी संघका उपाध्यक्ष केदार खड्काले सहकारी संस्थाले सहकारीको मर्म र भावना अनुरुप काम गर्न नसकेको बताए। सहकारीले उपभोक्ताको हितमा लागि काम गर्ने हो। तर, यहाँ यस्तो भएको छैन। उत्पादन जति बिचौलियाको हातका छ। सहकारीले उत्पादन गरेका वस्तुहरू सीधै उपभोक्तामा पुग्न सकेको छैन।

सानोसानो पुँजीबाट सञ्चालन भएका सहकारीबाट ठूला उद्योग व्यवसायमा सञ्चालन गर्दा घाटा हुन गएमा सरकारले त्यसको क्षतिपूर्ति दिनुपर्ने उनले बताए। अन्य देशमा जस्तो हाम्रो देशमा विशेषत सहकारी उत्पादनमूलक क्षेत्रमा जान सकिरहेका छैनन्’, उनले भने,‘सरकारले पनि यस्ता क्षेत्रमा लाग्न प्रवद्र्धन गरेको छैन। केही समय अघि नयाँ सरकारी ऐन आएको छ। यसले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरेको छ। हामी ऐनले मार्ग निर्देश गरेअनुसारका योजना बनाउन लागि परेका छौं’, उनले भने, ‘अब सहकारी सानातिना काममा मात्रै नअल्झिएर ठूला उत्पादनमूलक क्षेत्रमा समेत लागिपर्नेछ।’

लोहकिल्थली सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका उनले हाल नेपालमा साढे ३४ हजार सहकारीमध्ये १९ हजारभन्दा बढी बचत तथा ऋण सहकारी रहेको बताए। सहकारी विभागका अनुसार हाल नेपालमा कृषि वस्तुगत सहकारी, स्वास्थ्य सहकारी, विद्युत् सहकारी, जडीबुटी सरकारी, उपभोक्ता सहकारी, बहुउद्देश्यीय सहकारी सञ्चारलगायत सहकारी सञ्चालनमा छन्।

ती सहकारीमार्फत ७३ अर्ब १७ करोड ८७ लाख १५ हजार सेयर पुँजी लगानी भएको छ। सहकारीमार्फत तीन खर्ब दुई अर्ब १६ करोड ४५ लाख निक्षेप संकलन भएको छ। सहकारीका सदस्यलाई विभिन्न क्षेत्रमा लगानी गर्न दुई खर्ब ७३ अर्ब ७१ करोड चार लाख कर्जा प्रवाह भएको छ। देशमा सञ्चालित सहकारीमा २९ हजार ४२ महिला र ३१ हजार चार सय ७५ पुरुष गरी ६० हजार पाँच सय १७ जनाले रोजगारी पाएका छन्। ३२ लाख १३ हजार महिला र ३० लाख ९२ हजार गरी ६३ लाख पाँच हजार पाँच सय सदस्य रहेको विभागको तथ्यांक छ। ती सहकारीमा ९७ हजार पाँच सय १२ महिला र एक लाख ५० हजार तीन सय १५ पुरुष गरी दुई लाख ४७ हजार आठ सय २७ जना सञ्चालक छन्।

वैशाखसम्म सबै स्थानीय तहमा सहकारी हस्तान्तर भइसक्ने सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले बताए। अहिले २० जिल्लामा सहकारी हस्तान्तर भइरहेको छ’, उनले भने ‘चैतभित्र हामी आधाभन्दा बढी जिल्लामा हस्तान्तरण भइसक्छ।’ एउटा कार्य क्षेत्र भएका सहकारीलाई स्थानीय तहमा एकभन्दा बढी कार्य क्षेत्र भएका मझौला सहकारीलाई प्रदेश र ठूला सरकारी, सहकारी बैंकलगायत संस्था केन्द्रमा रहनेछन्। रेग्मीका अनुसार केन्द्रमा करिब दुई सय सहकारी रहनेछन् भने प्रत्येक प्रदेशमा एक हजार पाँच सयदेखि दुई हजारसम्म सहकारी जानेछन्।

‘सहकारी क्षेत्रमा प्रर्वद्धन तथा सुशासन कायम गर्नु सरकारको पहिलो दायित्व हो’, उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहको एकल दृष्टिकोण बनाएर आवश्यकताअनुसार नियमनमा विविधता ल्याएर कार्य सम्पादन गर्न लागि परेका छौं।’ क्षमता अभिवृद्धि गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेका उनले बताए। यसका लागि विभागले तालिम तथा प्रशिक्षणको आयोजना गर्दै आएको छ भने आगामी दिनमा पनि यस्ता तालिम आयोजना गर्दै लैजानेछ।

सहकारी नयाँ व्यवस्थाअनुसारका नियम तथा विनियम बन्दै छन्। त्यसपछि उत्पादनमूलक क्षेत्रमा पनि सहकारी जान सक्नेछन्। अघिल्ला केही वर्षमा वित्तीय क्षेत्रका सहकारीमा केही समस्या देखिए पनि अब यस्तो समस्या निराकरण हुँदै जाने उनले बताए। उत्पादन क्षेत्रमा प्रर्वद्धन कम भएकाले अब हामी राम्रो र प्रभावकारी नियमनबाट सरकारीको मर्म र भावना अनुरुप काम गर्न लागि पर्ने छौं।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले ६ दशकको अवधिमा सहकारीको जागरण अभियान सकिएको बताए। अब गुणस्तरीय र राष्ट्र निर्माणलाई योगदान दिने सेवा दिनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ’, उनले भने ‘अब सहकारीले कृषि, जलविद्युत्लगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्छन् र त्यसतर्फ सहकारी जानै पर्छ’, उनले भने।

