March 30th, 2018

लघुवित्तमा भाका नाघेको कर्जा सवा अर्ब पुग्यो

कृष्ण रिजाल । लघुवित्त कम्पनीहरूबाट प्रवाह भएर भाका नाघेको कर्जाको आकार सवा अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा लघुवित्त कम्पनीहरूको भाखा नाघेको कर्जा १ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ५५ करोड ३० लाख रुपैयाँले बढी हो ।

लघुवित्तको समग्र कर्जा असुली अवस्था राम्रै भए पनि केहीमा भने समस्या देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका प्रमुख जनकबहादुर अघिकारीले बताए । ‘करिब १ प्रतिशतजति खराब कर्जा देखिएको छ,’ उनले भने, ‘त्यस्तो कर्जालाई घटाउँदै लैजान राष्ट्र बैंकले निर्देशन दिँदै आएको छ ।’

हालसम्म लघुवित्तबाट प्रवाह भएका मध्ये उठ्न बाँकी कर्जा १ खर्ब २१ अर्ब ७२ लाख रुपैयाँ छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ अर्ब ८९ करोड रुपैयाँले बढी हो । त्यसमध्ये १ अर्ब ३० करोड रुपैयाँ कर्जाको भने भाका नाघेको हो । राष्ट्र बैंकका अनुसार ५९ हजार ५ सय ६३ ऋणीको भाका नाघेको छ ।

खराब कर्जा घटाउँदै लान्छौँ : लघुवित्त बैंकर्स
लघुवित्त संस्थाको वर्ष्दिनमै भाका नाघेको रकम झन्डै दोब्बरले बढ्नु चिन्ताजनक विषय भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले बताए । ‘लघुवित्तको कर्जामा धितो हुँदैन, एउटा सिद्धान्त र विश्वासका आधारमा कर्जा प्रवाह हुन्छ,’ उनले भने, ‘यस्तो कर्जा प्रवाहको भाका नाघेकोप्रति हामी लघुवित्त बैंकर्स चिन्तित छौँ ।’ यस्तो भाका नाघेको कर्जा असुल गर्दै आकार घटाउँदै लैजाने उनले बताए ।

हालसम्म ५ खर्ब ९९ अर्ब कर्जा प्रवाह
हाल नेपालमा करिब ६५ वटा लघुवित्त संस्था छन् । अघिल्लो वर्षसम्म ४८ वटा लघुवित्त संस्था सञ्चालनमा थिए । लघुवित्तको संख्यासँगै उनीहरूले प्रवाह गर्ने कर्जा, बचत संकलन, सदस्य तथा समूहसमेत बढेका छन् । समीक्षा मितिसम्म यी संस्थाले कुल ५ खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा १ खर्ब ६६ अर्ब ४० करोड रुपैयाँले बढी हो । आव ०७३।७४ को पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरूले ४ खर्ब ३३ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बचत ४० अर्ब ९ करोड
राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरूले गत पुस मसान्तसम्ममा ४० अर्ब ९ करोड ६४ लाख रुपैयाँ बचत संकलन गरेका छन्, जुन अघिल्लो वर्षको सोही मितिसम्मको भन्दा १२ अर्ब ३५ करोड ८१ लाख रुपैयाँले बढी हो । आव ०७३।७४ को पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरूले २७ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बचत संकलन गरेका थिए । नयाँ पत्रिकामा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]