March 22nd, 2018

‘बीमा अवार्नेश बढाउनु पर्छ’

नेपालमा बीमाको इतिहास झण्डै ७ दशकको छ । नेपाल बैंक लिमिटेडको आफ्नो आन्तरिक सम्पत्तिको सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बीमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा वि.सं. २००४ मा स्थापना भएको बीमा कम्पनीले बीमाको इतिहास रचेको थियो । त्यति बेला दुई दर्जन उद्योग स्थापना भएका थिए । यत्ति लामो समय बितिसक्दा पनि निकै कम जनताको पहुँचमा मात्रै बीमाको विस्तार भएको छ । औपचारिक तथ्यांक नभएपनि बढीमा १० प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरु बताउँछन् । दक्षिणी छिमेकी मुलुक भारत र नेपालमा बीमाको शुरुवात करिब एकै समयमा भएपनि त्यहाँ अहिले बीमा व्यवसाय निकै विस्तार भएको छ । तर नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । चालु आर्थिक वर्षमा ९ नयाँ जीवन बीमा कम्पनी थपिएका छन् । यसले बीमाको पहुँच विस्तारमा थप सहयोग पुग्ने विस्वास गरिएको छ । यसैसन्दर्भमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिन्छ :

रिलायन्स लाईफ इन्स्योरेन्सको बारेमा बताइदिनोस न !
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी सिद्धार्थ बैंकबाट प्रवद्र्धित संस्था हो । रिलायन्समा व्यवसायीक घरना व्यक्ति तथा संघसंस्थाको समेत लगानी रहेको छ । बीमाको पहुँचमा अत्यन्तै कम नागरिक भएको अवस्थामा बीमाको पहुँच विस्तारको योजना सहित स्थापना भएको एउटा संस्था रिलायन्स लाईफ इन्स्योरेन्स हो । यसको चुक्ता पूँजी अहिले १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । हामी अहिले आईपीओ जारी गर्ने तयारीमा छौं । आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

शाखा विस्तारको योजना के छ ?
हामीले भर्खरै मात्र एउटा शाखा कार्यालय सञ्चालनमा ल्याएका छौं । योसँगै हामीले १६ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आएका छौं । बीमाको दायरा बढाउनका लागि मुलुकको विभिन्न ठाउँमा पुग्नु पर्ने हुन्छ । यस कुरालाई मध्यनजर गर्दै हामीले देशका विभिन्न ठाउँहरुमा शाखा खोल्ने योजना बनाएका छौं । हामीले चालु आर्थिक वर्षको असार मसान्त सम्ममा ४० वटा शाखा कार्यालयहरु थप गर्दैछौ ।

बीमा योजनाहरु के–कस्ता छन् ?
हाम्रा विशेष गरेर २,३ वटा बीमा पोलीसीहरु छन् । यसका अतिरिक्त अन्य थुप्रै बीमा पोलीसीहरु छन् जुन नेपाली बीमा बजारमा अत्यन्तै काम लाग्नेछन् ।

बीमामा अझै नागरिकको पर्याप्त आकर्षण देखिएको छैन्, यसको कारणहरु के–के हुन सक्छन् ?
बीमामा नागरिकको पर्याप्त आकर्षण नदेखिनुको प्रमुख कारण भनेको बीमाको महत्वबारे नबुझ्नु हो । अझै धेरै नागरिकले बीमाको आवश्यकता महशुस गर्न सकेका छ्रैनन् । जसका कारण बीमामा नागरिकको पहुँच अत्यन्तै न्युन छ । बीमाबारे नबुझेर र आवश्यकता महशुस नगरेर बीमाप्रति नागरिककले चासो नदिएका हुन् । बीमाको आवश्यकता महशुस गर्नका लागि बीमाबारे बुझेको हुनुपर्छ । बीमाबारे नबुझेपछि कसरी नागरिकले बीमाको आवश्यकता महशुस गर्छन ?

