March 30th, 2018

पोखरामा वाणिज्य बैंकलाई उछिन्दै विकास बैंकहरु

रुपा कोइराला/बैंकिङ खबर । नेपालका ठूला सहरहरुमध्येको एक पोखरा लेखनाथ महानगरपालिकामा वाणिज्य बैंकभन्दा विकास बैंकको उपस्थिती बाक्लो पाइएको छ । २८ वटै वाणिज्य बैंकको केन्द्रीय कार्यालय राजधानीमा रहेको अवस्थामा केही विकास बैंकले पोखरामा नै केन्द्रीय कार्यालय राखेर सेवा दिइरहेका छन् । यहाँका ग्रामीण भेगहरुमा प्रायः विकास बैंककै सेवा पुगिरहेको छ । 

विकास बैंकका शाखा
पोखरा लेखनाथ महानगरपालिकाभित्र विकास बैंकका मात्रै ७१ वटा शाखा रहेका छन् । देवः विकास बैंकबाहेक राष्ट्रिय स्तरका सबै विकास बैंकहरुले पोखरामा शाखा संचालन गरिरहेका छन् । पोखरामा ज्योति विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एक÷एक वटा शाखा छन् भने गरिमा विकास बैंकको छ वटा, कैलाश विकास बैंकको १२ वटा, कामना सेवा विकास बैंकको नौ वटा, महालक्ष्मी विकास बैंकको दुई वटा, मुक्तिनाथ विकास बैंकको चार वटा, सांग्रिला डेभलपमेन्ट बैंकको सात वटा र लुम्बिनी विकास बैंकको आठ वटा शाखा संचालन भइरहेका छन् ।                      

दुई विकास बैंकको केन्द्रीय कार्यालय पोखरामा
गण्डकी विकास बैंक र ओम डेभलपमेन्ट बैंकको त केन्द्रीय कार्यालय नै पोखराको चिप्लेढुंगामा रहेको छ । यसबाहेक, पोखरामा गण्डकीका गगनगौँडा, तालचोक, लेखनाथ, लेकसाइड शाखा, विरौटा शाखा, अमरसिंह शाखा, बगर शाखा, न्युरोड शाखा, लेखनाथ शाखा र चौठे शाखा गरी १० शाखा संचालनमा रहेका छन् भने ओमका पनि मुख्य शाखा न्युरोडसहित बगर, सिसुवा, लेखनाथ, अमरसिंह, लामाचौर चोक, रामबजार, भैरवटोले, लेकसाइड र विरोटौमा गरी १० वटा शाखा संचालनमा छन् ।   

तीन जिल्ले विकास बैंक पनि
पोखरामा राष्ट्रिय स्तरका मात्रै नभएर तीन जिल्ले विकास बैंकले पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  हाल पोखरामा ग्राीन डेभलपमेन्ट बैंकले शाखा संचालन गरिरहेको छ । ग्रीनको शाखा पोखराको सभागृह चोकमा रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक तीन जिल्ले विकास बैंक हो । 

वाणिज्य बैंकका शाखा कम
पोखरामा विकास बैंकको तुलनामा वाणिज्य बैंकको उपस्थिती कम रहेको छ । जम्मा १३ वटा विकास बैंकको ७१ वटा शाखा पोखरामा हुँदा २८ वटा वाणिज्य बैंकका ७७ वटा शाखा कार्यालय मात्रै पोखरामा रहेका छन् । पोखरामा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालयबाहेक चार शाखा छन् भने कृषि विकास बैंकका दुई शाखा र नेपाल बैंकका चार शाखा संचालनमा छन् । 

नविल बैंकका पाँच वटा, स्टान्डर्ड चार्टर्ड बैंकका तीन वटा, नेपाल इन्भेष्टमेन्ट बैंकका दुई वटा तथा नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक र कुमारी बैंकका तीन÷तीन वटा शाखा पोखरामा छन् । बैंक अफ काठमाण्डूको भने एउटा शाखा मात्रै पोखरामा छ । त्यस्तै, माछापूच्छ्रे बैंकका पाँच वटा, सानिमा बैंकको चार वटा, ग्लोबल आईएमई बैंकका तीन वटा, प्रभु बैंकका तीन वटा, सिद्धार्थ बैंकका छ वटा, एभरेष्ट बैंकका तीन वटा, हिमालयन बैंकका दुई वटा, एनसीसी बैंकको पाँच वटा, एनआईसी एशिया बैंकका तीन वटा, सिटिजन्स बैंकको दुई वटा, जनता बैंकको तीन वटा, मेगा बैंकका दुई वटा र सिभिल बैंकका दुई वटा शाखा पोखरामा संचालन भइरहेका छन् । प्राइम कमर्सियल बैंक, सेञ्चुरी बैंक, सनराइज बैंक र एनएमबि बैंकले एक÷एक वटा शाखामार्फत पोखराका ग्राहकलाई बैंकिङ सेवा दिइरहेका छन् । (सम्बन्धित बैंकको वेभसाइटमा उपलब्ध विवरणको आधारमा तयार पारिएको)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]