आगामी पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा सहकारीको योगदान ६ प्रतिशत र वित्तीय क्षेत्रमा ३० प्रतिशत योगदान र्पुयाउने लक्ष्यसहित सहकारी संस्था अघि बढेका छन्। हाल सहकारीले वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान दिएको छ भने जीडीपीमा चार प्रतिशत योगदान रहेको छ। राष्ट्र संघले अघि सारेको दिगो विकासका १७ बुँदे लक्ष्य प्राप्तीका लागि अब सहकारीले अघि बढ्न लागेको छ।

ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार कुमार खत्रीले सहकारीमा व्यवस्थापकीय नेतृत्वको खाँचो भएको बताए । दक्ष जनशक्ति नहुँदा सहकारीले चाहेको जस्तो प्रगति गर्न सकेका छैनन्’, उनले भने, ‘नयाँ ऐन आएको छ, त्यसको कार्यान्वयनका लागि नियमावली आएको छैन।’ सम्पत्ति शुद्धीकरण सहकारीमा पनि लागू भएको छ । यसलाई कसरी कार्यान्वयनमा लैजाने त्यतिकै चुनौतीे छ। कर्जा प्रवाहदेखि असुलीसम्मका समस्याहरू छन् । सदस्यको डुब्लिकेसन भइरहेको छ। यसलाई कसरी समायोजन गर्ने आदि इत्यादि। ‘सहकारी धमाधम स्थानीय तहमा हस्तान्तरण भए पनि स्थानीय तहले सो सञ्चालका लागि ऐन बनाउन सकेको छैन’, उनले भने,‘कति कर तिर्नु पर्ने अहिलेसम्म अन्योलता छ’, उनले थपे।

देशभर सहकारी दिवस मनाइँदै
राष्ट्रिय सरकारी दिवस देशव्यापी रूपमा मनाउने तयारी गरिएको छ। र,याली विभिन्न झाँकी तथा जनचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने अभियानमा सहकारी संघ संस्था लागिपरेका छन्। यही अभियानस्वरुप भक्तपुर सहकारी समन्वय समितिले पनि मंगलबार बिहान भक्तपुर महानगरपालिकार्मा यालीको आयोजना गरेको छ भने चैत २३ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी जनचेतनामूलक तालिमको आयोजना गर्दैछ। सूर्य विनायक नगरपालिकाले पर्नि  याली आयोजना गरेको छ। काठमाडौं ललितपुर र भक्तपुरले पनि आ–आफ्नो सञ्जालमार्फत राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्दै ६१ औं सहकारी दिवस मनाउन गरिएको छ। ६ दशकको इतिहास बोकेको सहकारीले मानिसहरूलाई बचत गर्न हौस्याएको मात्र छैन, सानातिना व्यापार व्यवसायदेखि ठूला हस्पिटलदेखि विद्यालय, कलेज, साना तथा मझौला उद्योग पनि सञ्चालन भइरहेका छन्। सहकारीको भावना र मर्म बमोजिम काम गर्न नसक्दा पनि उद्देश्य अनुरुप काम गर्न नसक्दा सहकारी संस्था विभिन्न सयममा विवादित हुन पुगेका छन्। समाजमा जकडिएका यस्ता विकृति हटाउँदै नयाँ सोच र योजनाका साथअघि बढ्न विभागले विभिन्न कार्यक्रम गर्न लागेको रजिस्ट्रार रेग्मीले बताए। ‘सँधै समस्या छ भनेर हुँदैन ऐनले पनि धेरै कुरालाई मार्ग निर्देशन गरेको छ’, उनले भने,‘अबको सहकारी हाम्रो समृद्धि प्राप्तिका लागि हुनेछ।’

ध्यान उत्पादन क्षेत्रमा
सुरेन्द्र भण्डारी

प्रमुख कार्यकारी निर्देशक, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको छ। संस्थाले कृषिलगायत विभिन्न क्षेत्रमा लगानी बढाएको छ। संस्थाले कृषि, स्वास्थ्यलगायत क्षेत्रमा लगानीमा विशेष प्राथमिकता दिएको छ। संस्थाको मुख्य लगानीमा लालीगुराँस हस्पिटल प्रालि सञ्चालनमा ल्याएका छौं। यसमा प्रत्येक महिनाको एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था गरेको छ। संस्थाले बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ काठमाडौं, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रालि, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर लि, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेस्टमेन्ट ट्रेडिङ कम्पनीलगायत अन्य विभिन्न संघसंस्था र कम्पनीमा लगानी गरेको संस्थाले जनाएको छ। संस्थाले स्थापना दिवसको अवसरमा सेयर सदस्यको हित अनुकूल विभिन्न कार्यक्रमम सञ्चालन योजना बनाएको छ।

पुल्चोकस्थित केन्द्रीय कार्यालय रहेको यो सहकारीले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा तीनवटा सदस्य सुविधा काउन्टर सञ्चालन गरी सदस्यलाई सेवा दिइहेको छ। २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई सञ्चालन भएको थियो। यो सहकारीले चालू आवको पुस मसान्तसम्ममा १० करोड नाफा कामएको छ। जम्मा कारोबार ६ अर्ब रुपैयाँ छ। यसले चार अर्ब १० करोड निक्षेप संकलन गरेर तीन अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। देशकै अग्रणी सहकारी संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल लालीगुराँससँग ५४ करोड रुपैयाँको सेयर पुँजी छ। यसका सदस्य संख्या २० हजार छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]