भनेपछि बीमामा आकर्षण नबढ्नुको कारण बीमा शिक्षाको अभावलाई लिन सकिन्छ होइन त ?
एकदमै हो । मुलुकमा बीमा चेतनाको अत्यत्नै आवश्यकता छ । बीमा साक्षरता नभएकै कारण यसमा जति चाहिने त्यो मात्रामा आकर्षण देखिएको छैन । बीमामा नागरिकको पहुँच बढाउनका लागि बीमा शिक्षाको आवश्यकता छ । बीमा शिक्षा नागरिकमा पु¥याउन सके बीमामा नागरिकको पहुँच बढ्छ ।

अधिकांश नागरिक बीमाको दायरामा नआउनुमा कमजोरी कसको देख्नु हुन्छ ?
मैले अघिपनि भनिसके नागरिकहरु बीमाको पहुँचमा नआउनुको कारण भनेको बीमा शिक्षाको कमी नै हो । बीमा शिक्षा बारे बुझाउन नसक्नु कुनै एक क्षेत्रको मात्रै कमजोरी भन्न मिल्दैन । बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिको यसमा कमजोरी देखिन्छ । अर्को तर्फ हामी बीमा कम्पनीहरु आफैको समेत कमजोरी छ भने मिडियाहरुको पनि केहि कमजोरी छ । बीमा समिति तथा बीमा कम्पनीहरुले बीमाको बारेमा पर्याप्त चेतना फैलाउन नसकेकै हो । अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । सिधै कार्यालयमा आएर बीमा गर्ने नागरिकको संख्या एकदमै कम छ । यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एजेण्टहरुले राम्रोसँग बुझेको भए राम्रैसँग नागरिकलाई पनि बुझाउलान । अब एजेन्टहरुले आफै राम्रोसँग नबुझेको अवस्थामा कसरी बुझाउन सक्छन् ! बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधा बारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । बीमा कम्पनीको शाखाकै कुरा गर्ने हो भने पनि त्यहाँ सिधै बीमा गर्न आउदैनन् । बीमा अभिकर्ताले बीमा बारे बुझाउन सके यसमा आकर्षण बढ्छ । यसका साथै सबै मिलेर बीमा शिक्षा बुझाउनु पर्छ ।

नागरिकका लागि जीवन बीमाको आवश्यकता किन पर्दछ, जीबन बीमा गर्दा के फाइदा हुन्छ ?
वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र रिक्स पनि बोकिदिन्छ । एकदमै छोटो रुपमा भन्नु पर्दा भविष्यको सुरक्षाका लागि बीमाको आवश्यकता पर्दछ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन सक्नु हुन्छ ।
बीमाको फाइदाहरु धेरै छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा ग¥यो भने भोली उ कतै दुर्घटना पर्न सक्छ । हो त्यतिबेला उसलाई उपचार खर्चको अभाव हुन पाउदैन । त्यो रिक्स बीमा कम्पनीले बोकेको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन । बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । अर्को कुरा आज एउटा सानो बच्चाको बीमा गर्ने हो भने पछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । आज गरेको बच्चाको बीमाले भविष्यमा कसरी पढाउने भन्ने कुराको तनाब अविभावकलाई पर्दैन । बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ र कम्पनीले रिक्स पनि बोक्छ । यसर्थ बीमा गर्नु पर्छ ।

सुरक्षा र बचत दुबैको हिसाबले बीमा आवश्यक छ भन्नुभयो, बैंक भन्दा पनि बढि बीमालाई महत्वपूर्ण मान्न सकिन्छ ?
बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा बम्पनीहरुले बचत तथा कर्जाका अलवा रिक्स पनि बोकेको हुन्छ । भविष्यको सुरक्षाका लागी बीमा महत्वपूर्ण छ ।

