fbpx
Tuesday , September 18 2018

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (माघसम्मको तथ्यांक) 

March 18, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को सात महिनाको तथ्याङ्कमा आधारित रहेर उक्त विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिती जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छः 
आर्थिक परिदृश्य 
१. आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित रहने देखाएका छन् । तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा डुवानका कारण वर्षे धानको उत्पादनमा असर गर्यो । हिउँदे वर्षा पर्याप्त हुने सकेन । तसर्थ, कृषि क्षेत्रको उत्पादन वृद्धि अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान छ । 
२. गैर कृषि तर्फ, उर्जा, निर्माण तथा पुनरनिर्माण एवम्पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने देखिन्छ । केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने देखिन्छ । त्यसैगरी, नेपालमा आउने पर्यटकको संख्या तथा होटलमा भएको लगानी वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने देखिन्छ । सिमेन्ट तथा जलविद्युत उत्पादनका आयोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ । उल्लिखित कारणका अतिरिक्त, तीनै तहको निर्वाचन सम्पन्न भई सरकार समेत गठन भइसकेकाले निजी क्षेत्रको लगानीको लागि सहज वातावरण सृजना भएको छ । यी विकासक्रमकहरुको परिणामस्वरुप २०७४ परिणामस्वरुप २०७४/७५ मा सन्तोषप्रद आर्थिक वृद्धिको परिदृष्य रहने देखिन्छ । 
३. २०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्राफीति दर अघिल्लो वर्षको ३.३ प्रतिशतबाट वृद्धि भई ५.० प्रतिशत पुगेको छ । हालैका महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दरमा बढ्ने प्रवृत्ति देखिए तापनि यस वर्षको औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा न्यून नै रहने अनुमान छ । 
४. वित्तीय अवस्था केही कसिलो रहिरहेको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलोभएको हो । आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुँदै जाने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

५. २०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३ प्रतिशत रहेकोमा २०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो । 

खाद्य मुद्रास्फीति 
६. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएकोकारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५.६ प्रतिशत, हिमालमा ५.४ प्रतिशत, पहाडमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा ३ प्रतिशत, हिमालमा ३.२ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.१ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
९. २०७४ माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत र भारतको ४.४ प्रतिशत रहेकाले यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ३.३ प्रतिशत र ३.७ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.१ प्रतिशतले ऋणात्मक रहेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.६ प्रतिशतले वृद्धि भएको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.८ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत निजी प्रतिष्ठान, शिक्षा र बैंक तथा वित्तीय संस्था उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः ३६.३ प्रतिशत, ५.८ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः ५.६ प्रतिशत, ६.६ प्रतिशत र ४.९ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१२. आर्थिक बर्ष २०७४/७५ को सात महिनासम्ममा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई रु. ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरूको निर्यात घटेको छ । 
१३. समीक्षा अवधिमा कुल वस्तु आयात १८.९ प्रतिशतले बढेर रु. ६६१ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, जिङ्क ईनगोट लगायतका वस्तुहरूको आयात घटेको छ । 
१४. भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएकोनिर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१५. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढी रु. ६१३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ६६.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.६ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१६. आर्थिक वर्ष २०७४/७५ को सात महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.२ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा १.९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ३.१ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ४.७ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१७. समीक्षा अवधिमा कुल सेवा आयमा ९.६ प्रतिशत र कुल सेवा खर्च १९.२ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. २ अर्ब ८२ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ४ अर्ब ५९ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २६.५ प्रतिशतले वृद्धि भई रु. ३७ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय ३०.१ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१८. समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई रु. ४०१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३.० प्रतिशतले कमी आई रु. ४६० अर्ब ८५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.३ प्रतिशतले बढेको थियो । 
१९. श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२०. अघिल्लो वर्षको सात महिनामा रु. १० अर्ब ६६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. १४१ अर्ब ६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो । त्यसैगरी, अघिल्लो वर्षको सात महिनामा रु. ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १८ अर्ब २८ करोडले घाटामा रहेकोछ । 
२१. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ९ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ७ अर्ब ६० करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२२. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ माघ मसान्तमा २.८ प्रतिशतले कमी आई रु. १०४९ अर्ब २० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ माघ मसान्तमा १ प्रतिशतले वृद्धि भई रु. ९३६ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई रु. ११२ अर्ब ९९ करोड पुगेको छ । २०७४ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.४ प्रतिशत, ८१.९ प्रतिशत र ३७.६ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 
२४. कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ माघ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५५.२० रहेकोमा २०७४ माघ मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६२.२० कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ माघ मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२२८.३० रहेकोमा २०७४ माघ मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३२२.३० पुगेको छ । 

विनिमय दर 
२५. २०७४ असार मसान्तको तुलनामा २०७४ माघ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.१ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.१ प्रतिशतले नै अधिमूल्यन भएको थियो । २०७४ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.७४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२६. आर्थिक वर्ष २०७४/७५ को सात महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. २६ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट रु. १७ अर्ब ९५ करोडले बचतमा रहेको थियो । 

