March 30th, 2018

वित्तीय संस्थाद्वारा नियामक निकायलाई अटेर

कर्जा लगानीको मामलामा बैंकहरू नियामक निकाय राष्ट्र बैंकको निर्देशनलाई समेत मान्न छाडेका छन् । पछिल्लो समय बजारमा लगानीयोग्य पुँजी (तरलता) को चरम अभाव भएको भए पनि बैंकहरूको लगानी भने घटेको छैन । बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढाएका छन् ।

पछिल्लो एक सातामा बैंकहरूको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ । यस अवधिमा बैंकहरूको निक्षेप १ अर्ब रुपैयाँ मात्रै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पहिले नै सम्झौता भइसकेको कर्जा मात्रै प्रवाह गरेको बैंकर्स संघले जनाएको छ । बैंकर्स संघका सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘पहिले सम्झौता गरेको ऋण दिँदा बढेको देखिएको हो ।’

दुई वर्षयता विभन्न हाइड्रोपावर कम्पनी, होटल तथा रेस्टुरेन्टलगायतसँग गरेको सम्झौताअनुसार वितरण गर्दा कर्जा प्रवाह बढेको देखिएको शेरचनको भनाइ छ । यस अवधिमा बैंकहरूको कर्जा प्रवाह निक्षेप संकलनभन्दा चार गुणाले बढेको देखिएको छ ।

चालू आर्थिक वर्षको सात महिनामा निक्षेप ६ दशमलव ८ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १३ दशमलव ५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६१ दशमलव ५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

त्यसैगरी, चैत महिनाको पहिलो सातासम्म वाणिज्य बैंकहरूले २२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १९ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि एक साताअघि २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

तरलता अभावका कारण दुई/तीन महिनाअघिदेखि बैंकहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन् । पहिले नै प्रतिबद्धता गरेको कर्जा भने बैंकहरूले दिइरहेका छन् । संघका सदस्य शेरचनले भने, ‘ऋण लगानी अलि स्लो भएको छ ।’

दिनैपर्ने खालको कर्जाबाहेक नयाँ कर्जा विस्तार हुन नसकेको उनको भनाइ छ । सरकारले खर्च वृद्धि गर्न सके मात्रै वैशाखसम्म तरलताको समस्या हट्न सक्ने शेरचनको भनाइ छ । विगतका वर्षहरूमा झैं सरकारले पुँजीगत खर्च गर्न सकेन भने तरलताको समस्या जस्ताको त्यस्तै रहने उनले बताए । राजधानी दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]