बीमा दावी भुक्तानीमा एकदमै ढिलाई हुन्छ भनिन्छ, बीमा गर्ने व्यक्तिको मृत्यु भएको केशमा रिलायन्सले कति समयमा बीमा दावी भुक्तानी दिन्छ ?
बीमा दाबी भुक्तानी दिन विभिन्न प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ । दावी भुक्तानीमा प्रक्रिया पुरा गर्न केहि समय लाग्ला त्यसलाई ढिला भएको भन्न मिल्दैन । बीमा गर्ने मान्छेलाई बीमा गर्ने समयमा भुक्तानी कसरी लिने भन्ने विषयमा वास्ता हुँदैन । पछि दावी भुक्तानी कसरी लिने ? के–के प्रक्रिया पुरा गर्नु पर्छ भन्ने कुरा पहिले बीमा गर्ने मान्छेले बुझ्न चाहदंैन । पछि जे नहुनु भईसके पछि बीमा दावी भुक्तानी लिने बेलामा चाडो चाहिन्छ । त्यसबेला बीमा कम्पनीले प्रक्रिया नपुर्यार्ई भुक्तानी दिने कुरा भएन । तर प्रक्रिया पुरा गरेपछि ढिलाई गर्ने भन्ने हुँदैन । यति नै दिनमा भनेर भन्न चाहि म सक्दिन तर प्रक्रिया पुरा भए लगत्तै कम्पनीले भुक्तानी दिन्छ ।

बीमा कम्पनीको संख्या थपिएको छ, यसले बजारमा कस्तो प्रभाव पार्छ ?
बीमाको पहुँचमा अत्यन्तै कम मात्रै नागरिक भएको अवस्थामा बीमा कम्पनी थपिएका छन् । यसले बीमाको पहुँच विस्तारमा राम्रै काम गर्नेछ । अब बीमा कम्पनीहरु थपिए पछि के समस्या आउछ भन्ने चाहिँ सोच्नु हुँदैन । बीमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुनु नराम्रो कुरा होइन । प्रतिष्पर्धाले अझ बलियो बनाउछ ।
अर्को कुरा बीमा कम्पनीहरुमा परिपक्क कर्मचारीहरु चाहिँन्छ । अपरिपक्क र फ्रेस कर्मचारीहरु वर्तमानका लागि अलि कमजोर हुन सक्छन् । परिपक्क कर्मचारीहरु भए काम गर्न सहज हुन्छ । नयाँ मान्छेहरु भन्दा पुराना मान्छेहरुले नेतृत्व गर्दा राम्रो हुन्छ । यद्यपि, पछि गएर त नयाँ कर्मचारी पनि अनुभवी भइहाल्छन, मैले भन्न खोजेको समस्या चाहि सर्टटमका लागि मात्रै हो ।

बीमा कम्पनीहरुको पछिल्लो वित्तीय प्रगति हेर्दा, म्यादी बीमामार्फत ठूलो बीमा शुल्क आर्जन गरेको देखियो यसले भविष्यमा वैदेशिक रोजगार बन्द भयो भने बीमा कम्पनीहरुलाई समस्या हुने देखियो नि होइन ?
पछिल्लो ६ महिनाको वित्तीय विवरण हेर्दा बीमा कम्पनीहरुले म्यादी बीमा मार्फत राम्रै शुल्क आर्जन गरेका छन् । तर आम्दानी मात्रै हेरेर पनि हुँदैन । बीमा शुल्कसँगै कम्पनीहरुले रिक्स पनि धेरै हुन्छन् । बीमा कम्पनीहरुले जति बीमा शुल्क आर्जन त्यसको रिक्स पनि बोकेका छन् । भोली बिमितले दावी भुक्तानी गरेको अवस्थामा भुक्तानी दिनु पर्छ ।
अर्को कुरा म्यादी बीमासँगै अन्य बीमा पोलिसी मार्फत पनि थुप्रै बीमा शुल्क आर्जन भएको छ । भोली वैदेशिक रोजगार बन्द भयो भने बीमा कम्पनीहरु धरायसी हुन्छन भन्ने चाहिँ हुँद्यैन । त्यसको केहि न केहि विकल्प निस्कन्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]