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ४२८ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. ३१३ अर्ब ३० करोड रहेको थियो । 
२८. समीक्षा अवधिमा चालू खर्च रु. ३४९ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २३७ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च २८ प्रतिशतले बढेर रु. ६० अर्ब ८ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ४६ अर्ब ९४ करोड भएको थियो ।

सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १९.५ प्रतिशतले वृद्धि भई रु. ३८१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ६५ प्रतिशतले वृद्धि भई रु. ३१९ अर्ब १५ करोड पुगेको थियो । नेपाल सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ ।

सरकारको नगद मौज्दात
३०. अघिल्लो वर्षको सोही अवधिमा सरकारको नगद मौज्दात २०७४ माघ मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ८४ अर्ब ३५ करोड समेत) रु. ३०१ अर्ब ६४ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३१. आर्थिक वर्ष २०७४/७५ को सात महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. १८ अर्ब २८ करोड (१.८ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ३६ अर्ब ९५ करोड (३.९ प्रतिशत) ले बढेको थियो । 
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा सञ्चित मुद्रा ९.२ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा यस्तो कर्जा २०.५ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १५.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ माघ मसान्तमा १६.७ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.८ प्रतिशतले बढेको छ । 
३७. २०७४ माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३६.६ प्रतिशत र ४३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३८.७ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो । 
३८. २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४८.५ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १३.२ प्रतिशत, विकास बैंकहरूको १८.८ प्रतिशत र वित्त कम्पनीहरूको ४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.७ प्रतिशतले बढेको छ । 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६१.८ प्रतिशत (रु.३९ अर्ब ८६ करोड) ले वृद्धि भई रु. १०४ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.३ प्रतिशतले बढेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ८.४ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १०.७ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४३. आर्थिक वर्ष २०७४/७५ को सात महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी रु. १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्फत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्फत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो ।
४४. समीक्षा अवधिमा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् ५४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत् रु. ३६ अर्ब ३५ करोड गरी कुल रु. ९० अर्ब ४० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ४२ अर्ब ३८ करोड तरलता प्रवाह भएको थियो । 
४५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. २४ अर्ब ८ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ५४ अर्ब ८३ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 
४६. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ३१ करोड खुद खरिद गरी रु. २३८ अर्ब ३८ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ३३ करोड खुद खरिद गरी रु. २५१ अर्ब १२ करोड खुद तरलता प्रवाह गरेको थियो । 
४७. समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ७२ करोड र युरो ४ करोड बिक्री गरी रु. २८४ अर्ब ७९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ३६ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. २६५ अर्ब ५३ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४८. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ माघ मसान्तमा रु. ११ अर्ब ८४ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४९. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ माघ मसान्तसम्ममा रु. १ अर्ब २७ करोड ९१ लाख पुनरकर्जा उपयोगमा रहेको छ । 
५०. २०७४ माघ मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६२०३ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु. ६ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ भने रु. ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को सात महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ६९४ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. १४ अर्ब ३८ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ६९९ अर्ब २ करोड र रु. २३९ अर्ब ८८ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५२. २०७३ माघमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.६४ प्रतिशत रहेकोमा २०७४ माघमा ३.९३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ माघको ४.१३ प्रतिशतको तुलनामा २०७४ माघमा ४.३१ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ माघको ७.८० प्रतिशतको तुलनामा २०७४ माघमा १०.१९ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ माघ मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५४. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरूमध्ये २०७४ माघ मसान्तसम्म ३७४ स्थानीय तहहरूमा वाणिज्य बैंकहरूको उपस्थिति रहेको छ । 

पुँजी बजार 
५५. नेप्से सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा ६.५ प्रतिशतले वृद्धि भई २०७४ माघ मसान्तमा १३८०.३ बिन्दुमा पुगेको छ । २०७३ माघ मसान्तमा उक्त सूचकाङ्क २.६ प्रतिशतले वृद्धि भई १२९६.२ बिन्दुपुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ बिन्दु कायम भएको थियो । 
५६. धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १०.७ प्रतिशतले वृद्धि भई २०७४ माघ मसान्तमा रु. १,६१४ अर्ब १७ करोड कायम भएको छ । बजार पुँजीकरण अनुपात २०७३ माघ मसान्तमा ७.२ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पुँजीकरणको अनुपात ६२.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६४.९ प्रतिशत रहेको थियो । बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८१.१ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.७ प्रतिशत रहेको छ । 
५७. २०७४ माघमा कुल सेयर कारोबार रकम २६.४ प्रतिशतले कमी आई रु. ५ अर्ब ९२ करोड हुन पुगेको छ । यस्तो कारोबार रकम २०७३ माघमा १४.३ प्रतिशतले कमी आई रु. ८ अर्ब ४ करोड पुगेको थियो । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ माघ मसान्तमा १९२ रहेको छ । २०७३ माघ मसान्तमा यस्तो संख्या २१६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४५ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५९. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३५.५ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तमा रु. ३३३ अर्ब ७ करोड पुगेको छ । समीक्षा अवधिमा रु. १६ अर्ब ६२ करोड बराबरको साधारण सेयर, रु. २६ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर, रु. १० अर्ब ४३ करोड बराबरको बोनस सेयर र रु. ३५ अर्ब १४ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. ८९ अर्ब १२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.